कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

उत्कृष्ट सामुदायिकमा हानथाप

अनिश तिवारी

सिन्धुपाल्चोक — इलामका विधाता किरण राई उत्कृष्ट शिक्षाका लागि मेलम्चीघ्याङ गाउँ आइपुगेका छन् । कक्षा ७ मा भर्ना हुन् आएका राई खुबै उत्साहित देखिन्थ्ये । गुणस्तरीय शिक्षा पाउन मेलम्चीघ्याङ पुगेका उनलाई विकट हिमाली गाउँको सिरेटोले रत्तिभर छोएको छैन । 

उत्कृष्ट सामुदायिकमा हानथाप

६ मा भर्ना गरिसकेका काठमाडौं बासी अटोपांग राई दुई साथीसँगै भर्ना भइसकेपछि हिमाली परिवेशको दृश्यको आनन्द लिँदै थिए । काभ्रेका विश्लेषण कोइराला अध्ययनअघिको परीक्षाको तैयारीमा जुटिरहेका छन् ।


सिराहबाट हतारमा आएका सुमितकुमार कक्षा ८ मा भर्ना भएपछि ढुक्क देखिए । उनीसँगै नुवाकोटका सुजन तामाङ ,सन्देश जिल्लाकै नमुना मेलम्चीघ्याङ माध्यमिक विद्यालयमा भर्ना गरिसकेपछि ‘इन्ट्रास’ परीक्षाको तयारीमा छन् ।

काभ्रे, धनुषा, झापा, रसुवा, सिराहादेखि राजधानीसम्मका धेरै बालबालिका हिमाली भेगस्थित मेलम्चीघ्याङ माविमा अध्ययन गर्नको लागि मरिमेट्ने गर्छन् ।


जिल्लाभर अभियानको लहर चलेसँगै शिक्षामा उत्कृष्ट यस विद्यालयमा बाहिरी र सिन्धुपाल्चोकै बालबालिकाको भर्ना गर्नेको तँछाडमछाड चल्छ । ‘हालसम्म नयाँमा ७० जनाले भर्ना गरेका छन्, दिनहुँ बढ्दै छन्,’ मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्णप्रसाद गौतम भन्छन्, ‘अभिभावकवर्गले विश्वास गर्नुभएकाले यस्तो भइरहेको छ ।’ ३ देखि नौसम्म ९८ ले ‘इन्ट्रास’ परीक्षा दिइरहेको उनले सुनाए ।


पठनपाठनमा चर्चित मेलम्चीघ्याङमा १७ शिक्षकद्वारा अध्यापन गराइँदै आएको छ । ‘तीनदेखि नौ कक्षासम्म ‘इन्ट्रास’ परीक्षा चल्छ, यसकै आधारमा भर्ना समितिले कक्षा फिक्स गर्छ,’ उनले भने । २७ वर्षअघि हेलम्बु गाउँपालिकाअन्तर्गतको मेलम्चीघ्याङ गाउँमा निर्माण गरिएको मेलम्चीघ्याङ माविमा ३ सय १० बालबालिका अध्ययनरत छन् ।


ईसीसीडीदेखि १० सम्म चलेको यस विद्यालयमा अघिल्लो वर्ष ८० जनाले भर्ना गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकास्थित श्रीकृष्णरत्न गंगा माध्यमिक विद्यालयमा भर्ना गर्नेको लर्को बढिरहेको छ । व्यवस्थापन एकदमै सकारात्मक बनाइएकाले यहाँ भर्ना बढिरहेको प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले बताए । ‘दिनकै जस्तो भर्ना गर्ने बढिरहेकाले यस वर्ष धेरै बालबालिका हुनेछन्,’ उनले भने ।


जिल्लाकै जेठो विद्यालय कृष्णरत्न गंगा माविमा शैक्षिक उन्नतिको अवस्था देखेर बालबालिका भर्ना गराउन आउने बढेको उनको भनाइ छ । ईसीसीडीदेखि १२ कक्षासम्म चलिरहेको यस विद्यालयमा १ हजार ४ सय बालबालिका पढिरहेका छन् । शिशु कक्षामा भर्ना गर्न आउने बढेका छन्, जसले धेरै ‘सेक्सन’ छुट्ट्याउनुपर्ने अवस्था देखिएको छ । एक कक्षामा २० या २२ हुनेबित्तिकै अलग्गै कक्षा बनाएर अध्यापन गराउने उनले प्रस्ट्याए ।


शिक्षामा अग्रिण अब्बल सामुदायिक विद्यालयमा भर्ना गर्नेको ओइरो लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गौरीशंकर पाण्डे सुनाउँछन् । ‘निजीभन्दा दिग्गज मानिएका सामुदायिक विद्यालयमा भर्ना गर्नको लागि हिजोआज चटारो नै चल्ने गर्छ,’ उनले भने, ‘नमुना मेलम्चीघ्याङ, जेष्ठ कृष्णरत्नगंगा माविजस्ता शैक्षिक अगुवा विद्यालयले भर्ना अभियानलाई व्यापक बनाइरहेको छ ।’ उनले यस्ता लोभलाग्दो सामुदायिक विद्यालयबाट भर्ना अभियानलाई भरपर्दो बनाएर लगिरहेको जनाए ।


पहिलो पटक २०६३ सालमा एसएलसीमा सहभागी भएदेखि विशिष्टसहित शतप्रतिशत नतिजा ल्याइरहेको मेलम्चीघ्याङले भर्नालाई बलियो बनाएको उनको कथन छ । गत सालभर गरेको सर्वेक्षणअनुसार विद्यालयबाहिर रहेका ६ सय ४६ बालबालिकालाई भित्र्याउने र जिल्लाभरका झन्डै ८३ हजारलाई भर्ना गराउने लक्ष्य राखिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?