१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देवघाटमा ३० फिट अग्लो शिवमूर्ति बन्ने

काठमाडौँ — चितवनस्थित देवघाटधाम अहिले धार्मिक पर्यटकको हब बन्दै गएको छ । मुलुकका विभिन्न भाग तथा भारतबाट समेत बर्सेनि हजारौंको संख्यामा पर्यटक देवघाट घुम्न आउने गर्छन् । माघे संक्रान्ति र साउन महिनाभर देवघाटमा पर्यटकको भीड लाग्छ । 

पर्यटकलाई आकर्षित गर्नकै लागि उक्त क्षेत्रमा ३० फिट अग्लो अष्टधातुको शिवमूर्ति निर्माण गरिने भएको छ । निर्माणमा आर्थिक सहयोग जुटाउन देवघाट संरक्षण प्रतिष्ठान (चितवनले पशुपति महोत्सव तथा अष्टधातु संकलन श्रीमद्भागवत विराट ज्ञान महायज्ञ’ गर्न लागेको छ । पशुपति क्षेत्रमा वैशाख १ गते सुरु भएको महायज्ञ ११ सम्म हुनेछ ।


मूर्ति बनाउन आर्थिक र अष्टधातु अभाव भएकाले महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ । उक्त महायज्ञमा घरमा थन्किएर रहेका पुराना धातु पनि संकलन गरिनेछ । ३० फिट अग्लो अष्टधातुको मूर्ति सबैका लागि नौलो बन्नेछ । पर्यटकको केन्द्रविन्दु बन्नेछ ।

अष्टधातुबाट बन्ने यस प्रकारको मूर्ति अन्यत्र कहीँ नभएको आयोजकको दाबी छ । जमिनमुनि पूजा कोठा र धार्मिक संग्रहालय, पार्क, यात्रु विश्रामस्थललगायत संरचना निर्माण गरिनेछ । नारायणी नदीको किनारमा पैदलमार्ग, शिव पार्क, ११ वटा गौमुखी धारा र स्नानगृहको निर्माण गरिनेछ ।


सौराहा, कसरा, मेघौली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन यसले सहयोग पुर्‍याउने विश्वास आयोजकको छ । देवघाटधाम संरक्षण प्रतिष्ठानले पर्यटन बोर्डमा काठमाडौं, चितवनलगायत क्षेत्रका पर्यटन व्यवसायीहरूसँग छलफल गरेको थियो । प्रतिष्ठानका संयोजक केशव पाण्डेका अनुसार महायज्ञबाट ३ करोड रुपैयाँ संकलन गर्ने अपेक्षा गरिएको छ । ‘धार्मिक आस्थाको केन्द्र देवघाटमा अष्टधातुको मूर्ति बनाएपछि पर्यटकीय गन्तव्य बन्नेछ,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको

भीड यो क्षेत्रमा लाग्ने अपेक्षा गरेका छौं ।’


यो अभियान ३ वर्ष अघि सुरु भएको हो । अहिलेसम्म ७० क्विन्टल धातु जम्मा भएको छ । करिब ८ करोड खर्च लाग्ने अनुमान गरिएकामा अहिलेसम्म ३२ लाख संकलन र सरकारबाट ५० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव मदन मिश्रले बताए । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, आध्यात्मिक, पौराणिक दृष्टिले महत्त्वपूर्ण देवघाटधाम समुद्र सतहदेखि २ सय ५० मिटर उचाइमा छ ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?