१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गाउँपालिका बन्यो अभिभावक

प्रताप विष्ट

हेटौंडा — गरिबीका कारणले स्कुलमा भर्ना गर्न नसक्ने बालबालिकाको अभिभावक गाउँपालिका बन्ने निर्णय मकवानपुरको दुर्गम एक गाउँपालिकाले गरेको छ । चेपांग बस्ती रहेको उक्त गाउँपालिकाले मंगलबारदेखि विद्यार्थी भर्ना अभियानअन्तर्गत उक्त निर्णय गरेको हो । 

गाउँपालिका बन्यो अभिभावक

‘आर्थिक कारणले पढ्न नसकेका बालबालिकालाई गाउँपालिकाले पढाइदिनेछ,’ गापा अध्यक्ष राजकुमार मल्लले भने, ‘छोराछोरीलाई स्कुल भर्ना पनि नगर्ने र गरिबीको कारणले पढाउन सकिन भनेर गापालाई पनि जानकारी नदिने अभिभावकलाई गाउँपालिकाका सेवासुविधा वञ्चित गराउनेछौं ।’


राक्सिराङ गाउँपालिकाले भर्ना अभियान औपचारिक रूपमा सुरु गरेको हो । ‘राक्सिराङको अपेक्षा सबैमा पुर्‍याऔं शिक्षा’ भन्ने मूल नाराका साथ गाउँपालिका ६ सिलिङेस्थित राष्ट्रिय माविबाट भर्ना अभियान सुरु गरेको हो । अध्यक्ष मल्लको उपस्थितिमा उक्त क्षेत्रमा पर्ने ६,७ र ८ नम्बर गरी तीनवटा वडाका वडाध्यक्ष, १६ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक संयुक्त भेलाले गाउँमा पढ्ने उमेरका शतप्रतिशत बालबालिकालाई स्कुल भर्ना गराउने निर्णय गरेका छन् ।


आफ्नो क्षेत्रमा पर्ने बस्तीका घर/घरमा शिक्षक र व्यवस्थापन समिति एवं गाउँका अगुवाहरू पुगेर भर्ना अभियानका लागि घरदैलो गर्ने निर्णय गरेका छन् । सिलिङेमा मंगलबार पढने उमेरका बालबालिकालाई स्कुलमा भर्ना गराऔं भन्दै र्‍याली गरिएको थियो ।


खाद्य असुरक्षा रहेको उक्त गाउँपालिकाको ६,७ र ८ नम्बर वडाका रहेका १६ वटा स्कुलका विद्यार्थीलाई विगत ६ वर्षदेखि दिगो विकासका लागि एकता नेपालले दिवा खाजा उपलब्ध गराउँदै आएको छ । दिवा खाजाको प्रभाव यस क्षेत्रमा सकारात्मक ढंगले परेको सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडीले बताए । दिवा खाजाका कारण भर्ना दर बढेर ‘ड्रप आउट’ रोकिँदै गएको छ ।’


ती वडा चेपाङ समुदायको बाहुल्य वडा हुन् । सिलिङेबाट सुरु अभियान राक्सिराङ गापाको खैराङ, सरिखेत, राक्सिराङमा सञ्चालन गरिनेछ ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?