कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गाउँमै रोजगारी भन्दै ठगी

सिन्धुलीमाढी — गाउँमै रोजगारीका लागि तालिम भन्दै जिल्लाका १ सय ११ जना युवा ठगिएका छन । जिल्लाको गोलञ्जोर गाउँपालिका ४ का एकेन्द्र मगर (कुमार) र हेमराज गुरुङले युवाहरूलाई रोजगारी दिने भन्दै ठगेका हुन् ।

ग्रिन क्लव नेपालका विभागिय अध्यक्ष बताउने एकेन्द्र र जिल्ला संयोजक भन्ने हेमराजले २ महिना युवाहरूलाई काममा लगाएर अहिले सम्पर्कविहिन बनेको पीडित युवाहरूले बताए ।


हेमराजले आफूहरूलाई स्वास्थ्य सम्बन्धी गाउँ–गाउँमा गएर काम गर्नुपर्ने बताएको पीडित तिनपाटन गाउँपालिकाङ ५ डुम्ब्रेबेसीकी कुसुम कार्कीले बताइन् । मासिक ४० हजार रुपैयाँ तलब दिने भनेर आफूहरूलाई काममा लगाएको उनी सुनाउँछिन् । २१ वर्षकी कुसुम बीएड चौथो वर्षमा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् । ‘मासिक ३० हजार रुपैयाँ र फिल्ड भत्ता १० हजार गरी ४० हजार रुपैयाँ दिन्छु भनेका थिए’ उनी भन्छिन्, ‘सुरुमा त तलब माग्दा दिन्छु दिन्छु भनिरहन्थे । अहिले त फोन नै उठ्दैन ।’


तालिमका लागि भनेर सुरुमा प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ उठाएका थिए । ‘२ महिना गाउँमा गएर काम गरियो । खान बस्न सबै आफ्नै पैसा खर्च भयो । अहिले मान्छे नै सम्पर्कविहीन भए’ उनले दुःखेसो पोखिन् । कुसुमको ग्रिन क्लव नेपालका विभागीय अध्यक्ष एकेन्द्र मगरसँग फेसबुकमा चिनजान भएको हो ।


कमलामाई नगरपालिका २ भद्रकालीका २४ वर्षीय केशव बम्जनको पनि उस्तै गुनासो छ । ४० हजार रुपैयाँ मासिक तलब भनेर काममा खटाएको बताउने केशव अहिले भने एकेन्द्र र हेमराज नै आफूले गरेको फोन उठाउनसमेत छोडेको बताउँछन् । ‘पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाडौंमा गएर ३ दिनको तालिम लिएपछि गाउँमा आएर काम सुरु गर्‍यौं । पहिलो चरणमा गाउँ गाउँमा गएर स्थानीयको स्वास्थ्य अवस्थाबारे टिपोट गर्‍यौं । दोस्रो चरणमा शिविर सञ्चालन भयो । त्यसपछि उनीहरू सम्पर्कविहीन भए ।’


एकेन्द्र र हेमराजले सुरुमा फेसबुकमा चिनजान गर्ने र एउटालाई चिनेपछि अरू साथीहरूलाई पनि भन काम सजिलो छ, पैसा राम्रो छ भनेर काम लगाएको पीडित युवाहरूले बताए । कार्की र बम्जनको जस्तो नियती १ सय ११ जना युवाहरूले भोगेका छन् । युवाबाट उनीहरूले प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ उठाएका थिए । ठगिनेमा १८ देखि ३० वर्षसम्मका युवाहरू छन् ।


सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर हायुले प्रहरीमा निवेदन दिन सुझाव दिएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेका थिए । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भने– उनीहरूले मौखिक रूपमा दिएको जानकारीअनुसार आरोपी काठमाडौं रहेकाले अपराध महाशाखा सीआइबी काठमाडौंमा उजुरी दिन सुझाव दिएका छौं । सीआइबीमा कुरा पनि गरिदिएको छु, उनले भने ।


संस्थाका विभागीय अध्यक्ष मगर भने युवाहरूलाई रोजगारी दिने उद्देश्यले नै क्लब खोले पनि विभिन्न समस्याका कारण बीचमै छोड्नुपरेको बताए । ‘उनीहरूले ६ महिना काम गरेपछि मात्र तलव दिन सकिन्छ । काम नै केही भएको छैन हामीले कसरी तलब दिनु ?’ उनले भने, ‘३ महिना काम गरेपछि प्रमाण पत्र दिने योजना थियो । त्यसैका लागि पैसा उठाएका हौं ।’

प्रकाशित : वैशाख १२, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?