छोराछोरी नपढाउनेलाई सेवासुविधा रोकिने

हेटौंडा — छोराछोरी स्कुल भर्ना नगर्ने अभिभावकलाई राक्सिराङ गाउँपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । विपन्नताका कारण पढ्न नपाएकाहरूलाई विद्यालय पोसाकसहितका सामग्री उपलब्ध गराएर निःशुल्क पढाउने बैठकको निर्णय छ ।

चेपाङ बाहुल्य उक्त क्षेत्रका बालबालिका गरिबीकै कारण विद्यालय भर्ना हुँदैनन् । गरिबीका कारणले छोराछोरी पढाउन नसकेको जानकारी दिए गाउँपालिकाले नै भर्ना गरेर पढाइदिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘आफैं जागरुक भएर नपढाउने र आर्थिक अभावले नसकेका भए पनि गाउँपालिकालाई जानकारी नगराउनेलाई चाहिँ सेवासुविधावाट वञ्चित गर्नेछौ,’ उनले भने ।


राक्सिराङले यस शैक्षिक सत्रमा गाउँपालिकाभित्रका पढ्ने उमेरका बालबालिकालाई स्कुल भर्ना गराउने अभियान चलाउने निर्णय गरेको छ । विद्यार्थी भर्नाका लागि गाउँपालिकाले ‘विपन्न चेपाङ, तामाङ सारा, शिक्षा दिने राक्सिराङको अभिभारा’ भन्ने मूल नारा तय गरेको छ । गाउँपालिकाले विभिन्न विद्यालय क्षेत्रमा भर्ना अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । उक्त गाउँपालिकामा साक्षारत दर अत्यन्त कमजोर छ । २६ हजार १ सय ९२ जनसंख्या रहेको गाउँपालिकामा ३५ प्रतिशत जनसंख्या मात्र साक्षार छन् ।


चेपाङहरूको अवस्था अझै कमजोर छ । गाउँपालिकाले चेपाङ समुदायको समग्र हित गर्ने उद्देश्यले चेपाङ विकास समन्वय समिति गठन गरेको छ । विगतमा चेपाङ विकास समिति गठन गरिएको थियो । मुलुक संघीयतामा प्रवेश गरेपछि उक्त समिति विघटन गरिएको थियो । समिति विघटनसँगै चेपाङ समुदायको विकास र उत्थान अवरुद्ध भएको अवस्थामा नयाँ समिति गठन गरिएको अध्यक्ष मल्लले बताए ।


समितिमा ९ वटा वडाका ९ जना र गाउँपालिकाबाट मनोनीत चार गरी १३ जना सदस्य छन् । समितिमार्फत चेपाङ क्षेत्रमा गाउँपालिकाले काम गर्ने नीति छ । गाउँपालिकाले चालु आवका निम्ति उक्त समितिलाई १० लाख रुपैयाँ विनियोजन गरेको छ । साविकका सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस समेटेर बनाइएको उक्त गाउँपालिका जिल्लाकै अत्यन्त दुर्गम र

पिछडिएको भित्र पर्छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?