१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खानेपानीकै जोहोमा जान्छ दिन

इन्द्रावतीका गृहिणी डेढ घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् । भूकम्पपछि मूल सुक्दै जाने क्रम बढेको छ
अनिश तिवारी

सिन्धुपाल्चोक — एक गाग्री पानी थाप्न दिनभर लाइन बस्नुपर्ने पिरले इन्द्रावती गाउँपालिका- ८ ज्यामिरे मानेकी देवमाया तामाङ दिक्क छिन् । पानी भर्नको लागि बिहान चारै बजेदेखि बेलुकीसम्म समय मिलाएर आउनुपर्ने उनको आधा दैनिकी पानी भरेर बित्ने गर्छ । 

खानेपानीकै जोहोमा जान्छ दिन

'कति कुर्नु हजुर, यहाँ त पालो पाउनै हानथाप गर्नुपर्छ, पानीको अभावले कहिल्यै छोडेन्,' पानी लिन दुई घण्टादेखि लाइनमा बसेकी उनले गुनासो पोखिन् । पानी बोक्न डेढ घण्टा हिडेर आएकी तामाङले दुई गाग्री पानी जसरी पनि घर लैजानुपर्ने आवश्यकता सुनाइन । 'दिन नै बित्ने भयो', उनले भनिन् ।


'पानी घर नलगे सुख पाइदैन्, लाइन नबसे पालो नै पाइँदैन्,' उनले थपिन् । टन्टलापुर घाम र कच्ची सडकमा उडिरहेको छारो सहँदै खानेपानी थाप्न लाइन बसिरहेकी ज्यामिरेडाँडाकी सुनमाया तामाङ पसिना पुस्दै थिइन् । 'पानी लिन भनेर घरबाटै हतार गरेर आएको हो, भाडोले भरिसकेछन्,' उनले भनिन् ।


खानेपानी थाप्न भनेर समय मिलाएर आए पनि पालो पाउन एकदमै गाह्रो हुने् उनको कथन छ । इन्द्रावतीको वडा ८ ज्यामिरे मानेको चोक र बजारको बस्तीबीच गरी पानीको स्रोतको नाममा दुईवटा धारा छन् । दुईवटा धाराको ट्यांकीमा जम्मा भएको पानी उपभोग गरिरहेका स्थानीयले पानीकै लागि भनाभन गर्नुपर्ने अवस्था छ ।


भूकम्पपछि इन्द्रावती - ८ ,९ को विभिन्न स्थानमा वरिपरिको मूल सुक्न थालेपछि पानीको समस्या झनै चर्किएको छ । इन्द्रावती गाउँपालिका—८ ज्यामिरे मानेदेखि कुञ्चोक जौडाँडामा एउटै धाराको भर पर्नुपर्ने बाध्यता रहेको ज्यामिरेडाडाका स्थानीय केदारनाथ आचार्यले वताए । इन्द्रावती—६ स्थित पोखरी खेत मुहानमा पानीको स्रोत फेला पारेपछि सुरुवातमा स्थानीय आफैं जुटेर चन्दा संकलन गरेर पानी ल्याएका थिए ।


कुनै स्थानमा पनि पानीको स्रोत फेला नपरेपछि खानेपानी समस्या भएको गुनासो आइरहेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए । 'यो समस्याबारे हामी जानकार छौं, केन्द्रदेखि स्थानीयबाट खानेपानीको कार्यक्रम आएका छन्,यसबारे पहल भइरहेको छ,' उनले भने ।


स्थानीय स्तरबाट बृहत् खानेपानीको कार्यक्रम ल्याएर यहाँको समस्या समाधान गर्ने पहलकदमी लिइरहेको उनले दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?