लामोसाँघु-चरिकोट सडक कालोपत्रे

अनिश तिवारी

सिन्धुपाल्चोक — लामोसाँघु चरिकोट खण्ड (तामाकोसी जिरी सडक योजना) अन्तर्गतको २५ किमिमा कालोपत्रे थालिएको छ । खाडीचौरदेखि मुडेको जिम्मा लिएको गौरी पार्वती कन्स्ट्रक्सनले शुक्रबारबाट धमाधम कालोपत्रेको गरेको हो । 

सिन्धुपाल्चोकको लामोसाँघु तामाकोसी जिरी सडक योजनाअन्तर्गतको खाडीचौर मुडे खण्ड  कालोपत्रे हुँदै । तस्बिर : अनिश/कान्तिपुर

'गौरीपार्वती सुनौलो खिम्ती जे भीले काम छाडेदेखि अहिलेसम्मको ८ करोड भुक्तानी नपाए पनि कालोपत्रे भने थालेका छांै,' गौरी पार्वती कन्स्ट्रक्सनका साइट इन्चार्ज लोकबहादुर श्रेष्ठले भने । स्तरोन्नति प्राविधिकदेख कच्चा पदार्थको व्यवस्था गरिसकेको सुनाउँदै उनले असारसम्मकम कालोपत्रे सक्ने लक्ष्य सुनाए ।

गौरीपार्वती सुनौलो खिम्ती जेभीले समयमा काम नसकेर छाडेलगत्तै गौरी पार्वतीले जिम्मा लिएपछि कामले गति पाएको थियो । 'आजसम्म कुनै पनि बिलको भुक्तानी पाएका छैनौं, यस्तो अवस्थामा काम गर्न गाह्रो भइरहेको छ,' उनले भने । भ्याटसहित ५२ करोड बराबरको लागतमा हुन लागेको सडकको कामको भुक्तानी सम्बन्धित निकायले अनेक बहानामा अडाएको ठेकेदार पक्षको गुनासो छ । लामोसाँघु-चरिकोट खण्डको खाडीचौरमाथि साढे १८ किमि सडकमा बेसको काम सकिएको छ ।

खाडीचौरदेखि १२ किलोसम्म सबबेस, १७ किलोसम्म सब ग्रेड र १८ किलोसम्म स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ । खाडीचौर तल्लो प्याकेजसम्म निर्माण पक्षले काम नसच्याएकाले भुक्तानी रोकिएको चरिकोट सडक डिभिजन प्रमुख धमेन्द्र झाले बताए ।

'त्यस खण्डको सुधार गर्न सुझाएका छौं, बिल रोकिएको म्याद थप नभएर हो, प्रक्रियामा छ,' उनले भने । मौसमले केही समस्या बनाउने देखिए पनि सडक निर्माणमा कालोपत्रे गर्न जुटिरहेको निर्माण पक्षले कामलाई तीव्रता दिएको उनको कथन छ । वैशाख २२ देखि जेठ ५ गतेसम्म सवारी आवागमन बन्द गर्ने सूचना जारी भइसकेको उनले बताए ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकार सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित खाडीचौरबाट दोलखासम्म जोड्ने ५५ किमिमा फराकिलो बनाउने काम भइसकेको छ । भारतको एक्जिम बैंकको सहयोगमा बनिरहेको सडकको खाडीचौर मुडे २५ किमि सडक भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी-पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले लिएको छ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानीकै जोहोमा जान्छ दिन

इन्द्रावतीका गृहिणी डेढ घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् । भूकम्पपछि मूल सुक्दै जाने क्रम बढेको छ
अनिश तिवारी

सिन्धुपाल्चोक — एक गाग्री पानी थाप्न दिनभर लाइन बस्नुपर्ने पिरले इन्द्रावती गाउँपालिका- ८ ज्यामिरे मानेकी देवमाया तामाङ दिक्क छिन् । पानी भर्नको लागि बिहान चारै बजेदेखि बेलुकीसम्म समय मिलाएर आउनुपर्ने उनको आधा दैनिकी पानी भरेर बित्ने गर्छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे मानेका महिला पालो कुरेर पानी थाप्दै । तस्बिर : अनिश/कान्तिपुर 

'कति कुर्नु हजुर, यहाँ त पालो पाउनै हानथाप गर्नुपर्छ, पानीको अभावले कहिल्यै छोडेन्,' पानी लिन दुई घण्टादेखि लाइनमा बसेकी उनले गुनासो पोखिन् । पानी बोक्न डेढ घण्टा हिडेर आएकी तामाङले दुई गाग्री पानी जसरी पनि घर लैजानुपर्ने आवश्यकता सुनाइन । 'दिन नै बित्ने भयो', उनले भनिन् ।

'पानी घर नलगे सुख पाइदैन्, लाइन नबसे पालो नै पाइँदैन्,' उनले थपिन् । टन्टलापुर घाम र कच्ची सडकमा उडिरहेको छारो सहँदै खानेपानी थाप्न लाइन बसिरहेकी ज्यामिरेडाँडाकी सुनमाया तामाङ पसिना पुस्दै थिइन् । 'पानी लिन भनेर घरबाटै हतार गरेर आएको हो, भाडोले भरिसकेछन्,'उनले भनिन् ।

खानेपानी थाप्न भनेर समय मिलाएर आए पनि पालो पाउन एकदमै गाह्रो हुने् उनको कथन छ ।इन्द्रावतीको वडा ८ ज्यामिरे मानेको चोक र बजारको बस्तीबीच गरी पानीको स्रोतको नाममा दुईवटा धारा छन् । दुईवटा धाराको ट्यांकीमा जम्मा भएको पानी उपभोग गरिरहेका स्थानीयले पानीकै लागि भनाभन गर्नुपर्ने अवस्था छ ।

भूकम्पपछि इन्द्रावती - ८ ,९ को विभिन्न स्थानमा वरिपरिको मूल सुक्न थालेपछि पानीको समस्या झनै चर्किएको छ । इन्द्रावती गाउँपालिका—८ ज्यामिरे मानेदेखि कुञ्चोक जौडाँडामा एउटै धाराको भर पर्नुपर्ने बाध्यता रहेको ज्यामिरेडाडाका स्थानीय केदारनाथ आचार्यले वताए । इन्द्रावती—६ स्थित पोखरी खेत मुहानमा पानीको स्रोत फेला पारेपछि सुरुवातमा स्थानीय आफैं जुटेर चन्दा संकलन गरेर पानी ल्याएका थिए ।

कुनै स्थानमा पनि पानीको स्रोत फेला नपरेपछि खानेपानी समस्या भएको गुनासो आइरहेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए । 'यो समस्याबारे हामी जानकार छौं, केन्द्रदेखि स्थानीयबाट खानेपानीको कार्यक्रम आएका छन्,यसबारे पहल भइरहेको छ,'उनले भने ।

स्थानीय स्तरबाट बृहत् खानेपानीको कार्यक्रम ल्याएर यहाँको समस्या समाधान गर्ने पहलकदमी लिइरहेको उनले दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT