१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सामुदायिक भवन प्रयोगमा नआउँदै जीर्ण

नुवाकोट — पालमुनि बसेका सर्वसाधारणलाई पक्की छानामुनि राख्ने सरकारको निर्णय अनुसार बनाइएका सामुदायिक भवन प्रयोगमा नआउँदै जीर्ण भएको छ । म्यागङ गाउँपालिका १, बर्सुन्चेत स्थित मेघाङचौरमा बनाइएको सामूहिक आवास भवन उपयोगविहीन भएको छ ।

सेनाको श्रीनाथगणले गत असार १३ गते भवन समुदायलाई हस्तान्तरण गरेको थियो । यहाँ २ भवनमा भान्सासहित १२ कोठा, महिला र पुरुषका लागि छुट्टाछुटै शौचालय तथा स्नानघर छन् । सेनाले उक्त भवनभित्रका कोठा माटोले लिपपोत गरी बनाएको छ । भवनको पिंढीमा दाउराले खाना पकाउने चुलो छ । भवनभित्र वर्षाको पानी नछिरेकाले ओभानो छ ।


भवनको बाहिर बनाएका भान्सामा घाँस उम्रिएका छन् । केही शौचालयमा घाँसदाउरा गर्नेहरूले फोहोर गरेका छन् केहीमा ताला लगाइएको छ । तालामा खिया लागेको छ । भवनसम्म जाने कच्ची सडक छ । भवन जंगलको बीचमा छ । भवनदेखि १५ मिनेट पैदल दूरीमा हस्तबहादुर घले (लालु) को मात्र घर छ । उनको घर नजिकैको करेसाबाट बर्सन्चेत जाने कच्ची सडक भेटिन्छ ।


‘त्यतिबेला मेरै बारीको जग्गामा भवन बनाउन सेनालाई अनुरोध गरेको थिएँ,’ घलेले भने, ‘स्थान तोकिएको र जमिन खार्न पर्दा ढिलो हुने भनेपछि माथि बनाए । उपयोगमा आएन ।’ उक्त भवन बर्सुन्चेतवासीलाई लक्षित गरी बनाएको थियो । उनीहरूलाई उक्त भवनसम्म पैदल आउन झन्डै दिनभरिको बाटो लाग्छ । नजिक पर्ने म्यागङगाउँ र किम्ताङवासीलाई पनि पायक पर्ने स्थानमा भवन छैन । उक्त भवन स्थानीय सामग्री, जस्तापाता, प्लाई प्रयोग गरिएको छ । तत्कालिन अवस्थामा सेनाले आफूलाई दिएको जिम्मेवारी स्वरुप भवन निर्माण गरी समुदायलाई दिएको जनाएको थियो ।


जिल्ला दैविक प्रक्रोप उद्धार समितिको सिफारिस गरेका स्थानमा नेपाली सेनाले सामुहिक आवास निर्माण गरेका थिए । ती सामुहिक आवास भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको बताइएको छ । श्रीनाथ गणले नुवाकोटमा ४ वटा सामुदायिक भवन बनाई स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । बुधसिङ वडा नम्बर ४ को चण्डी माविको पुरानो चौरमा आठकोठे र ककनीगाउपालिका १ ओखरपौवाको कागती गाउँमा पनि ८ कोठे भवन निर्माण गरी स्थानीय निकायलाई दिएको थियो ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?