२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चार वर्षदेखि विद्यार्थी टहरामै

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको दुर्गम गाउँपालिकाको विकट एक माध्यमिक विद्यालयका छात्रछात्रा विगत चार वर्षदेखि टहरामा बसेर पढदै आएका छन् । घाम, पानी र हुरी बतास सहँदै राक्सिराङ गाउँपालिका-४ स्थित कालिका माविका विद्यार्थी जस्तापाता चारैतिर घेरेको टहरामा पढदै आएका हुन् । 

चार वर्षदेखि विद्यार्थी टहरामै

‘विद्यालय भवन भूकम्पले भत्केपछि जस्तापाताको लामो टहरामा पढ्दै आएका छन्,’ गापा अध्यक्ष राजकुमार मल्लले भने, ‘उक्त विद्यालयका विद्यार्थीले विद्यालय भवनको अभावले लामो समय कठिनाइ भोगिरहेका छन् ।’ ईसीडीदेखि १० कक्षासम्म पठनपाठन हुने उक्त स्कुलका १,२ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । ‘कक्षा कोठाको अभावले गर्दा १ र २ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक सूर्यनारायण चौधरीले भने, ‘विद्यालय भवन बन्ने क्रममा छ तर अहिले कक्षा कोठाको अभाव छ ।’


कक्षाकोठाको अभावले गर्दा छात्रावासको कोठामा राखेर विद्यार्थी पढाउने गरिएको छ । दुर्गम गाउँमा रहेको उक्त विद्यालयमा एक सय ७५ जना विद्यार्थी अध्ययन गर्ने गर्छन् । विपन्न र गरिब बस्तीको बीचमा रहेको उक्त विद्यालयमा बीचमा पढाइ छाड्नेको संख्या बढी छ । ‘स्कुलमा भर्ना हुन्छन् तर एक/दुई महिनापछि पढन आउँदैनन्,’ प्रअ चौधरीले भने, ‘खाद्य असुरक्षाका कारणले गर्दा विद्यार्थीले बीचमा नै पढाइ छाड्ने गरेका छन् ।’


तामाङ, चेपाङ र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा दिवा खाजाको व्यवस्था छैन । ‘अधिकांश विद्यार्थी बिहान भोकभोकै पढन आउने गर्छन् । हापटाइमपछि घर जान्छन् र पढन आउँदैनन्,’ प्रअ चौधरीले भने, ‘हापटाइमपछि विद्यार्थीको संख्या कम हुन्छ ।’


मकवानपुरको दुर्गमका केही स्कुलमा दिवाखाजाको व्यवस्था गरिएको छ । तर यहाँ छैन । ‘स्कुलमा दिवाखाजाको व्यवस्था गर्न सकेमा भर्ना भएका विद्यार्थीलाई टिकाउन सकिन्थ्यो,’ प्रअ चौधरीले भने । एकातिर टहरामा बसेर पढनुपर्ने अर्कोतिर भोकभोकै पढनुपर्ने बाध्यता उनीको छ । स्कुलमा शौचालय छ तर पानीको अभावले समस्या छ । स्कुलमा पिउने पानी छैन । भर्ना अभियानमा पुगेका गापाका अध्यक्ष मल्लले भने, ‘उक्त स्कुलको अवस्था विजोग छ ।’


पुनर्निर्माण प्राधिकरणले शिक्षा इकाईमार्फत उक्त विद्यालयमा चारकोठे भवन निर्माण गर्न डीपीसी गरेको छ । उक्त भवन निर्माण सम्पन्न हुँदा पनि उक्त विद्यालयका छात्रछात्रा टहरामा नै बसेर पढनुपर्ने बाध्यता छ । चारकोठे भवनले सबै कक्षाका विद्यार्थीलाई पढन कक्षाकोठा पुग्दैन । सदरमुकामदेखि नजिक र सुगम क्षेत्रका स्कुल धमाधम निर्माण हुँदै छन् । केही सम्पन्न पनि भइसकेका छन् । तर दुर्गम गाउँका स्कुल र विद्यार्थीको अवस्था दयनीय छ । मकवानपुरमा पहिलो चरणमा ११० वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सुरु गरिएको थियो ।


पुनर्निर्माण प्राधिकरणको शिक्षासम्बन्धी जिल्ला आयोजना कार्यान्वयन इकाई आव ०७३/०७४ र ०७४/०७५ मा १ सय ३६ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ । पुनर्निर्माण भएका भवनको साढे ५ सय वटा कक्षाकोठा तयार भएका छन् । चालु आवमा शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन आयोजना इकाईले ६५ वटा विद्यालय भवन निर्माण गर्दै छ ।


मकवानपुरमा हालसम्म सरकारी, गैरसरकारी गरेर एक सय ५५ वटा विद्यालय निर्माण भइसकेका छन् । ती निर्माण भएका विद्यालयमा करिब साढे ५ सय वटा कक्षाकोठा तयार भएका छन् । जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत मकवानपुरमा ४१ वटा विद्यालयको भवन निर्माण गरिरहेको छ । तीमध्ये सात विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको छ । प्लान नेपालले ५ वटा विद्यालय भवनको पुनर्निर्माण कार्यको थालनी गरेको छ ।


त्यसमध्ये २ वटा विद्यालय भवनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । तीनवटा निर्माणाधीन अवस्थामा छन् । एस्थर बेन्जामिन्स नामक गैरसरकारी संस्थाले भूकम्पले भत्केका १० वटा विद्यालयको भवन बनाउने जिम्मा लिएको थियो । त्यसमध्ये ७ वटा भवनको पुनर्निर्माण गरिसकेको छ । तीनवटा पनि निर्माणाधीन अवस्थामा छन् ।


भारतीय राजदूतावासले ३ वटा विद्यालय भवनको पुनर्निर्माण गर्ने जिम्मा लिएको २ वटा स्कुलको भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । एउटाको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी कोसानले २ वटा विद्यालय भवनको पुनर्निर्माण गरिसकेको छ ।


जिल्ला आयोजना कार्यान्वयन इकाईसँग अनुमति लिएर उनीले विद्यालय भवनको पुनर्निर्माण गरेका हुन् । भूकम्पपछि मकवानपुरमा ४ सय ९ वटा विद्यालयको ७ सय ४७ वटा भवनमा रातो स्टिकर लगाइएको थियो । रातो स्टिकर लगाइएका सबै भवन पुनर्निर्माण गर्नुपर्ने बताइए पनि पुनः निरीक्षण गरी मर्मतबाट पनि केही भवन सञ्चालनमा आइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।


‘सुरुमा हामीले ७ सय ४७ वटा भवनको २ हजार ३ सय ९० वटा कोठामा रातो स्टिकर लगाएका हौं, पुनः निरीक्षण गर्दा केही भवन मर्मतबाट पनि चल्ने अवस्था भएकाले मर्मत गरेर सञ्चालनमा आइसकेको छ,’ इन्जिनियर सञ्जीव पुडासैनीले बताए। मकवानपुकरा करिब २ हजार १ सय ५ कक्षाकोठा भूकम्पबाट क्षतिग्रस्त भएका हुन् ।


प्रकाशित : वैशाख २५, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?