कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दमकललाई न भवन न बजेट

तीनवटा दमकल बिग्रिएर थन्किएका छन्, बजेट नहुँदा भूकम्पले चर्किएको भवन बनेको छैन 
लीला श्रेष्ठ

भक्तपुर — भूकम्पको धक्काले जिल्लाको एकमात्र जुद्ध बारुण यन्त्र (दमकल) को कार्यालय भवन क्षतिग्रस्त छ । प्राविधिकले कार्यालयको भर्‍याङ प्रयोग नगर्न सुझाव दिएको छ । क्षतिग्रस्त भवनमा प्रशासन, स्टोर, प्रमुख/कर्मचारीलगायतको ४ वटा कोठा संचालनमा छन् । ग्यारेज धरापमा छ ।

दमकललाई न भवन न बजेट

‘क्षतिग्रस्त भवन भत्किने अवस्थामा छ, जीर्ण ग्यारेजमा दमकल पार्किङ गर्नुपर्ने बाध्यता छ,’ जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका सुचना अधिकारी विजय धौभडेलले भने,‘तेल भण्डारण गर्ने भवन पूर्णक्षति छ ।’


क्षतिग्रस्त भवनबाटै ४ वर्षदेखि कार्यालय सञ्चालन गर्दै आएको छ । २००१ सालमा भक्तपुरमा दमकल कार्यालय स्थापना भएको हो । स्थापना काल देखि भोगचलन गर्दै आएको जग्गा साविक भक्तपुर नगरपालिका–१७ दुधपाटीको २२७ कित्ताको ९५ रोपनी सार्वजनिक जग्गा २०४० असोजमा ‘सैन्य तालिम केन्द्र’ को नाममा नामसारी भयो । जसमध्ये हालको भक्तपुर नगरपालिका-१, दुधपाटी स्थित सैनिक आवासीय महाविद्यालयको पूर्वपट्टिको पर्खालसँगै जोडिएको ‘सैन्य तालिम केन्द्र’को ३ रोपनी ७ आना २ पैसा क्षेत्रफल जग्गा दमकलको कार्यालयले ओगटी भोगचलन गर्दै आएको छ ।


क्षतिग्रस्त भवन पूर्ननिर्माणको लागि सरकारले आर्थिक वर्ष ०७२/७३ मा ५ करोड र ०७४/७५ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन (डीएलपीआईयू भवन) भक्तपुर मार्फत दमकल कार्यालय पुनर्निर्माणका लागि थप ५ करोड बिनियोजन भएको धौभडेलले बताए । तर, भवन बसेको जग्गा ‘सैन्य तालिम केन्द्र’को नाममा भएकाले भूकम्पपछिको करिब ३ वर्ष नक्सापासको कठिनाईले पुनर्निर्माण सुरू हुन सकेन् ।


गत आर्थिक वर्ष मै गृह मन्त्रालय मार्फत सोही स्थानमा भवन पुनर्निर्माणका लागि कार्यालयले सैन्य तालिम केन्द्रको नाममा रहेको जग्गा ३० वर्षका लागि स्वामित्व पाएको छ । तर, कार्यालय प्रमुख लक्ष्मण गुरागाईंले पुनर्निर्माणमा चासो नदिँदा भवन निर्माण अलपत्र परेको छ । ‘कार्यालय प्रमुख गुरागाईं नियमित कार्यालयमा उपस्थित नै हुँदैनन्,’ एक कर्मचारीले भने, ‘१५ दिनमा एक दिन कार्यालय आउँछन् ।’


प्रमुख गुरागाईंले भने कार्यालय भवन पुनर्निर्माणका लागि शहरी विभाग, मन्त्रालय धाउँदा सम्बन्धित व्यक्ति नभेटिने र फाइल अलपत्र परेकाले पुनर्निर्माण अघि बढ्न नसकेको जानकारी दिए । ‘जीर्ण भवनमा जोखिम मोलेर कार्यालय संचालन गर्दैर् आएकाछौं,’ उनले भने, ‘भवन पुनर्निर्माणका लागि दौडधुप भईरहेको छ ।’


डीएलपीआईयू भवन भक्तपुरले भने जुद्ध बारुण यन्त्र कार्यालय भवन पुनर्निर्माण गर्ने योजनाका लागि अर्थ मन्त्रालयमा फाइल पेश गरेको जनाएको छ । ‘क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न योजना छनोट प्रक्रियामा छ,’ डीएलपीआईयू भवन भक्तपुर प्रमुख महालक्ष्मी जोशीले भनिन्,‘विपद् जोखिम न्यूनिकरणका लागि पनि दमकलको कार्यालय पुनर्निर्माण प्राथमिकतामा राखिनुपर्छ ।’ भक्तपुरको दमकलले उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक र दोलखासम्म सेवा पुर्‍याउँदै आएको छ ।

जुद्ध बारुण यन्त्र कार्यालयले दुई वटा दमकल मार्फत सेवा पुर्‍याउँदै आएको छ । पुरानो एकमात्र दमकलबाट सेवा पुर्‍याउँदै आएको कार्यालयलाई मध्यपुर थिमि नगरपालिकाले दमकल हस्तान्तरण गरेको छ । ३ वटा दमकल बिग्रिएर थन्किएको छ । बजेट अभावका कारण बिग्रिएको दमकल मर्मत गर्न नसकेको कार्यालयले जनाएको छ । उद्धारका लागि संचालन हुने पिक अप गाडी समेत बिग्रिएर थन्किएको सुचना अधिकारी धौभडेलले बताए ।


१६ वर्षदेखि बिग्रिएर थन्किएको ट्यांकर भने स्थानीय सजन धौभडेलको ४ लाख रुपैयाँ सहयोगमा मर्मत गरी संचालनमा आएको छ । दमकल सञ्चालनको लागि पर्याप्त जनशक्तिको समेत अभाव भएको उनी बताउँछन् ।


प्रकाशित : वैशाख २५, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?