उपचार खर्च नहुँदा अस्पतालमा अलपत्र

टीकाप्रसाद भट्ट

रामेछाप — आगोमा परी घाइते भएका रामेछापको लिखु तामाकोसी गाउँपालिका ३ काङ्गवाका ६६ वर्षीय कृष्णबहादुर खत्री खर्च अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन् । उनलाई अस्पतालमा भर्ना गरिए पनि उपचार खर्च जुटाउन नसक्दा शल्यक्रिया हुन सकेको छैन । 

उपचार खर्च नहुँदा अस्पतालमा अलपत्र

नौ दिनअघि उपचारका लागि खत्रीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । बेहोस अवस्थामा अस्पताल पुर्‍याएका खत्री खतरामुक्त भए पनि शल्यक्रियामार्फत तत्काल उपचार नगरे समस्या बढेर जाने चिकित्सकले सल्लाह दिएका छन् । तर शल्यक्रियाका लागि पैसा नहुँदा २ दिनदेखि खत्री अस्पतालमा अलपत्र छन् ।

छोरा ज्ञानबहादुर खत्रीका अनुसार भएको ५० हजार रुपैयाँ सकिएको छ । 'अब मसँग खाना किनेर खाने पैसासमेत छैन' खत्रीले टेलिफोनमा भने- 'बाबुको उपचार कसो गरी गराउँ । अस्पतालले शल्यक्रियाका लागि ६० हजार रुपैयाँ लाग्ने जनाएको छ ।' २ दिनदेखि ओटिमा पुर्‍याउँदै फर्काउँदै गरेका खत्रीको अवस्था अझ विग्रँदै गएको छ ।

राति घरमा सुतिरहेका खत्री अँगेनामा परेका थिए । छोपुवा व्यथा भएका उनी कतिबेला अँगेनामा परे कसैलाई थाहा छैन । कान नसुन्ने श्रीमतीले बिहान उठेर हेर्दा उनी अँगेनामै बेहोस अवस्थामा थिए । देखेपछि आसपासका दाजुभाइलाई बोलाएर अँगेनाबाट निकालेर एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको थियो ।

घाइतेका एकमात्र छोरा ज्ञानबहादुर काठमाडौंको एउटा सामान्य होटलमा मजदूरी काम गर्छन् । परिवार पाल्नु पर्ने खर्च जुटाउँदै उनको कमाई सकिन्छ । 'कमाएको पैसा बचत गर्न सकेको थिइन्' खत्री भन्छन्, 'यही बेला बुवालाई यस्तो भयो ।' उनले आफन्त र दाजुभाइ सबै गुहार्दा पनि कतैबाट पैसा नजुटेको बताए । 'मैले भन्ने ठाउँ कही बाँकी राखेको छैन' खत्री भन्छन्- 'तर, सहयोग कतैबाट नहुँदा बाबु छट्पटिनु परेको छ ।'


'बाबु पोलिएर बिरामी परे, म चिन्ताले' खत्री भन्छन्- 'गरिब बिरामी पर्दा त्यसै मर्नुपर्ने रहेछ ।'

प्रकाशित : वैशाख २०, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?