गलत रगतले बालिका गम्भीर

फातिमा बानु

काठमाडौँ — बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो ।

प्रतिकात्मक तस्बिर ।

मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह 'ओ' पोजिटिभ छ । रगत चढाइएको रिपोर्टमा भने 'ए' पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।

अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको आफन्तको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनिती गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनसबीच विवाद भइरहेको छ । अस्पतालले बालिकाको रगत समूह 'ए' पोजिटिभ नै थियो भन्ने जबर्जस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीनवटा रिपोर्टमा केरकार गरी आफंैले लेखेको 'ओ' पोजिटिभको ठाउँमा 'ए' पोजिटिभ बनाएको भेटिएको छ ।

बालिकालाई शल्यक्रियामा लगिनुअघि बिरामीका आफन्तसँग लिइएको सहमतिमा डा. ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतमले शल्यक्रिया गर्ने उल्लेख छ । अस्पतालका निर्देशक समेत रहेका डा. शर्माले भने शल्यक्रियामा आफू संलग्न नभएको बताए ।

'यो घटनाबारे मलाई धेरै थाहा छैन, अस्पतालमा छानबिन समिति बनाएर अनुसन्धान गराउनेछु,' उनले भने, 'अनुसन्धानपछि जसबाट गल्ती भएको छ, उसलाई कारबाही गरिनेछ । बच्चाको शल्यक्रिया नै जटिल थियो । ओपन हर्ट सर्जरी जटिल नै हुन्छ । हामीले बचाउने कोसिस गरिरहेका छौं ।' उनका अनुसार बालिकाकोअहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालले बालिकाको अवस्था बुझ्न नसघाएको भन्दै आफन्त भने घरि प्रहरी कार्यालय पुग्ने घरि मानव अधिकार आयोग धाउने गरिरहेका छन् ।

'अपरेसन गर्दागर्दै बच्चालाई जसरी पनि फ्रेस रगत चाहियो भनेर डाक्टर निस्किए । ए पोजिटिभ ग्रुपको जो छ, रगत दिइहाल्नुस् भनेपछि हामी यही ग्रुपका साथी खोजेर रगत दिन लगायौं,' बालिकाका बुबा रामप्रवेश साहले भने, 'पढेको छैन, छोरीको रगत समूहबारे राम्ररी बुझेको थिइन । राम्ररी नेपाली बोल्न पनि आउँदैन । डाक्टरले जुन रगत मगाउनुभयो, मैले त्यही जुटाएँ ।'

शल्यक्रिया गर्नुअघि बेहोस गराउँदाको (एनेस्थेसिया) रिपोर्टमा पनि बालिकाको रक्तसमूह 'ओ' पोजिटिभ नै उल्लेख छ । अस्पतालको प्रयोगशालमा लिइएको रिपोर्टमा पनि उही रक्तसमूह टिपिएको छ । 'यति धेरै रेर्कड हुँदाहुँदै पनि बच्चालाई गलत रगत चढाइदिए, यो सरासर लापरबाही हो,' आफन्त सुरेन्द्र साहले भने, 'बच्चाको अवस्थाबारे पनि हामीलाई केही भनेका छैनन् ।'

रगतरोग विशेषज्ञ डा.अमित श्रेष्ठका अनुसार शरीरमा नमिल्ने समूहको रगत हाल्दा बिरामीको ज्यान जोखिममा पर्न सक्छ । 'शरीरमा संक्रमण हुन्छ, मिर्गौला फेल हुने सम्भावना उच्च हुन्छ,' उनले भने, 'सक्दो छिटो व्यवस्थापन गर्न सके मात्र बिरामीको ज्यान जोगाउन सकिन्छ ।'

शल्यक्रिया गर्नुअघिको प्रयोगशाला रिपोर्टअनुसार बालिकाको रगतमा 'प्लेटलेट्स' को मात्रा ३ लाख १ हजार ३३ सय छ । 'प्लेटलेट्स' मानिसको शरीरमा रगतसँगै बग्ने कोषिका हुन् । रगतमा यस्ता कोषिकाको मात्रा ५ लाखभन्दा माथि भएमा जटिल मानिन्छ ।

शल्यक्रियापछि बालिकाको रगतमा 'प्लेटलेट्स'को मात्रा बढेर ७ लाख पुगेको छ । रक्तरोग विशेषज्ञ सुधीर सापकोटाका अनुसार रगतमा 'प्लेटलेट्स'को मात्रा ६ लाखभन्दा बढी भए रगत जम्ने, रगतका नली बन्द हुने सस्मया देखिन्छ । उनी भन्छन्, 'हृदयाघात भएर बिरामीको मृत्यु पनि हुन सक्ने जोखिम हुन्छ ।'

शल्यक्रिया गर्नुअघि बालिकाको मिर्गौला परीक्षणको रिपोर्ट सामान्य छ । रिपोर्टअनुसार बालिकाको मिर्गाैलामा 'क्रेटिनिन' लेभल ० दशमलब ३ छ ।

मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार 'क्रेटिनिन' लेभल १ दशमलब ४ भन्दा माथि गएमा मिर्गौलाले काम गर्न छाड्छ । शल्यक्रियापछिको बालिकाको मिर्गौला परीक्षण रिपोर्टमा 'क्रेटिनिन' लेभल ४ दशमलब २ छ । डा.काफ्ले भन्छन्, 'रगत चढाउँदा या मुटुजस्ता मुख्य अगंको शल्यक्रिया गर्दा अस्थायी रूपमा पनि मिर्गौला फेल हुनसक्छ, मिर्गाैलाले फेरि काम गर्ने सक्ने पनि हुन्छ ।'

प्रकाशित : वैशाख २३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

उपकरण विग्रिँदा वीरको बिजोग

बिरामीको चाप, प्राविधिकको अभाव र कमसिनको खेलमा देशकै ठूलो अस्पताल रुमलिँदा बिरामीलाई सास्ती 
फातिमा बानु

काठमाडौँ — वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् ।


अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरू निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् ।

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिगि्रएको एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान, घाँटी विभाग पनि प्रभावित छ । शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने माइक्रोसकोप उपकरण बिग्रँदा आएजति बिरामीले सेवा पाउन सकिरहेका छैनन् । विभागमा पहिले २ माइक्रोसकोप थिए । एउटा बिग्रेर काम नलाग्ने भएपछि बिरामीले निजी निजी अस्पतालबाट सेवा लिन बाध्य भएका छन् ।

वीरमा २ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा ३० देखि ४० हजार रुपैयाँ तिरेर शल्यक्रिया गराउने गरेको बिरामी बताउँछन् । निजीको खर्च व्यहोर्न नसक्ने बिरामी एक वर्ष कुरेर वीर अस्पतालबाटै सेवा लिने गरेका छन् । अहिले यो विभागमा कानको शल्यक्रियाकै लागि तीन सय बिरामी लाइनमा छन् । उपकरण मर्मत हुन सकेमा अहिलेभन्दा चार गुणा बढी शल्यक्रिया गर्न सकिने विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले बताए ।

महिलाको स्तन क्यान्सर पहिचान गर्ने उपकरण मेमोग्राम पनि वर्षौंदेखि बिगि्रएर थन्केको छ । यो सेवाको दैनिक आउने १५ देखि सेवाग्राही उपचारबिना फर्किन बाध्य छन् । रेडियोलजी विभागको स्पेसल एक्सरे उपकरण -फ्लुरोस्कोपी) २ वर्षदेखि बिगि्रएको छ । छ वर्षअघि डेढ करोड रुपैयाँमा खरिद गरिएको यो उपकरणबाट सामान्य एक्सरेबाट पत्ता नलाग्ने समस्या थाहा हुन्छ । यो उपकरणबाट मर्मत हुन नसक्दा बिरामी बाहिरबाटै सेवा दिन्छन् ।

वीर अस्पतालमा १ हजार ५ सयमा हुने उपचार शुल्क निजीमा बिरामीले यो सेवाका लागि ५ हजार रुपैयाँसम्म तिरिरहेका छन् । दुर्गमबाट आएका गरिब बिरामी निजीको महँगो शुल्क तिर्न सक्दैनन् । कोही बिरामी उपचार नै नगरेर फकिन बाध्य छन् । यही विभागको पुरानो सीटी स्क्यान उपकरण पनि मर्मत हुन सकेको छैन । बढी चलाएकै कारण अस्पतालसँग भएको नयाँ सीटी स्क्यान उपकरण बिगि्ररहने समस्या छ ।

पुरानो उपकरणलाई मर्मत गर्न सकेमा नयाँ उपकरण बिग्रँदा काम लाग्न सक्ने कर्मचारी बताउँछन् । एक दिनमा ३० बिरामीको सिटी स्क्यान गर्न सकिने उपकरण बनाउन अस्पतालले कुनै पहल नगरेको विभागका कर्मचारीको भनाइ छ । यो उपकरण मर्मत हुन सकेमा अर्को उपकरणको विकल्प हुन सक्ने र बिरामीले धेरै दिन पर्खनुपर्ने हुन्न । मुटुको उपचारका लागि अत्यावश्यक उपकरण क्याथल्याब पनि बिग्रेर अलपत्र छ । क्याथल्याब नहुँदा मुटुका गम्भीरखाले बिरामीले उपचार पाइहरहेका छैनन् । आएका बिरामी सहिद गंगालाल हृदयरोग उपचार केन्द्रमा रिफर भएर उपचार गरिरहेका छन् ।

किन बिग्रन्छन् उपकरण?
केन्द्रीय अस्पतालमा बिरामीको चाप र उपकरणको प्रयोगबीच सन्तुलन नहुनु पहिलो कारण हो । बिरामीको चाप धान्नकै लागि क्षमताभन्दा बढी चलाउँदा उपकरण बिग्रेकोबिग्रै हुन्छन् । सार्वजनिक खरिद ऐन २०६३ अनुसार टेन्डर हालेका कम्पनीमध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिन स्वीकृत गर्नुपर्छ । सस्तो मूल्यको उपकरण खरिद गर्ने चक्करमा अस्पताल सधैं फस्ने गरेको छ ।

