खर मजुर ५ वटा मात्र

प्रमिता ढकाल

भरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा खर मजुर लोप हुने अवस्थामा पुगेको छ । नयाँ घाँसे मैदानमा बस्न रुचाउने खर मजुर बासस्थान अभाव हुन थालेपछि संरक्षणमा चुनौती थपिएको हो ।

सन् २०११ को गणनामा १२ को संख्यामा रेकर्ड गरिएको यो चरा प्रजाति अहिले मुस्किलले ५ वटा देखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुरखड्काले बताए । केही वर्ष अघिसम्म सौराहको पूर्वी सेक्टरमा सजिलै देख्न सकिने खर मजुर अहिले पश्चिमी भेगमा फाट्टफुट्ट देखा परेको छ ।

पछिल्लो समय सुकेभारको हर्राबास, सुरुङखोला तथा नवलपुरको नमुना सामुदायिक वन क्षेत्रमा खर मजुर ट्रेस गरिएको छ । संरक्षित क्षेत्रमा सीमित भएर नबस्ने हुँदा संरक्षणमा चुनौती थपिएकोखड्काको भनाइ छ ।

‘यसलाई संरक्षित क्षेत्रमा मात्र सीमित राख्न सकिन्न,’ उनले भने, ‘यसको बासस्थान संरक्षित क्षेत्रबाहिर पनि बनेको हुन्छ ।’ नदीमा बाढीले बगाएर ल्याएको बालुवाबाट बनेको बेल्ट खर मजुरको प्रिय र उपयुक्त बासस्थान हो । साना बुट्यान, सिरु, खरको घाँसे मैदानमा लुकेर बस्न र त्यहाँ पाउने किराफट्यांग्रा खान खर मजुर रमाउँछ । बाली पाक्ने बेला र मकैबारीमा आहारा खोज्दै मानव बस्तीमा पस्ने गर्छ ।

‘यो चरो एकलकाँटे स्वभावको हुन्छ,’खड्काले भने, ‘यसका भाले र पोथीसमेत अलग अलग बस्न रुचाउँछन् ।’ भाले सानो घाँस र पोथी झाडी भएका ठाउँमा बस्न रुचाउँछ । नयाँ बनेको बासस्थान खोज्दै हिँड्ने खर मजुर बासस्थान अभाव बढ्दै गएपछि कम भएको हो ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोसी टप्पु, शुक्लाफाँटा आरक्ष र बर्दिया निकुञ्जमा खर मजुर पाइन्छ । अन्यन्त्रको तुलनामा कोसी टप्पुमा केही बढी संख्यामा खर मजुर छन् । नेपालबाहेक भारत र कम्बोडियामा मात्रै खर मजुर पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ मा समेत अति संरक्षित चराको सूचीमा राखिएको छ । नेपालमा पाइने दुर्लभ चरा प्रजातिको अग्रपंक्तिमा परे पनि चितवन राष्ट्रिय निकुञ्जमा यसको संरक्षणका लागि हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरिएको सहायक संरक्षण अघिकृत खड्काले बताए ।

बासस्थान, चरन क्षेत्र, आहाराको पहिचान र बानीव्यवहार अध्ययन गरी उचित व्यवस्थापन गर्न ढिलाइ गरे चितवनबाट यो प्रजाति लोप नहोला भन्न सकिन्न । चितवन राष्ट्रिय निकुञ्जमा ५ सय ७५ प्रजातिका चरा छन् । चितवनमा मात्रै ६ सय २८ चरा प्रजाति भेटिएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फेरि अल्झियो वाग्मतीको काम

दीपेन्द्र विष्ट

काठमाडौँ — मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने भन्दै स्थानीयले ‘वाग्मती ब्युटिफिकेसन’ को काम पुनः ठप्प पारेका छन् तर पन्ध्र दिन बितिसक्दा पनि सरोकारवाला निकाय सहरी विकास मन्त्रालयले चासोसमेत देखाएको छैन ।

ठेकेदार कम्पनीले जुटाएका निर्माण सामग्री सडक छेउमा अलपत्र छन् । यसअघि मन्त्रालयका सचिव रमेशप्रसाद सिंह र काठमाडौं ३ का सांसद कृष्ण राई, स्थानीय जनप्रतिनिधिबीच एक महिनाअघि मुआब्जा विवादबारे मन्त्रिपरिषदमा लगेर टुंग्याउने सहमति भएको थियो ।

मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमतिपछि स्थानीयले गर्दै आएको अवरोध हटाएका थिए तर पछि कुनै सुनुवाइ नभएको भन्दै स्थानीयले पुनः काम ठप्प पारेका छन् । अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले १५ दिनदेखि काम ठप्प भएको जानकारी दिँदै मन्त्रालयले गाँठो नफुकाएसम्म समाधान भन्न नसकिने बताए । ‘समितिले निर्णय गरेर पठाएको हो, छानबिन गरेर दिनुपर्ने/नपर्ने काम मन्त्रालयको हो,’ उनले भने, ‘मैले सहजीकरण गरिदिने काम हो, गरिसकेको छु ।’

मागेअनुसार मुआब्जा दिन नसकिने भन्दै उनले केही व्यक्ति वास्तविक पीडित भएको बताए । ‘केही व्यक्ति पीडित भएकै हुन्, सबैले मुआब्जा पाउनुपर्छ भन्ने होइन, काम ठप्प भएको जसरी पनि काम सुचारु गराउनुपर्छ,’ उनले भने, ‘काम जति लम्बिन्छ, त्यति नै सरकारलाई क्षति हुन्छ ।’ वास्तविक पीडित पत्ता लगाएर मात्र मन्त्रालयले मुआब्जा दिनुपर्ने उनले बताए । एसियाली विकास बैंक (एडीबी) ले वाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिइसकेकोपनि उनले बताए ।

यसअघि पनि मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको थियो । ‘स्थानीयसँग छलफल गरेर समस्या चाँडै समाधान गर्नुपर्छ,’ अध्यक्ष बस्नेतले भने, ‘पुनः आयोजना अलपत्र पर्ने भयो ।’

स्थानीयले वाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेको जनाउँदै उनले मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने बताए । ‘४१ रोपनीको मात्र प्रमाण छ, अरूसँग केही पनि छैन, १ सय ४७ रोपनीको लालपुर्जा छैन, कसरी मुआब्जा दिने ?,’ उनले भने, ‘बिनाप्रमाण कसैलाई मुआब्जादिन हुन्न, त्यो ४१ रोपनीमा पनिराम्रोसँग छानबिन गर्नुपर्छ ।’

तत्कालीन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले २२ वर्षअघि किनारका जग्गाको मुआब्जा दिइसकेको छ । आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । अध्यक्ष बस्नेतका अनुसार नदीको बीचबीचमा ‘चेकड्याम’ निर्माण गरिनेछ । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछन् र त्यसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् ।

उद्यान २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । ‘यो मृत वाग्मतीलाई जीवित तुल्याउने अभियान हो,’ उनले भने । माकलबारी टोल सुधार समितिका सचिव एवं स्थानीय विनीत अर्यालले काम ठप्प हुँदासम्म कसैले चासो नदेखाएको भन्दै आश्चर्य राखे ।

‘सामग्री लथालिंग छन् । मन्त्रालयले केही चासो लिएको छ ।नदी किनारमा काम धमाधम भइरहेको थियो, पुनः आयोजना अलपत्र पर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘उचित माग सबैको सम्बोधन हुन्छ, नजायज माग कसैको पूरा हुँदैन, तुरुन्त सरकारले यसमा पहल गर्नुपर्छ ।’ अर्यालका अनुसार गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुह्येश्वरीदेखि सिनामंगलसम्म करिब ३० मिटर बहाव कायम गर्दै दायाँबायाँ हरित उद्यान निर्माण गरिनेछ ।

टेकुतिरका २३ पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइने उनले बताए । ‘माकलबारी, जोरपाटीलगायत क्षेत्र निकै आकर्षक देखिन्छ,’ उनले भने, ‘पहिलो चरणमा यो क्षेत्र छनोट गरिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण भइरहेको छ ।’

उनका अनुसार गुह्येश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण गरिनेछैन । गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान रहनेछ । ‘फुटपाथमा मर्निङवाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहाव नियाल्न सजिलो होस् ।’ धाप क्षेत्रमा वर्षातको पानी संकलनका लागि २४ मिटर अग्लो ड्याम बनाइँदै छ । ‘वर्षातको पानी संकलन गरेर सुक्खा याममा वाग्मतीमा बगाइन्छ,’ उनले भने, ‘नदीको विशेषता पानी हुनु हो । त्यसकारणपानीको बहाव बढाउनैपर्छ ।’

सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले काम ठप्पबारे आफूलाई जानकारी नभएको बताए । ‘म बाहिर थिएँ, भर्खर आएको छु, त्यसबारे बुझ्छौं,’ उनले भने । कुल ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा ४ सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छोडिने र यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको अर्यालले बताए ।

ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै वाग्मतीको नागमतीमा ९० मिटर उचाइको ड्याम निर्माणको अध्ययन भइरहेको छ । नागमतीको ड्यामबाट २ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT