२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गर्मी छल्न गढी

चिसो मौसम खोज्दै आन्तरिक पर्यटक सिन्धुलीगढी पुग्ने गर्छन् । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरेको ऐतिहासिक क्षेत्र भएकाले त्यसको अवलोकन गर्नेहरू बढेका छन् ।
राजकुमार कार्की

सिन्धुली — सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहाल सदरमुकाम आवतजावत गर्दा गढी नजिकको सोलाभन्ज्याँङमा सधैंजसो केही समय बिताउने गरेकी छन् । सदरमुकाम र आफ्नो गाउँपालिकाको कार्यालय रहेको गढतिर क्षेत्रमा उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीको समयमा समेत हुने जाडोले आनन्द प्राप्त हुने उनले बताइन् ।

कामको चटारो त्यहीमाथि गर्मीले गर्दा धेरै नै थाकिएको हुन्छ, अध्यक्ष दीपाले भनिन्, ‘सोला आउना साथ बेग्लै आनन्द हुन्छ । फुर्सद छ भने गढी नै उक्लिएर आनन्द लिइन्छ, चटारो छ भने पनि एक, आधा घण्टा यहाँ बिताइन्छ ।’ सुनकोसीकी अध्यक्ष दीपा मात्र होइन्, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको पनि अनुभव उस्तै छ ।


‘तनाव र थकान मेटाउने थलो गढी क्षेत्र हो, उनले भने, ‘१२ महिना यहाँ हुस्सु लागेर जाडो भइरहन्छ, झन गर्मीमा स्वर्गीय आनन्द नै प्राप्त हुन्छ । ‘गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उनको भनाइ छ । गोलन्जोरकै वडा नं ५ रातनचुराले गढी क्षेत्रलाई छोएको र त्यसलाई साइकल जोनको रूपमा विकास गर्न गाउँपालिका लागि परेको अध्यक्ष कार्कीले बताए ।


यी जनप्रतिनिधिहरू मात्रै हैन्, संघ तथा प्रदेश सांसद, मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीदेखि लिएर बीपी राजमार्ग हुँदै सवार गर्ने जोकोही पनि सोलाभन्ज्याङ क्षेत्रमा शीतल पाउनका लागि रोकिन्छन् । गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनका लागि समेत पर्यटक आउने सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ ।


सदरमुकामबाट २० किलोमिटर उत्तरतर्फ गएपछि यो क्षेत्र पुगिन्छ । गर्मी मौसममा समेत सिन्धुलीगढी क्षेत्रमा जाडो हुने गरेको छ । गर्मी भुलाउन र प्राकृतिक सौंदर्यको मज्जा लिन तरार्ई क्षेत्रको हब सिन्धुलीगढी क्षेत्र बन्दै गएको छ ।


सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्त्व, हावापानी र नागबेली सडकको मज्जा लिन तरार्ईबाट सयौं सवारीसाधनमा आन्तरिक पर्यटकहरू यहाँ आउने गरेका छन् । वर्षातको समयमा पनि गर्मी भुलाउन सिन्धुलीका मात्र नभएर छिमेकी जिल्ला तथा भारतबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरू गढी क्षेत्र पुग्ने गरेका छन् ।


वनभोजका लागि तथा सामान्य घुमघामको रोजाइको क्षेत्र सिन्धुलीगढी पर्दैर् गएको स्थानीयको भनाइ छ । गर्मीमा चिसोको मज्जा लिन सयौंको संख्यामा तराई क्षेत्रबाट आन्तरिक पर्यटकहरू आउने गरेको सिन्धुलीगढी संरक्षण समितिका सचिव खिलराज देवकोटा बताउँछन् । भन्छन्, ‘चिसो मौसममा भन्दा अहिले यहाँ आउनेको संख्यामा वृद्धि भएको छ, गर्मी भुलाउनकै लागि गढी रोजाइमा परेको हो । वर्षातमा समेत गढीमा उत्तिकै चाप छ । गर्मी भुलाउने एकातर्फ छँदैछ, अर्कातर्फ भने विश्वमा साम्राज्य फैलाएको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरेको स्थानको अवलोकन उनीहरूको विषय हो ।


