२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चैते रोपाइँको चटारो

अनिश तिवारी

सिन्धुपाल्चोक — नयाँ वर्षको रमाइलोले जिल्लालाई छपक्कै छोपिरहँदा जिल्लाका केही स्थानका कृषकलाई भने चैते रोपाइँको चटारो छ । 
 आलु, गहुँ भित्र्याइसकेका इन्द्रावती करिडोर क्षेत्रदेखि मेलम्ची, हेलम्बुका अधिकांश कृषकलाई चैते धानको रोपाइँको हतारोले भ्याइनभ्याइ छ ।

चैते रोपाइँको चटारो

‘चैतेधान हाम्रो समुदायमा विशेष मानिन्छ, त्यसैले पनि सबै माझी परिवार एक भएर चैते रोपाइँमा लागेका छन्,’ इन्द्रावती–११ विस्देउटारकी रत्नु माझीले भनिन् । माझी समुदायको एक मात्र आम्दानी कृषि र खेती पर्याप्त नहुँदा इन्द्रावतीको बगरमा उब्जनी लगाउने गरेको उनले सुनाइन् ।


‘सकेसम्मको हरेक बाली लगाउँछौं, चैते, बर्खे धान दुवै रोप्छौं,’ उनले भनिन् । जिल्लाको भौगोलिक बनावटमा तराईको रूपमा चिनिने इन्द्रावती क्षेत्र माझीको चैत धान रोपाइँले चिटिक्क सजिसकेको छ । ‘सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौं, यो बेला हाम्रा लागि व्यस्त समय हो,’ भीमटारका सुमन दनुवारले फाँट देखाउँदै भने । यहाँ पानीको स्रोत समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको दनुवारको भनाइ छ ।


चौतारा साँगाचोकगढी नगरको झ्याडी टोल, इन्द्रावती गाउँपालिकाको बिस्देउटार, भीमटार हुँदै हेलम्बु, मेलम्ची भेगमा असार र चैतमा गरी धानको दुई बाली भित्र्याइने गरिंदै आएको छ । इन्द्रावती करिडोरबाहेक केही पहाडी भेग चैत धानका लागि उर्वर मानिएको तत्कालीन जिल्ला कृषि कार्यालयको कृषिसम्बन्धी अध्ययनले जनाएको छ ।


अघिल्लो ००७४/०७५ वर्षको तुलनामा यो वर्ष फागुन, चैतमा फाट्टफुट्ट वर्षा भइरहेकाले चैत रोपाइँ सहज र चाँडै भइरहेको स्थानीय तहका कृषि शाखाले बताएका छन् । ‘अघिल्लो वर्ष बेलैमा वर्षा नहुँदा यही समयमा ६० प्रतिशत मात्रै रोपाइँ भएको थियो, आहिले लगभग शतप्रतिशत चैते रोपाइँ भइसकेको पाइएको छ,’ इन्द्रावती कृषि करिडोरको अनुमगनमा पुगेका इन्द्रावती गाउँपालिकाका कृषि शाखाका प्रमुख अमर आचार्यले भने ।


जिल्ला कृषि कार्यालयको तथ्यांकअनुसार जिल्लामा ३ हजार दुई सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । भने, जिल्लामा धानबाली लगाइने फाँटमध्ये तीन हजार दुई सय ५९ हेक्टरमा चैतधान लगाइने गरिएको उनले बताए । ‘चैतेधान रोपिरहँदा वर्षा भएपछि कृषक झनै उत्साहित देखिन्छन्,’ उनले भने । आकाशेपानीको भर पर्नुपर्ने स्थानमा वर्षात वरदान बनेको उनले प्रस्ट्याए ।


अघिल्लो वर्षको तुलनामा आहिले समयमै धान बाली लगाएकाले चैतेधानको उत्पादन बढ्ने अनुमान गरिएको छ । जिल्लाको बलेफी गापाको जलविरे, जुगल गापाको बतासेदेखि मेलम्ची नपा र इन्द्रावती गापाको करिडोरमा धान उत्पादन उच्च हुने गरेको मानिन्छ ।


हालसम्म खुमलचार, मकवानपुरे १ देखि विभिन्न स्थानीय जातसम्मका धानबालीका बीउ जिल्लामा कृषकले लगाउने गरेका छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?