कान्ति लोकपथ सञ्चालन हुँदै

३३ किलोमिटर कालोपत्रे, ४० किलोमिटर सडक ग्राभेल
असोजदेखि मालवाहक ट्रक र बस आउजाउ गर्ने
प्रताप विष्ट

हेटौंडा — ६३ वर्षदेखि निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ अबको पाँच महिनामा सञ्चालनमा आउने भएको छ । उक्त लोकपथको केही भाग फराकिलो गर्न ढिलाइ भएकाले हाल सञ्चालनमा आउन सकेन । आयोजनाले वैशाखदेखि नै सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

कान्ति लोकपथ सञ्चालन हुँदै

२०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भए पनि विस्फोटक पदार्थको अभावले गदो तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेकाले केही समय पछाडी धकेलिएको हो । ‘आगामी असोज महिनादेखि मालवाहक ट्रक र यात्रुवाहक वस कान्तिलोक पथ भएर आउजाउ गर्ने छन्,’ कान्तिलोक पथ आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अमिन्द्र खडकाले भने, ‘६ महिनाभित्रमा सडक फराकिलो बनाउने र अधिकांश भाग कालोपत्रे गरिसक्नेछौं ।’ असोजको अन्तिमसम्ममा कान्ति लोकपथ कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ । हालसम्म कान्ति लोकपथमा ३३ किलोमिटर कालोपत्रे गरिसकेको छ ।

२५ किलोमिटर मकवानपुरतर्फ र ८ किलोमिटर ललितपुरतर्फ गरिएको छ । ४० किलोमिटर सडक ग्राभेलस्तरको छ । यो ग्राभेलस्तरको सडक छिटै नै कालोपत्रे हुने आयोजनाले जनाएको छ । कालोपत्रे गनको आयोजनाले बगुवामा असफाल्ट प्लान्टसमेत निर्माण गरेको छ । मकवानपुर र ललितपुरतर्फको ६ किलोमिटर सडक फराकिलो पार्न निर्माण कम्पनीलाई जिम्मा दिइसकेको छ । । मकवानपुरतर्फ ४ किलोमिटर ललितपुरतर्फ २ किलोमिटर सडकलाई फराकिलो पहरा फोडेर फराकिलो बनाउनुपर्नेछ ।

आयोजनाले विगतमा विस्फोटक पदार्थ नपाएको कारणले उक्त कार्य रोकिएको थियो । टेन्डर प्रक्रियामार्फत आयोजनाले अहिले निर्माण कम्पनीलाई विस्फोट गराएर वा कटिङलगायत जेजसरी हुन्छ ६ महिनाभित्र फराकिलो बनाउने कार्यको जिम्मेवारी दिएको छ । फराकिलो बनाउने कार्यमा निर्माण कम्पनीहरू जुटिसकेका छन् । ‘करिब ६ किलोमिटर सडक फराकिलो हुनेबितिक्कै सहजसँग यात्रुवाहक बस र मालवाहक ट्रकहरू आवतजावत गर्न सक्छन्,’ आयोजना प्रमुख विनोद सापकोटाले भने, ‘त्यति बेलासम्म ६ किलोमिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे पनि भइसक्छ ।’

बाँकी रहेको टीकाभैरवदेखि सात दोबाटोसम्मको ११ किमि सडक डिभिजन सडक कार्यालय र उपत्यका सडक विस्तार आयोजना अन्तर्गत स्तरोन्नति भइरहेको छ । मकवानपुरको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथ पर्छ । बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किलोमिटर लम्बाइ छ । ७९ किलोमिटर सडक स्तरोन्नति कान्ति लोकपथ आयोजनाले गर्दै आएको छ ।

कान्तिलोक पथको मुख्य चुनौतीको रूपमा रहँदै आएको ६ किलोमिटर कडा चट्टान हो । त्यही चट्टान फोड्नमा ढिलाइ भएकाले कान्ति लोकपथ सञ्चालनमा आउन पनि विलम्ब भएको आयोजना प्रमुख सापकोटाले भने । कडा चट्टान भएका खण्डहरूमा प्वाल खोपेर विस्फोटनका लागि तयार पारेका थिए तर सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि काममा अवरुद्ध भएको हो ।

सेनालाई पनि विगतमा भारतले विस्फोटक पदार्थ उपलब्ध नगराएकाले कान्ति लोकपथ आयोजनालाई दिन नसकेको हो । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग कान्ति लोकपथमा ६ महिनाभित्रमा सवारीसाधन आवतजावत गराउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । केही हल्का अर्थात् साना सवारीसाधनहरू यही लोकपथ भएर जोखिम मोलेर हेटौंडा–काठमाडौं आवतजावत गरिरहेका छन् । आयोजनाका अनुसार करिब ६५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको ६३ वर्षपछि कान्ति लोकपथले पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्रीडाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउने कार्य भइरहेको छ । कान्ति लोकपथको अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने कार्यहरू तीव्रगतिमा भइरहेका छन । उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने र्२ सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् ।

कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिएको छ । हेटौंडातर्फको कान्ति लोकपथको प्रस्थान बिन्दु बुद्धचोक हो भने काठमाडौंतर्फको प्रस्थान बिन्दु ललितपुरको सातदोबाटो हो । यो लोकपथको निर्माण गर्न चालु आवमा ६० करोड रुपैयाँ विनियोजित गरेको थियो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको रहेको यस मार्गमा साढे आठ मिटर चौडा बनाएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिएको छ ।

कान्ति लोकपथको ट्रयाक २०१३ सालमा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए । तर, ललितपुर र मकवानपुरको सीमास्थित वाग्मती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो । ६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?