२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

छोराको पर्खाइमा ४ वर्ष

लीला श्रेष्ठ

भक्तपुर — ‘ऊ सधैं मेरो सपनामा आउँछ, हामी यहीं घर बनाउनुपर्छ आमा, यही ठाउँ राम्रो छ भन्छ’ कापेको स्वरमा उनी बताउँछिन् । ‘मरेको भए किन यस्तो भन्ने थियो होला ?’ सूर्यविनायक नगरपालिका ४ दधिकोटकी ५१ वर्षीय मञ्जु खड्कालाई लाग्छ भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोमा हराएका उनको छोरा सबिन खड्का फर्केर आउँछन् ।

छोराको पर्खाइमा ४ वर्ष

सपनामा आफ्नो छोरा घर आएको देखेर मञ्जुले विपनामा छोरो घर आउने बाटोमा आँखा तन्काएको चार वर्ष भयो तर, अहिलेसम्म न त सबिन घर आएका छन् न त उनको कुनै खबर नै ।


२०७२ वैशाख १२ गते भूकम्प आउँदा नेपाली सेनाका सहसेनानी सबिन खड्का रसुवाको लाङटाङमा ड्युटीमा खटिएका थिए । भूकम्पले लाङटाङमा हिमपहिरो आएपछि उनको अत्तोपत्तो छैन । हिमपहिरोले सेना बस्ने ठाउँ नै बगाएको थियो । सबिनसहित १०

जना सैनिक हराइरहेका छन् ।


‘खाना त रुच्दैन तर पनि म कर बलले खान्छु, छोरा फर्केर आउने बेलासम्म म बाँच्नुपर्छ’ मञ्जु आशा व्यक्त गर्छिन्, ‘चिना देखाउँदा ज्योतिषीले उसलाई केही भएको छैन, त्यहाँबाट बाहिर निस्केर अन्त पुगेको छ भन्छन्, ऊ जुन घरबाट गएको हो, त्यहाँ आउँछ भनेका छन् ।’ चार वर्षदेखि उनको घरमा चाडपर्व समेत मानिएको छैन् ।


जाने सुनेका सयौं ज्योतिषीसँग पुगेकी मञ्जुलाई तिनै ज्योतिषीले बताएको भविष्य नै बाँच्ने आधार बनेको छ । आमा मञ्जुलाई ज्योतिषीले छोरा उत्तरी क्षेत्रमा पुगेको छ भनेकोले खोज्न पाए भेटिन्थ्यो जस्तो लाग्छ तर, खोजी गर्ने निकायले आज, भोली भन्दा भन्दै चार वर्ष बितिसक्यो ।


एक मात्र सन्तान सबिन हराएपछि मञ्जुमात्र होइन, बुबा देवराज खड्का उत्तिकै पीडामा छन् । आफ्नो क्षमताले भ्याएको जति प्रयास गर्दा पनि छोराको खबर नपाएपछि निराश भएका देवराज डिप्रेसनको सिकार भएका छन् । उनलाई मुटु, कलेजोको समस्याले समेत गाँजेको छ । डेढवर्ष अघि सवारी दुर्घटनाले दुवै खुट्टामा गहिरो चोट लागेका देवराजलाई ठमठम हिंड्न सक्दैनन् । देवराज मद्यपानको सहायतामा छोरा सबिनलाई भुल्ने प्रयत्न गर्छन् । उनको मद्यपान नै मञ्जुको थप पीडा बनेको छ ।


‘मेरो सहारा भनेको नै त्यही एउटा छोरा हो, अर्को सन्तान भएको भएपनि म चित्त बुझाउँथे होला,’ आँसु पुच्छै मञ्जुले भनिन्, ‘भगवानले हामीलाई साथ दिएर नै छोराको राम्रो भएको थियो, मैले अझै आशा मारेकी छैन ।’ बुबा, आमाको करले छोरा सेनामा भर्ति भएका हुन् । सबिन २०७२ को शिवरात्रिमा घरबाट निस्केका थिए । मञ्जुले छोरासँग अन्तिम पटक वैशाख ७ गते कुराकानी गरेकी थिइन् । ‘टावर ढलेको छ ममी, मेरो मोबाइल पनि बिग्रेको छ भन्थे,’ चार वर्षअघि छोरासँग भएको फोन संवाद सम्झिँदा उनको गला अवरुद्ध हुन्छ ।


भूकम्पले सबिनको घर भत्किएको छ । सेनाको सहयोगमा भग्नावशेष हटाएर जस्ताले बारबेर गर्दै बसोबास गरिहेका छन् । बाटोको समस्याले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न गर्न नसकेको बुबा देवराज बताउँछन् । ‘नक्सामा १८ फिटे बाटो छ, पटक/पटक बाटोको माग गर्दै नगरपालिका धायौं अझै ट्रयाक खोल्न सकेको छैन,’ उनले भने,‘सडक अभावकै कारण निर्माण सामग्री ओसारपसारमा समस्या छ ।’ ‘सबैको यस्तै हो, अरूका छोरा आएर हाम्रो उद्धार गरे, हाम्रो छोरा पनि कसैको उद्धारमा होला भन्ने ठानेर हामीले छोरालाई फोन पनि गरेनौं’ देवराज भने, ‘हामीले हाम्रो छोरा हराएको त १५ गतेमात्र थाहा पायौं ।’


छोराको पर्खाइमा मञ्जुले डोलेश्वर महादेव, अनन्तलिंगेश्वर महादेव मन्दिरमा करिब २ वर्ष अखण्ड दीप बालिन् । अहिले घरमै छोराको फोटो राखेर साँझ/बिहान दियोमा बत्ती बाल्छिन् ।


झस्किन्छिन् सविना

हेटौंडा (कास)– राति सुतेको अवस्थामा उनी सधैं आयो, आयो भनेर चिच्याउँदै उठ्छिन् । थुमथुमाएर आमाले सुताउने गर्छिन् । दिउँसै एक्लै हिँड्न पनि डराउँछिन् । कक्षाकोठामा पनि उनी बेला, बेलामा आत्तिएर रुने गर्छिन् । उनी सुस्तरी सोध्छिन्, ‘मलाई किन यस्तो हुन्छ ?’ महाभूकम्पले भत्केको घरले पुरेर २० घण्टापछि उद्धार गरिएकी थाहा नगरपालिका १२ मानडाँडाकी ११ वर्षीया सविना घलानलाई भूकम्पको त्रासले अहिले पनि छोडेको छैन ।


चञ्चले स्वभावकी घलान भूकम्पपछि एक्लै बस्न मन पराउँछिन् । धेरै बोल्दै बोल्दिनन् । बेलाबेलामा एक्कासि झस्किने गर्छिन् । आमा शान्तिमायालाई छोड्न चाहन्नन् । २० घण्टापश्चात् उद्धार गरेपछि उपचारको निम्ति उनलाई स्थानीय युवक अवतार लामाले काठमाडौं लगेका थिए । एक सातापछि उपचार गरेर उनलार्ई घर ल्याइएको थियो । उनको देब्रे हातको औंला दोब्रिएको थियो ।


देब्रे खुट्टाको कट्टी, टाउको र निधारमा ठूलो चोट लागेको थियो । निधार र टाउकोको घाउ निको भएर खत बसिसकेको छ भने देब्रे खुट्टाले राम्रोसँग टेक्न हुँदैन । बिस्तार हिँड्ने गरेकी छन् भने सानो स्वरमा आतिएको जसरी बोल्ने गर्छिन् । ‘घरले थिचेपछि छोरीको सातो नै गएको छ,’ आमा शान्तमायाले भनिन्, ‘कोहीसँग बोल्न मान्दिनँ, सधैं डराएको जस्तो देखिन्छे ।’


वैशाख १२ गतेको भूकम्पले छिमेकी कालु घलानको घर भत्केर उनलाई पुरेको थियो । घरको आँगनमा खेलिरहेको अवस्थामा घर भत्केर पुरेको हो । स्थानीय प्रशासनले घलानलाई मृतकको सूचीमा राखेको थियो । भत्केको घरमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयवासीले वैशाख १३ गते सावधानीपूर्वक भग्नावशेषहरू पन्छाएर उनको उद्धार गरेको थियो । आर्थिक अभावले गर्दा राम्रोसँग उपचार नपाएकाले बालिका ठमठम हिँड्न सक्दिनन् ।


काउन्सिलिङको अभावमा भूकम्पको त्रासले उनलाई छोडेकै छैन । देब्रे खुट्टाले टेक्न नसकेकाले सुरुमा दिदीले बोकेर उनलाई स्कुल लैजाने–ल्याउने गर्थिन् । विगत २ वर्षदेखि आफैं विस्तारै स्कुल आउजाउ गर्न थालेकी थिइन् । फेरि अहिले खुट्टाको घाउ बल्झेर उपचारका लागि उनलाई वैशाख २ गते काठमाडौं लगिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?