ऋण बोक्दै भूकम्पपीडित

अनिश तिवारी

सिन्धुपाल्चोक — नयाँ घरमा बस्ने हतारोमा लागेका भोटेकोसी गाउँपालिका लिस्तीकोट सिंगेरीका शुकवीर विक कसरी ऋण तिर्ने अन्योलमा छन् । सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन नसकेका उनलाई झ्यालसम्मको संरचनामा आइपुग्दासम्म ३४ प्रतिशत ऋणको ब्याजले लगातार थिच्दै गएको छ । 

‘घर त बनाउनु नै पर्‍यो तर अझै बाँकी ३ लाख ऋण कसरी तिर्ने आत्तिन थालेको छु,’ विकले बन्दै गरेको घर देखाएर दुःखेसो गरे । आवास अनुदानको पूरा किस्ता लिँदासमेत आवास बनाउन हम्मे परेको उनले सुनाए ।

भोटेकोसी–१ लिस्तीकोट पाउँगुम्बाका कामी शेर्पा छिमेकी र साहुबाट गरी सय कडा २ अर्थात् २४ प्रतिशत ब्याजको ऋण लिन बाध्य भए । ‘हामीजस्तालाई बैंक सहकारीले जग्गा धितो राख्दा पनि पत्याउँदैनन्, चर्को ब्याजमा ऋण नलिए घर कसरी बनाउनु ?,’ शेर्पाले प्रश्न गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिका थाङपालधापकी सुनीता तामाङ यस्तै मारमा परिरहेको सुनाउँछिन् । ‘सरकारले अनुदान दिएकै हो, तर हामीजस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै कामभएको छ,’ आवास सम्पन्नको तरखरमा रहेकी उनले घर देखाएर भनिन् । बैंकबाट जग्गा धितो राखेर र सापटी लिएर चारकोठे घर बनाउन झन्डै सात लाख खर्चिएको उनको भनाइ छ ।

जिल्लाका ग्रामीण भेगका अधिकांश भूकम्पपीडितले ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेको पाइएको गाउँमा पुगेका इन्जिनियर बताउँछन् । सरकारी मापदण्डको अन्योलताबीच चटारोमा रहेका भूकम्पपीडित महँगीको कारण क्रमशः ऋणमा डुबिरहेका छन् । ‘ऋण नपाउनुको समस्या एकतर्फछ, अर्को चर्को ब्याज र ऋणतिर्नुको मार । आवास पुनर्निर्माणमा यस्ता समस्या पनि देखिएका छन्,’ जिल्ला आयोजना कार्यान्वयनइकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने ।

त्यति बेला ध्वस्त आवास तीन नगरदेखि नौ गाउँपालिकाले सडक सञ्जालमा वडालाई जोडिदिएपछि अहिले पुनर्निर्माणले एकैसाथफड्को मारेको निरौलाले बताए । पहिरोको जोखिममा भएका केही स्थानबाहेक अन्यत्र पुनर्निर्माणले गति लिइरहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिचान गरिएका ८८ हजार दुई सय ४९ भूकम्पपीडितमा ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् । भने ७९ हजार ३ सय ३८ ले दोस्रो र ६१ हजार चार सय २५ जनाले तेस्रो किस्ता पाइसकेका छन् ।

तत्कालीन जिल्ला दैवीप्रकोप उद्धार समितिको अध्ययनले (९५ प्रतिशत) ६६ हजार घर भत्काएको देखाएको छ । भूकम्पले जिल्ला ध्वस्त बनाउँदा ३ हजार ५ सय ७० ले ज्यानगुमाएका थिए ।

छुटेको गुनासो संकलन हुँदै
अहिले ७ हजार ८ सय ९२ परिवारको गुनासोको सर्वेक्षणविवरण संकलन भइरहेको जिल्ला आयोजना कार्यान्वय इकाई भवनले जनाएको छ ।

