कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अझै बनेन् स्वास्थ्य भवन

हेटौंडा — जग्गाको अभावले भीमफेदी गाउँपालिकालाई प्रदेश ३ को सरकारले दिएको १ करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ । 
पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले भीमफेदी गाउँपालिकालाई ससर्त अनुदान १ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

‘प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न जमिनको अभावले गर्दा काम गर्न कठिनाइ भएको हो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘भीमफेदी बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवनहरू छन् । ती भवनहरू भत्काएर उक्त स्थानमा नयाँ भवन निर्माण गर्न सकिन्छ तर पुरातत्त्व विभागले पुरानो भवन भत्काउन रोक लगाएको छ ।’


भीमफेदी गाउँपालिका ६ भीमफेदी बजारमा विक्रम सम्वत् १९६४ सालमा निर्माण गरेको पृथ्वी–चन्द्र अस्पतालको भवन रहेको छ । उक्त भवनवाट २०७२ सालको भूकम्प जानु भन्दा अगाडिसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । भूकम्पले उक्त भवन चिराचिरा बनाएपछि उक्त भवनवाट स्वास्थ्य सेवा बन्द गरिएको छ । भवन रहेकै स्थानमा वरिपरिका खाली जग्गामा साना/साना टहराहरू वनाएर प्राथमिक स्वास्थ्य केन्द्रले आफनो सेवालाई निरन्तरता दिँदै आएको छ ।


एक सय ११ वर्षअघि बनेको उक्त जीर्ण भवनलाई भत्काएर उक्त स्थानमा अर्को भवन बनाउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ तर पुरातत्त्व विभागले गाउँपालिकालाई उक्त भवन भत्काउन रोक लगाएको छ । ‘पुरातत्त्व विभागका कर्मचारी नै गाउँपालिकामा नै आएर यो भवन पुरातात्त्विक भवन भएकाले नभत्काउन अनुरोध गरेका छन्,’ गापा अध्यक्ष लामाले भने, ‘यो भवन नभत्काएसम्म अर्को भवन बनाउने जग्गा छैन ।’ भूकम्पले चिरा परेको उक्त भवन ८ रोपनी जग्गाको मध्य भागमा छ ।


उक्त भवन नभत्काएसम्म अर्को बनाउन सकिँदैन । पुनर्निर्माण प्राधिकरणले उक्त भवन जोखिमयुक्त भएकाले तत्कालै भत्काउनुपर्ने गापालाई सुझाव दिएको छ । ‘पुरातत्त्व विभागले भत्काउन रोक लगाउने र पुनर्निर्माण प्राधिकरणले छिटै भत्काउन सुझाव दिने यस्तो दुई थरी कुराले गर्दा गाउँपालिकामा ५ शय्याको अस्पताल भवन नबन्ने भयो,’ लामाले भने, ‘जग्गाको अभावले गर्दा प्रदेशले दिएको एक करोडको रकम पनि फ्रिज हुने भो ।’ मकवानपुरको पुर्व सदरमुकाम भीमफेदी वजार त्रिभुवन राजपथ निर्माण हुनु अघि राजधानी र तराई आवत–जावत गर्ने मुख्य नाका थियो ।


सिकार खेल्न आउने त्यतिवेलाका राणा एवं राजाहरू भीमफेदी आएर बस्दथ्ये । त्यसैले औषधि उपचार गर्नका लागि एक सय ११ वर्षअघि भीमफेदीमा पृथ्वी चन्द्र अस्पताल स्थापना गरेको हो । ०७२ को भूकम्प भन्दा अघिसम्म उक्त भवनमा नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो । २०२० सालदेखि सरकारले भीमफेदीस्थित उक्त अस्पताललाई स्वास्थ्य केन्द्रको रूपमा परिणत गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?