अस्पतालमा उपकरण छैन

कान्तिपुर संवाददाता

चितवन — बाहिरबाट हेर्दा भवन भव्य नै छ । भित्र पनि कुर्ची टेबुल र बेडहरू राखिएका छन् । कोठाकोठामा युनिटको नाम पनि लेखिएको छ । पृथ्वी राजमार्गको आडैमा कुरिनटार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयभित्र बनेको ट्रमा अस्पतालको हालत देखे जस्तो सुन्दर भने छैन । अमेरिकी दूतावासको सहयोगमा अस्पतालको भवन तयार भएको लामो समय भए पनि भित्र कुनै उपकरण छैनन् ।

कुनै उपकरण नै नभएपछि अस्पताल सञ्चालनमा छैन । दूतावासले अघिल्लो वर्षको अगस्टमा भवन हस्तान्तरण गरेको हो । ‘भवन र शय्याहरू छन् । यो अस्पताल २५ शय्याको क्षमताको हो । तर उपकरणहरू केही छैनन् । त्यसैले हस्तान्तरण भएको एक वर्ष हुन लाग्दा पनि सेवा सुरु गर्न सएिको छैन,’ तालिम शिक्षालयका प्रमुख रहेका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक
(एसएसपी) किशोर प्रधानले भने ।

पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन सडक खण्ड दुर्घटना धेरै हुने सडक हो । दुर्घटनाका घाइतेलाई कम्तीमा एक घण्टा परको भरतपुर र चार घण्टा टाढाको पोखरा वा काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता छ । सामान्य घाइतेको उपचार पनि राजमार्ग क्षेत्रमा हुन सकेको छैन । चोट लागेको ठाउँबाट बगेको रगत नरोकिँदा घाइतेको ज्यानै जाने गरेको दुःखद अवस्था पनि छ ।

‘यस्तो अवस्था नहोस्, दुर्घटनाका घाइतेको महत्त्वपूर्ण उपचार यही हुन सकोस् । ठूला र जटिल खालका शल्यक्रियाबाहेकका सेवा दिन सकियोस् भनेर ट्रमा अस्पताल बनाएको हो,’ एसएसपी प्रधानले भने । सशस्त्र प्रहरीको काठमाडौंमा आफ्नै अस्पताल पनि छ । उपकरणहरू भए चिकित्सक र अन्य प्राविधिकहरूको प्रवन्ध सशस्त्र प्रहरीले नै गर्न सक्छ । तर उपकरण किन्ने र सञ्चालन गर्ने खर्चको व्यवस्था अझै हुन सकेको छैन ।‘यो विषयमा हामीले हाम्रो विभागमा लेखेर पठाएका पनि छौं । केही न केही उपाए लाग्ला,’ एसएसपी प्रधानले भने । गाउँपालिकासँग मिलेर अस्पताल सञ्चालन गर्ने विषयमा पनि कुरा अगाडि बढेको छ । ‘हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल राख्ने भन्ने नीति छ । यहाँ २५ शय्याको अस्पताल भवन बने पनि उपकरण अभावमा चलाउन सकेका छैनौं । यसलाई के कसरी हुन्छ चलाउँछौं,’ इच्छाकामाना गाउँपालिका अध्यक्ष गीता गुरुङले भनिन् ।

गाउँपालिकाले अस्पताल चलाउन एक करोड रुपैयाँको जोहो गर्न लागेको उनले बताइन् । ‘हालै मात्र चितवन–२ का सांसद कृष्णभक्त पोखरेल र चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीले अस्पतालको भवन हेर्नुभएको छ । यसलाई चलाउनका लागि वातावरण बनाउन मैले भनेकी छु । जिल्ला समन्वयले ५० लाख दिए हामीले पनि ५० लाख रुपैयाँ जुटाएर अस्पताल चलाउने थियौं,’ अध्यक्ष गुरुङले योजना सुनाइन् ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भँगेरीमा पुष्पलालको स्मरण, फोटो खिचाउनेको तँछाडमछाड

टीकाप्रसाद भट्ट

भँगेरी, रामेछाप — नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मथलो भँगेरी बुधबार उनका अनुयायीले खचाखच थियो  । पुष्पलाल जन्मेको घडेरीमा सानो ढुंगामा कुँदिएको उनका र दाजु सहिद गंगालालको मूर्तिसँग बसेर फोटो खिचाउनेको तँछाडमछाड नै भयो  ।

कतिपयले पुष्पलाल जन्मेको थलोको माटो समाएर उनको स्मरण गरे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पुगेको अवसरमा नेकपा प्रदेश ३ कमिटीले रामेछापमा राखेको विशेष कार्यक्रममा देशभरबाट कार्यकर्ता भँगेरीमा ओइरिएका थिए । त्यसपछि उनीहरू रामेछाप बजारमा आयोजित सभामा पुगे ।

सभामा नेताहरूले विश्वमा कम्युनिस्टहरू धराशायी भएका बेला नेपालमा कम्युनिस्टहरूको बहुमत सरकार भएकोमा गर्व गर्दै त्यसको श्रेय पुष्पलाललाई जाने बताए ।

कार्यक्रममा नेकपा ३ नम्बर प्रदेश अध्यक्ष नारायण दाहालले पुष्पलालको योगदान विश्व कम्युनिस्ट आन्दोलनसँग जोडिएको बताए । उनले २०१४ सालमा विखण्डनको बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई एकताको बाटोमा ल्याउन पुष्पलालले गरेको योगदान सम्झिए ।

नेकपाकी ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलाल दूरदर्शी नेता भएको बताइन् । पुष्पलाललाई कार्यदिशा बनाउने क्रममा धेरैले गद्दारको आरोप लगाएको प्रशंग उल्लेख गर्दै उनले भनिन्, ‘तर त्यही कार्यदिशाको जगमा नेपालका कम्युनिस्टहरू यो हैसियतमा पुगेका हुन् । पुष्पलालका विचार युगौंयुगसम्म सम्झन लायक छन् ।’

नेकपाका प्रदेश सचिव एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पुष्पलाल स्मृति प्रतिष्ठानको जग्गा मुआब्जाका लागि बजेट निकासाको पहल भइरहेको जानकारी दिए ।

‘अर्थ र पर्यटन मन्त्रालयमा यसबारे कुरा भइसकेको छ । रकम निकासा भई चाँडै नै काम हुनेछ,’ पोखरेलले भने । सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले भँगेरीलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गरिने बताए । पार्टीका जिल्ला इन्चार्ज तथा पुष्पलाल प्रतिष्ठान रामेछापका अध्यक्ष देवशंकर पौडेलले आगामी वर्षको स्थापना दिवस पुष्पलाल जन्मेकै भँगेरीमा मनाइने जनाए । ‘हामी त्यस पविक्र स्थानको विकासका लागि तत्कालै कार्यत्रम थाल्छौं,’ उनले भने ।

दुई वर्षअघि सरकारले बीपी कोइरालाको जन्मथलो सिन्धुलीको दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मथलो भँगेरीमा स्मृतिपार्क बनाउने कार्यक्रम अघि सारेको थियो । यसका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा निर्धारण गरेको १ वर्ष पुगे पनि रकम निकासा नहुँदा काम सुरु हुन सकेको छैन ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT