खर मजुर ५ वटा मात्र

प्रमिता ढकाल

भरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा खर मजुर लोप हुने अवस्थामा पुगेको छ । नयाँ घाँसे मैदानमा बस्न रुचाउने खर मजुर बासस्थान अभाव हुन थालेपछि संरक्षणमा चुनौती थपिएको हो ।

सन् २०११ को गणनामा १२ को संख्यामा रेकर्ड गरिएको यो चरा प्रजाति अहिले मुस्किलले ५ वटा देखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुरखड्काले बताए । केही वर्ष अघिसम्म सौराहको पूर्वी सेक्टरमा सजिलै देख्न सकिने खर मजुर अहिले पश्चिमी भेगमा फाट्टफुट्ट देखा परेको छ ।

पछिल्लो समय सुकेभारको हर्राबास, सुरुङखोला तथा नवलपुरको नमुना सामुदायिक वन क्षेत्रमा खर मजुर ट्रेस गरिएको छ । संरक्षित क्षेत्रमा सीमित भएर नबस्ने हुँदा संरक्षणमा चुनौती थपिएकोखड्काको भनाइ छ ।

‘यसलाई संरक्षित क्षेत्रमा मात्र सीमित राख्न सकिन्न,’ उनले भने, ‘यसको बासस्थान संरक्षित क्षेत्रबाहिर पनि बनेको हुन्छ ।’ नदीमा बाढीले बगाएर ल्याएको बालुवाबाट बनेको बेल्ट खर मजुरको प्रिय र उपयुक्त बासस्थान हो । साना बुट्यान, सिरु, खरको घाँसे मैदानमा लुकेर बस्न र त्यहाँ पाउने किराफट्यांग्रा खान खर मजुर रमाउँछ । बाली पाक्ने बेला र मकैबारीमा आहारा खोज्दै मानव बस्तीमा पस्ने गर्छ ।

‘यो चरो एकलकाँटे स्वभावको हुन्छ,’खड्काले भने, ‘यसका भाले र पोथीसमेत अलग अलग बस्न रुचाउँछन् ।’ भाले सानो घाँस र पोथी झाडी भएका ठाउँमा बस्न रुचाउँछ । नयाँ बनेको बासस्थान खोज्दै हिँड्ने खर मजुर बासस्थान अभाव बढ्दै गएपछि कम भएको हो ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोसी टप्पु, शुक्लाफाँटा आरक्ष र बर्दिया निकुञ्जमा खर मजुर पाइन्छ । अन्यन्त्रको तुलनामा कोसी टप्पुमा केही बढी संख्यामा खर मजुर छन् । नेपालबाहेक भारत र कम्बोडियामा मात्रै खर मजुर पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ मा समेत अति संरक्षित चराको सूचीमा राखिएको छ । नेपालमा पाइने दुर्लभ चरा प्रजातिको अग्रपंक्तिमा परे पनि चितवन राष्ट्रिय निकुञ्जमा यसको संरक्षणका लागि हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरिएको सहायक संरक्षण अघिकृत खड्काले बताए ।

बासस्थान, चरन क्षेत्र, आहाराको पहिचान र बानीव्यवहार अध्ययन गरी उचित व्यवस्थापन गर्न ढिलाइ गरे चितवनबाट यो प्रजाति लोप नहोला भन्न सकिन्न । चितवन राष्ट्रिय निकुञ्जमा ५ सय ७५ प्रजातिका चरा छन् । चितवनमा मात्रै ६ सय २८ चरा प्रजाति भेटिएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गैंडा गणना नहुने

प्रमिता ढकाल

भरतपुर — बजेट अपुग हुँदा निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैंडा गणना नहुने भएको छ । हरेक ४ देखि ५ वर्षमा गैंडा गणना हुँदै आएकोमा बजेटको टुंगो नलागेकै कारण यस वर्ष गणना नगरिने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार दाताको भर परेर लामो समय पर्खंदा आवश्यक बजेट नपाएपछि गणना प्रभावित भएको हो ।

गैंडाको संरक्षण र गणनामा हरियो वन, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) लगायतले सहयोग गर्दै आएका थिए । गैंडा गणनामा १ करोडभन्दा बढी खर्च हुने गर्दछ । गैंडा कार्य योजनामा चारदेखि पाँच वर्षमा गैंडा गणना गर्नुपर्ने उल्लेख गरिएकाले आगामी वर्ष सरकारको बजेटमा नै छुट्ट्याउन आग्रह गरिने खडकाको भनाइ छ ।

‘यसपटक तयारी पनि पुगेन बजेट पनि भएन,’ खडकाले भने , ‘अर्को वर्षका लागि सरकारलाई नै बजेट छुट्ट्याउन भनेका छौं ।’ नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा फेला परेका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६ सय ४५ गैंडा रहेका थिए ।

दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीहरूमा बाढी आउँदा चितवनका धेरै गैंडा बगेर भारत पुगेका थिए । दसवटा गैंडा भारतबाट उद्धार गरिएको थियो भने तीनवटा गैंडा अझै भारतमा रहेको निकुञ्जले जनाएको छ । चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ४१ वटा गैंडा प्राकृतिक तथा कालगतिले मरेका छन् ।

गैंडाको संख्या यकिन नहुँदा उनीहरूको बासस्थान तथा आहारा व्यवस्थापनमा समेत समस्या हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसादढकालले बताए ।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ । गणनाका लागि करिब एक महिना समय लाग्छ । आउँदो महिनाबाट घाँस र बुट्यान बढ्ने भएकाले गणना कठिन हुने उनले बताए । बाढीपछिको अवस्था थाहा पाउनको लागि संरक्षणकर्मीहरूले पनि यसै वर्ष गैंडा गणना गर्नुपर्नेमा जोड दिएका थिए ।

–प्रशिक्षार्थी

प्रकाशित : चैत्र २८, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT