कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जनआन्दोलन-२ का घाइते मुकेश अझै अर्धचेत

नगेन्द्र अधिकारी

काभ्रे — जनआन्दोलन–२ का घाइते मुकेश कायस्थको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो  । देब्रे हात चलाउने, माँ (आमा) भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र हृवीलचियरमा अड्न सक्ने भएका थिए  ।

जनआन्दोलन-२ का घाइते मुकेश अझै अर्धचेत

तर, अहिले फेरि पहिलेजस्तै अर्धचेत अवस्थामा फर्किएका छन् । न खान्छन्, न कुनै प्रतिक्रिया जनाउँछन् । खुवाउनका लागि पेटमा प्वाल पारेर पाइप जोडिएको छ । ‘असार १ गते अचानक बिरामी (सिजर) भएपछि बनेपास्थित शिर मेमोरियल अस्पतालमा १५ दिन उपचार गरियो, निमोनिया पनि देखिएकाले आईसीयूमा राख्नुपर्‍यो,’ आमा मीराले भनिन्, ‘सिजर (छारेरोग) भएपछि यसभन्दा अघि उनमा देखिएका सम्पूर्ण सुधार पुरानै अवस्थामा फर्कियो ।’ घर बसेको एक महिनापछि ट्रमा सेन्टरमा १५ दिन राखियो । ‘टाउकोमा पानी जमेकाले उपचारको तयारी थियो, पछि भएन,’ मीराले भनिन्, ‘मंसिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरेर अप्रेसन गर्यौं, अप्रेसन सफल भए पनि निमोनियाको संक्रमण भएपछि दुईपटक त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्‍यो ।’ उनी अहिले बनेपास्थित घरमै छोराको स्याहारसुसार गरिरहेकी छन् । ११ महिना वीर अस्पताल, ५ महिना न्युरो अस्पताल, अन्नपूर्ण अस्पतालमा उपचारपछि ५ महिना अनामनगरमा स्पर्श थेरापी गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि मुकेशमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए । उनको मस्तिष्कको ४ भागमध्ये ३ भाग नष्ट भएको छ ।

जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते मुकेशको कन्चटमा गोली लागेको थियो । यसबीच धेरै घटना–परिघटना भइसकेका छन् । राज्य सञ्चालन गर्ने थुप्रै पात्र पनि फेरिएका छन् । तर उनको दैनिकी फेरिएको छैन । ४ हजार ७ सय ५४ दिनदेखि अर्धचेत अवस्थामा बेडमै छन् । मुकेश गोली लाग्दा १५ वर्षका थिए । राज्यले दिएको सेवासुविधाबाट कायस्थ परिवार सन्तुष्ट छ । तर भुक्तानीका लागि झन्झट बेहोर्नुपरेको गुनासो पनि छ । ‘बिल भर्पाइअनुसारको भुक्तानी त सरकारले दिन्छ तर त्यसका लागि पाउने सास्ती अर्कै छ,’ मीराले भनिन्, ‘औषधिउपचारबापत् २ वर्षको भुक्तानी अझै बाँकी छ, लोकतन्त्रका लागि योगदान गरेकालाई दिइएको सुविधा लिन त्यति झन्झट हुँदा बेवास्ता गरेको महसुस हुने रहेछ ।’ सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नरहेकाले नर्सको पैसा भुक्तानीमा समस्या भएको मीराले बताइन् । उनी मुकेशजस्ता जनआन्दोलनका घाइतेका लागि राज्यले एउटा पुनःस्थापना केन्द्र बनाइदेओस् भन्ने चाहन्छिन् । ‘अहिले त हामीले स्याहारसुसार गर्दै आएका छौं, हाम्रो सेखपछि पनि मुकेशजस्ता जनआन्दोलनका घाइतेको स्याहारसुसार गर्न एउटा पुनःस्थापना केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भनिन् ।

पूरा भएन प्रधानमन्त्रीको वाचा
अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असार १४ गते मुकेशलाई भेट्न पुगेका केपी शर्मा ओलीले उनका नाममा खुलेको प्रतिष्ठानलाई ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । हाल सञ्चारमन्त्री रहेका जिल्लावासी गोकुल बाँस्कोटासहितका नेता आएर प्रधानमन्त्रीको प्रतिबद्धता रहेको र छिट्टै प्राप्त हुनेमा आश्वस्त पारेका पनि थिए । तर ३ वर्ष पुग्नै लाग्दा पनि प्रधानमन्त्रीको वचन पूरा भएको छैन । ‘उहाँ (प्रधानमन्त्री) ले सहयोगको वचन दिनुभएको थियो, पर्यटन मन्त्रालयमार्फत पैसा आउने भनेपछि जिल्ला विकास समितिमा बुझ्न पनि गयौं तर आएन,’ प्रतिष्ठानका अध्यक्ष हीरा शर्माले भने ।लोकतन्त्रपछिका सबैजसो प्रधानमन्त्रीले मुकेशको घर पुगेर उनलाई ‘जिउँदो सहिद’ घोषणा गर्ने भनी गरेको प्रतिबद्धता पनि पूरा भएको छैन ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?