भँगेरीमा पुष्पलालको स्मरण, फोटो खिचाउनेको तँछाडमछाड

टीकाप्रसाद भट्ट

भँगेरी, रामेछाप — नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मथलो भँगेरी बुधबार उनका अनुयायीले खचाखच थियो  । पुष्पलाल जन्मेको घडेरीमा सानो ढुंगामा कुँदिएको उनका र दाजु सहिद गंगालालको मूर्तिसँग बसेर फोटो खिचाउनेको तँछाडमछाड नै भयो  ।

भँगेरीमा पुष्पलालको स्मरण, फोटो खिचाउनेको तँछाडमछाड

कतिपयले पुष्पलाल जन्मेको थलोको माटो समाएर उनको स्मरण गरे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पुगेको अवसरमा नेकपा प्रदेश ३ कमिटीले रामेछापमा राखेको विशेष कार्यक्रममा देशभरबाट कार्यकर्ता भँगेरीमा ओइरिएका थिए । त्यसपछि उनीहरू रामेछाप बजारमा आयोजित सभामा पुगे ।

सभामा नेताहरूले विश्वमा कम्युनिस्टहरू धराशायी भएका बेला नेपालमा कम्युनिस्टहरूको बहुमत सरकार भएकोमा गर्व गर्दै त्यसको श्रेय पुष्पलाललाई जाने बताए ।

कार्यक्रममा नेकपा ३ नम्बर प्रदेश अध्यक्ष नारायण दाहालले पुष्पलालको योगदान विश्व कम्युनिस्ट आन्दोलनसँग जोडिएको बताए । उनले २०१४ सालमा विखण्डनको बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई एकताको बाटोमा ल्याउन पुष्पलालले गरेको योगदान सम्झिए ।

नेकपाकी ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलाल दूरदर्शी नेता भएको बताइन् । पुष्पलाललाई कार्यदिशा बनाउने क्रममा धेरैले गद्दारको आरोप लगाएको प्रशंग उल्लेख गर्दै उनले भनिन्, ‘तर त्यही कार्यदिशाको जगमा नेपालका कम्युनिस्टहरू यो हैसियतमा पुगेका हुन् । पुष्पलालका विचार युगौंयुगसम्म सम्झन लायक छन् ।’

नेकपाका प्रदेश सचिव एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पुष्पलाल स्मृति प्रतिष्ठानको जग्गा मुआब्जाका लागि बजेट निकासाको पहल भइरहेको जानकारी दिए ।

‘अर्थ र पर्यटन मन्त्रालयमा यसबारे कुरा भइसकेको छ । रकम निकासा भई चाँडै नै काम हुनेछ,’ पोखरेलले भने । सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले भँगेरीलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गरिने बताए । पार्टीका जिल्ला इन्चार्ज तथा पुष्पलाल प्रतिष्ठान रामेछापका अध्यक्ष देवशंकर पौडेलले आगामी वर्षको स्थापना दिवस पुष्पलाल जन्मेकै भँगेरीमा मनाइने जनाए । ‘हामी त्यस पविक्र स्थानको विकासका लागि तत्कालै कार्यत्रम थाल्छौं,’ उनले भने ।

दुई वर्षअघि सरकारले बीपी कोइरालाको जन्मथलो सिन्धुलीको दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मथलो भँगेरीमा स्मृतिपार्क बनाउने कार्यक्रम अघि सारेको थियो । यसका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा निर्धारण गरेको १ वर्ष पुगे पनि रकम निकासा नहुँदा काम सुरु हुन सकेको छैन ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?