यहाँ आएपछिको आनन्द वर्णन गरिसाध्यै छैन, सर्लाहीबाट आएर गढीक्षेत्रमा भुलिरहेका असीम अन्सारीले भने, ‘तराईमा चर्को गर्मी छ, गढी क्षेत्रमा त जाडो भयो । ’ गौरीशंकर हिमालसमेत देखिने भएकाले गढी क्षेत्रमा आउने जोसुकै पनि तस्बिर खिच्नमै व्यस्त हुन्छन् । विद्यालय छुट्टीको समय भएकाले आफूजस्तै सयौं विद्यार्थीहरू गढी घुम्न आएको उनको भनाइ थियो ।


बीपी राजमार्गको मनमोहक नागबेली सडक हुँदै सिन्धुलीगढी जान सकिन्छ । राजमार्गको सोलासम्म सवारीसाधनमा गएर पैदल गढी क्षेत्र गए पनि साना सवारीसाधन लिएरै गए पनि त्यो आफैंमा भरपर्ने सिन्धुलीगढी संरक्षण समितिका सचिव देवकोटा बताउँछन् ।

गढी क्षेत्रमा यतिखेर राजधानी आवतजावत गर्नेको लर्को भेटिन्छ ।


बीपी राजमार्ग हुँदै पूर्वी नेपाल जाने र फर्कने होस् वा राजधानीतर्फ जाने जोकोही पनि गढी क्षेत्र घुम्न लालायित हुने गरेको जलकन्याका शिक्षक कर्णबहादुर कार्की बताउँछन् । ऐतिहासिक सिन्धुलीगढी घाम लागेर खुलेको समयमा दोलखाको गौरीशंकर हिमालको दृश्यपान गर्न सकिन्छ । जाडोमा पारिलो घाम लाग्ने र गर्मी महिनामा हुस्सु लागेर शीतल हुने गढी क्षेत्रको विषेशता हो ।


खानेपानीको सुविधा र पुर्खाले लडेर विजय प्राप्त गरेको नालीबेली गढी क्षेत्रमा पुगेपछि देख्न पाइन्छ । सिन्धुलीगढीको इतिहासको वृत्तचित्र गढीमा टेलिभिजन राखेर दिनभर प्रसारण गरिन्छ, उक्त इतिहास पर्दामा जोसुकैले पनि हेर्न पाउने कमलामाइ नगरपालिकाले व्यवस्था मिलाएको छ ।


त्यसका अलावा दरबारको भग्नावशेष, राणाकालीन कार्यालय सञ्चालन, वीरवीरंगनाको इतिहास खुलाइएको तस्बिर, सानोगढी, ठूलोगढी, पौवागढी, तोप हान्ने प्वाल, फहराइरहेको राष्ट्रिय झण्डा, टुँडिखेल, सिद्धबाबा मन्दिरलगायतका स्थान हेर्न र दर्शन गर्न सकिन्छ ।


विसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाइ वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । सिन्धुलीगढीमा रहेको सानोगढी, पौवागढी, इनार, तोप हान्ने प्वाललाई पुनर्निर्माण गरिएको छ ।


सिन्धुलीगढी क्षेत्रका अन्वेषणकर्ता ढकाल पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई पराजित गर्न नेपाली फौजले भूगोलको साथ लिएका थिए ।


सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार, मारो नि मायाले मारो.... भन्ने स्वर्गीय कृष्णविक्रम थापाले गाएको गीत २०३६ सालमा रेडियो नेपाल प्रथम त भयो तर दरबार गढी परिसरमा एकाध इँटा मात्र रहेकाले राज्यलाई नै गिज्याइरहेको भान हुन्छ । यद्यपि यतिखेर कमलामाई नगरपालिकाले सिन्धुलीगढीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना नै तयार गरेर लागि परेको छ । सिन्धुलीगढी क्षेत्रलाई तारबारले घेरेर ऐतिहासिक सम्पदा जोगाउन नगरपालिका लागि परेको छ । गत वर्ष गढीको विकासका लागि नगरपालिकाले २ करोड बजेट खर्च गरेको छ ।


स्थानीय स्रोतसाधनबाट मात्र गढी क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सम्भव नभएकाले केन्द्रदेखि लिएर दाताहरूसँगको सहकार्यमा काम अगाडि बढाइएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री बताउँछन् । भन्छन्, ‘गढी क्षेत्रलाई पुरानै अवस्थामा

फर्काएर पर्यटकको ओइरो लगाइन्छ, त्यो हाम्रो मूलमन्त्र हो ।’

प्रकाशित : वैशाख ३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?