‘प्रत्येक नगर र गाउँपालिकामा तीन प्राविधिक इन्जिनियर खट्दै छन्,’ उनले भने । तीन नगरदेखि नौ गाउँपालिकाको प्रत्येक वडास्तरीय गुनासो सुनुवाइ समितिसँग समन्वय गरेर गुनासो जम्मा गरिरहेको उनको भनाइ छ । बजारभन्दा गाउँ क्षेत्रमा भूकम्पपीडितले ऋण गरेर भए पनि आवास ठड्याइसकेको पाइएको अनुगमनमा पुगेका प्राविधिकबताएका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

रानीपोखरीमा डोजर

पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धताविपरीत डोजर चलाइएपछि सम्पदा संरक्षण अभियन्ताको आपत्ति 
दामोदर न्यौपाने

काठमाडौँ — ‘मान्छेले गर्दा ढिलो हुने भएर’ रानीपोखरीभित्र डोजर पसेको छ । भूकम्पको चार वर्षपछि बल्लतल्ल बनाउन लागिएको काठमाडौंको मुटु सम्पदास्थलमा ढ्याङ्ग्रो ठोक्ने गरी डोजर पसेपछि सम्पदा संरक्षणकर्मी आत्तिएका छन् ।

पुनर्निर्माणका क्रममा रानीपोखरीमा डोजर चलाइँदै । तस्बिर : दामोदर/कान्तिपुर

राष्ट्रिय पुननिर्माण प्राधिकरणले डोजर प्रयोग नगर्ने र रानीपोखरी जस्ताको तस्तै बनाउने प्रतिबद्धता गत माघमा गरेर पुनर्निमाणको जिम्मा लिएको थियो । प्राधिकरणमा भएको विज्ञ सम्मिलित बैठकमा डोजर नछिराउने सहमति भएको त्यसमा सहभागी पुरातत्त्वविद् विष्णुबहादुर कार्कीले बताए । ‘डोजर प्रयोग गरेको हो भने गलतभयो,’ उनी भन्छन्, ‘गर्नै नहुने काम भयो ।’

प्राधिकरणका कार्यकारी सदस्य तथा रानीपोखरी पुनर्निर्माण सहजीकरण समितिका संयोजक चन्द्र श्रेष्ठले ‘मान्छेले गर्दा ढिला हुने भएर, सजिलोका लागि’ डोजर छिराएको जानकारी दिए । ‘मेरो संयोजकत्वमा महानगरका ३ वटा वडाका अध्यक्ष, विज्ञ गरी ५ जनाको प्राविधिक समिति छ,’ उनले भने, ‘समितिमाछलफल गरेरै डोजर छिराएको हो ।’

डोजर चलाउँदा सम्पदा बिग्रँदैन भन्ने प्रश्न गर्दा उनले कान्तिपुरसँग भने, ‘हलका औजार छिराएको हो, प्रविधि आधुनिक प्रयोग गरे पनि शैली परम्परागत नै हुन्छ ।’ यसअघि प्राधिकरणले भक्तपुरदेखि श्रमिक ल्याएर पोखरी सम्याउन थालेको थयो । सम्पदा संरक्षणकर्मीहरूले डोजर चलाएपछि अब पोखरीको ‘सांस्कृतिक तह खल्बलिने’ चिन्ता जनाएका छन् ।

पुनर्निर्माणका लागि सुझाव दिन गठित विज्ञ समितिले पहिला रानीपोखरी उत्खनन् गर्दा यहाँ ६ वटा तह भेटेको थियो जसलाई ‘सांस्कृतिक तह’ भनिन्छ । डोजरले त्यो तह मास्ने सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् ।
तुलाधरका अनुसार जति पुरानो हुँदै गयो उति तह बन्दै जान्छ ।

यी तहमा प्रत्येक समयको संस्कृति झल्कन्छ । हरेक सांस्कृतिक तहमा हरेक कालखण्डका केही न केही अवशेष भेटिन सक्छन् । उदाहरणको लागि सबैभन्दा माथिल्लो तह शाहकालीन अवशेष हुन सक्छ । शाहकालमा चाउचाउ, बिस्कुट लगायतका खोल भेटिएलान् । त्यो तह पारगरेपछि मल्लकालतिर पुगिएला ।

मल्लकालमा सिक्का हुन सक्छन् । मान्छेले प्रयोग गरेका सामान हुन सक्लान् । त्यहाँभन्दा तल गएपछि लिच्छविकालीन तह हुन सक्छ । त्यो तहमा लिच्छविकालका सिक्का हुन सक्लान् । अभिलेख भेटिएलान् । दरबारको अवशेष भेटिएलान् । प्रत्येक सांस्कृतिक तहको रेकर्डिङ गर्नुपर्छ ।

‘यो किताबको पाना पल्टाएजस्तै हो । सांस्कृतिक तह बिग्रियो भने कुन कालखण्डको हो भनेर विश्लेषण गर्न कठिन हुन्छ,’ उनी भन्छन् । यसअघि रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट प्रयोग गरेको थियो । पोखरीभित्र र वरिपरि लगाएको कंक्रिटका पर्खाल अझै भत्काएको छैन ।

रानीपोखरीमा पुरातात्त्विक मापदण्डविपरीत काम भएपछि सम्पदा संरक्षणकर्मीहरूले आन्दोलन थालेका थिए । महानगर र पुरातत्त्व विभागबीच पनि विवाद भएपछि प्राधिकरणले बनाउने जिम्मेवारी लिएको थियो । प्राधिकरणले पनि सावधानीपूर्वक काम गर्न नसकेको संरक्षण अभियन्तालेख्याल गर्न थालेका छन् ।

प्राचीन प्रविधिबाट पानी तानेर पोखरी भर्न भक्तपुरदेखि झिकाइएका प्राविधिकले काम जारी राखेका छन् । प्राधिकरणले उपभोक्ता समितिमार्फत ज्यालामा काम लगाएको छ । प्राचीन प्रविधिबाट पोखरी नभरिए वरिपरि बोरिङ गरेर तान्ने प्राधिकरणको योजना छ ।

पुरातत्त्वविद् सुदर्शन तिवारीका अनुसार रानीपोखरीको डिलमा कालोमाटो प्रयोग भएको छ । त्यो पानी अड्याउन राखिएको हो । ‘पोखरीको वालको एकातिर माटो, अर्कोतिर पानी हुन्छ,’ उनी भन्छन्,’ यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो । आधुनिक निर्माण सामग्री राखियो । संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए प्राचीन प्रविधि, प्राचीन निर्माण सामग्री भए प्राचीन निर्माण सामग्री र प्राचीन आकारको भएप्राचीन आकारमै बनाउनुपर्छ ।’

प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको भएकाले पोखरीमा पानी आउने इशान (उत्तरपूर्व) र पानी बाहिर जान आग्नेय (दक्षिण–पूर्व) दिशामा इनार हुनुपर्ने उनको अनुमान छ ।पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

‘पानी पानी मात्रै होइन, हाम्रो जीवनशैली हो । पोखरी पानी थुनेर राखिएको संरचना मात्रै होइन,’ सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘त्यसको गहिराइमा पुग्न नसक्दा पहिला महानगरका मेयरले समस्या झेल्नुपर्‍यो । अहिले पनि त्यहीभए हामी फेरि आन्दोलित हुन्छौँ ।’

रानीपोखरी बनाउँदा यसका अमूर्त पाटोलाई ध्यान नदिए फेरि आन्दोलनमा उत्रने चेतावनी श्रेष्ठले दिए । ‘रानीपोखरीमा गर्नै पर्ने केहीधार्मिक र सांस्कृतिक विधि छन् । ति विधि असम्भव छैनन् तर अफ्ठेरा छन्,’ श्रेष्ठ भन्छन्, ‘रानीपोखरीसँग जोडिएको संस्कृति कायम राख्न प्राधिकरणले के गर्छ हामी हेर्दै छौँ ।’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्,‘प्रताप मल्लले जसरी बनाएका थिए, त्यही शैलीमै बनाउँछौं ।’

प्रकाशित : वैशाख १३, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्