वृद्धवृद्धा भत्ता घरदैलोमै

हेटौंडा — मकवानपुरको विकट कैलाश गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गर्न थालेको छ । भत्ता वितरण कार्यको दोस्रो दिन सोमवार कैलाश गाउँपालिका—९ नामटारमा एक सय २० जनालाई भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए ।

वृद्धवृद्धा भत्ता घरदैलोमै

उनका अनुसार ९० जना वृद्धवृद्धा, २० जना एकल महिला र १० जना अपांगतालाई भत्ता वितरण गरेको छ । उक्त गाउँपालिका— ३ स्थित घुमाउनेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य आइतबारबाट सुरु गरिएको थियो । उक्त स्थानबाट ३ र ४ नम्बरका वडाका वृद्धवृद्धा अपांग र एकल महिलालाई भत्ता वितरण गरेको थियो ।


पहिलो दिन १ सय ७० जनालाई भत्ता वितरण गरिएको थियो । ७० जना एकल महिला र १ सय जना जेष्ठ नागरिकलाई सानिमा बैंकको गाउँपालिकामा रहेको शाखामार्फत भत्ता प्रदान गरेको वडाध्यक्ष देवलाल थिङले बताए । ‘चालु आवको दोस्रो चौमासिकको भत्ता घरदैलोमा गएर पहिलो पटक वितरण गरेको हो,’ उनले भने । बैंक र गाउँपालिकाको कर्मचारी र सम्बन्धित वडाका जनप्रतिनिधि भत्ता वितरण गर्न घरदैलोमा पुग्ने गरेका छन् ।


सरकारी सेवा घरदैलोमै दिने उद्देश्यसहित भक्ता वितरण गर्न थालिएको मोत्तानले बताए । ‘कम्तीमा जनप्रतिनिधि आएपछि नागरिकले केही सहज महसुस गरून् भनेर घरआँगनमा नै सामाजिक सुरक्षाभत्ता वितरण अभियान थालेका हौं,’ उनले भने ।

घरदैलोमा नै भत्ता पाउँदा वृद्धवृद्धा र अपांगता भएकाहरू खुसी भएका छन् ।


नामटार—९ का ८४ वर्षीय दिलबहादुर जिम्बा घरआँगनमा नै वृद्धभत्ता पाउँदा दंग परेका थिए । पहिलो चौमासिकको वृद्धभत्ता लिन उनी लौरोको सहारामा कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारस्थित सानिमा बैंकमा पुगेका थिए । नामटारबाट बैंक भएको स्थानमा पुग्न मात्र चार घन्टा लागेको थियो ।


१० वटा वडामा विभाजित उक्त गाउँपालिकाले २ दिनमा ३ वटा वडामा भत्ता वितरण गरिसकेको छ । पालैपालोसँगै १० वटा वडामा नै पुगेर भत्ता वितरण गर्ने गापाले जनाएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई सहज किसिमबाट भत्ता उपलब्ध गराउन घरदैलोमै बैंकका प्रतिनिधिलगेर बैंकिङ प्रणालीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।


सानिमा बैंकको शाखा एक वर्ष अघिनै गाउँपालिकाको केन्द्रमा स्थापना भएको थियो । भत्ता उक्त वैकबाट नै दिने गरिएको थियो । भत्ता लिनका वृद्धवृद्धा, अपांगता र एकल महिला डाँडापाखाबाट ४,५ घन्टा पैदल हिँडेर आउनुपर्थ्यो । गाउँपालिका र बैंकको कारणले वृद्ध भत्ता लिन घन्टौ हिँड्नुपर्ने दुःख अन्त्य भएको नामटारका ७७ वर्षीय सोमलाल वलले बतााए ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?