रित्तिँदै नमुना बस्ती

चिटिक्कका घर पाए पनि हातमुख जोर्ने उपाय नहुँदा कोही जोखिमपूर्ण बस्तीमै फर्किएका छन् त कोही बिदेसिएका छन् 
हरिहरसिंह राठौर

भुवालेपानी, धादिङ — एकल प्रयासमा बनेको भनी चर्चामा आएको नमुना बस्ती हाल सुनसान छ । भूकम्पले बस्ती जोखिममा परेकाहरूलाई त्यहाँ राखिएको थियो । अहिले उनीहरू धमाधम नमुना बस्ती छाडिरहेका छन् ।

रित्तिँदै नमुना बस्ती

टाढाबाट हेर्दा चिटिक्क परेको बस्ती पुग्दा कुनै–कुनै घरमा महिला र केटाकेटी मात्रै फेला पर्छन् । धेरैजसोमा ताला मारिएको छ । बिजुलीको मुख्य स्विच अफ गरिएको छ । खोर रित्तै छन् । कतिपय घरका झ्यालमा जस्तापाता ठोकेर बन्द गरिएको छ ।


‘घरमात्रै चिटिक्क भएर के गर्नु र ? खुर्सानीको बोट रोप्नेसमेत जग्गा छैन, गाउँको जग्गामा आलु, मकैलगायत अन्नपात फल्थ्यो, यता त गुजारा गर्नै धौधौ भएर श्रीमान्लाई दुबई पठाएकी छु,’ उत्तरी लापाबाट आएर बसेकी रोशनी तामाङले भनिन् । श्रीमान् चसमान डेढ वर्षदेखि विदेशमा छन् । बाबुआमालाई गाउँमै छाडेर नमुना बस्तीका आएका युवा पुस्तालाई अहिले हातमुख जोर्नै मुस्किल छ ।


विभिन्न दाताले ५५ परिवार बस्न मिल्ने गरी भुवालेपानी र तल्लो आलेमा बस्ती बनाइदिएका थिए । पीडितले पनि करिब १६ महिना पसिना बगाएर श्रमदान गरेका थिए । अहिले एक दर्जन घरधुरी मात्रै त्यहाँ बसेका छन् । सदरमुकाम छेउछाउ गुजारा गर्ने उपाय नभएपछि कोही वैदेशिक रोजगारमा छन् त कोही पुरानै बस्तीमा फर्केका छन् ।


भूकम्पमा लापाको कपुरगाउँका ७५ घरधुरीमध्ये ६० घर पूरै ध्वस्त भएका थिए । ४ जनाले ज्यान गुमाए । बस्तीको चारैतिर पहिरो गएर नाकाबन्दीजस्तै भएको थियो । बस्ती नै चर्केपछि भूगर्भर्विद्ले बस्न नमिल्ने भनी सार्न सिफारिस गरेका थिए । वृद्धवृद्धा, विपन्न र एकल महिलालाई सदरमुकाम नजिकैको ज्वालामुखी ५ भुवालेपानी र तल्लोआलेमा शिविर बनाई राखिएको थियो ।


उक्त बस्ती बसाल्न प्रमुख भूमिका खेलेका दिनेश तामाङका अनुसार क्यानडास्थित चाइल्ड हेभेन इन्टरनेसनल नेपालले ३८ रोपनी जग्गा किन्न २९ लाख रकम दिएको थियो । विस्थापित शिविर राखेकै बाँझो जग्गा किनेर ५५ घरधुरीका लागि भूकम्पप्रतिरोधी घर निर्माण गरिएको थियो । ‘आयआर्जनका उपाय नभएपछि बस्तीमा टिकाउन धौ भयो,’ उनले भने । नमुना बस्तीमा खानेपानी, विद्युत् लाइनसमेत पुर्‍याइएको छ ।


विस्थापितलाई बस्तीमा टिकाइराख्न आयआर्जनका लागि होमस्टे सञ्चालन, हस्तकला उद्योग, कुखुरा र पशुपालन, बेमौसमी तरकारी खेतीजस्ता कार्यक्रम चलाउन लागिएको दिनेशले बताए । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त बस्तीमा सुरुमा ३ सय १० जना बसोबास गर्थे ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?