सहकारीले सुरु गर्‍यो पेट्रोल पम्प

चितवन — सहकारी संस्थाहरूको लगानीमा भरतपुरमा पेट्रोल पम्प सञ्चालन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार पेट्रोल पम्पको औपचारिक उद्घाटन गरे ।

चितवन जिल्ला सहकारी संघ लिमिटेडले सेयर सदस्यबाट झन्डै पाँच करोड रुपैयाँ जुटाएर पेट्रोल पम्प सुरु गरेको हो । भरतपुरको जिल्ला हुलाक कार्यालय नजिक बाइपास रोडमा सहकारीकै नाममा रहेको जग्गामा डेढ वर्षअघि पम्प निर्माण सुरु भएको थियो ।


चितवनमा सात सयभन्दा बढी सहकारी छन् । तीमध्ये २९४ सहकारीबाट सेयर संकलन गरेर पेट्रोल पम्पमा लगानी गरेको निर्माण समितिका संयोजक भक्तिराम अधिकारीले जानकारी दिए । सहकारी संस्थाले २५ हजारदेखि पाँच लाख १० हजार रुपैयाँसम्म सेयर हालेका छन् । चार करोड ६६ लाख ३७ हजार लागतमा पम्प तयार भएको हो । पम्पको क्षमता ६० हजार लिटर डिजेल र पेट्रोल ४४ हजार लिटर रहेको छ ।


‘हामी शुद्ध र सही परिमाणमा तेल बेच्नेछौं । यसका साथै ग्राहकलाई प्रतिलिटर अन्यत्रको भन्दा यहाँ २५ पैसा सस्तो पर्नेछ,’ कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लिका उपाध्यक्ष हरिप्रसाद पौडेलले भने । भरतपुरमा जिल्ला सहकारीको चार बिघा जमिन छ । त्यसमध्ये एक बिघा जमिनमा पेट्रोल पम्प बनेको हो । पम्पसँगै कार ज्याक बास र अपांगमैत्री शैचालयसमेत रहेको निर्माण समितिका संयोजक अधिकारीले बताए ।


‘पेट्रोल पम्पको सुलभ र गुणस्तरीय सेवाबाट पनि हामीले आर्जन गर्न सक्ने अवस्था छ । व्यवसायमा हामीले हात हालेपछि अरूलाई पनि यसतर्फ अग्रसर हुन उत्प्रेरणा मिल्ने आशा छ,’ चितवन जिल्ला सहकारी संघ लिका अध्यक्ष टीकाराम भट्टराईले भने ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?