ऐनअनुसार अस्पतालले कम्पनीबीच प्रतिस्पर्धा गराएर सस्तोमा उपकरण पाए पनि ती उपकरणको गुणस्तरीयता कमजोर हुन्छन् । यसले गर्दा उपकरण खरिद गरेका छोटो समयमै बिग्रने गरेका छन् । उपकरण बिगि्ररहनुको अर्को कारण हो, पुरानो भवन । अस्पताल भवन मुसाको बासस्थान बनेको छ । उपकरणभित्र मुसा पस्छन् र तार काट्छन् । अस्पतालका एक कमचारी भन्छन्, 'मेसिन बिग्रनुमा मुसा त कारक हुन् नै । यहाँभित्र केही कर्मचारी पनि मुसा प्रवृत्तिका छन् ।'

उनका अनुसार उपकरण बिगारेर नयाँ उपकरण खरिदको कमिसन खेलका लागि केही कर्मचारी जानाजान उपकरण बिर्गाछन् । उपकरण बिग्रनुको अर्को मुख्य कारण हो, बिजुली बत्ती । स्वास्थ्यका कतिपय उपकरणलाई २४ नै घण्टा चिसो 'मेन्टेन' गरेर राख्नुपर्ने हुन्छ । अस्पतालमा २४ नै घण्टा बिजुली बत्तीको व्यवस्था नहुँदा चिसो 'मेन्टेन' गरेर राख्नुपर्ने उपकरण बिग्रन्छन् ।

किन बन्दैनन् उपकरण ?
वीर अस्पतालमा अच्चम त के छ भने, नयाँ उपरकण किन्नुपरेमा केही दिनमै भित्रिन्छन् । पुराना उपकरण भने वर्षौसम्म बिगि्रएर थन्किन्छन् । एक कर्मचारी भन्छन्, 'नयाँ उपकरणमा किन्दा कम्पनी र र्फमसँग मिलेर कमिसन खान पाइन्छ, पुराना उपकरणमा बनाउँदा कुनै आर्थिक लाभ नहुने हुँदा कसैले वास्ता गर्दैनन् ।' कर्मचारीका अनुसार उपकरण मर्मतका लागि स्वीकृत गरिएका फाइलहरू अस्पतालभित्रै गायब बनाइन्छन् ।

मर्मत शाखा के भन्छ ?
अस्पतालमा अहिले बायोमेडिकल इन्जिनियरको दरबन्दी नहुँदा उपकरण मर्मत हुन सकिरहेका छैनन् । त्यसैले उपकरणसम्बन्धी साना समस्या आउँदा पनि समाधान हुन्न । मर्मत शाखाका भएका कर्मचारी सामान्य विद्युतीय प्राविधिक मात्रै छन् । यस्ता जनशक्तिलाई ठूला उपकरणबारे ज्ञान छैन ।

मर्मत शाखा प्रमुख सुनील श्रेष्ठका अनुसार अस्पतालले ठूला उपकरण खरिद गर्दा कर्मचारीले तालिम पाउने अवसर भएमा यस्ता समस्या समाधान हुन्छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार अस्पतालका अधिकांश उपकरण विदेशबाट आयात गरिएका छन् । उनी भन्छन्, 'कति उपकरणका सामान नै फेर्नुपर्ने छ । ती सामान नेपालमै नपाइने हुँदा थन्काउन बाध्य
भएका हौं ।' स्क्यान, स्पेसल एक्सरे र मेमोग्रामको मर्मत लागत अत्यन्तै महँगो भएकाले बनाउन नसकिएको सेञ्चुरीको भनाइ छ । महँगो खर्च हालेर उपकरण मर्मत गर्नका लागि टेन्डर प्रक्रियाबाटै जानुपर्ने हुन्छ ।

उनले भने, 'हामी खरिद ऐनले बाँधिएका छौं । पाँच लाख रुपैयाँभन्दा बढी खर्च हालेर काम गर्दा टेन्डर प्रक्रियाबाटै जानुपर्छ । यो लामो र झन्झटिलो भएकाले समयमा उपकरण बन्न सक्दैनन् ।'

बजेट अभावलाई कारण देखाएर उपकरण मर्मत बनाउन पहल नगर्नुमा अस्पताल प्रशासन दोषी रहको स्वास्थ्य सचिव डा.पुष्पा चौधरी बताउँछिन् । उनी भन्छिन्, 'वीर अस्पतालमा दिएको बजेट बेरुजु भएर गइरहेको छ । दिएको बजेट व्यवस्थापन गरेर अस्पतालले उपकरण मर्मत गर्नुपर्छ ।'

प्रकाशित : वैशाख २१, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT