१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नारायणगढ अझै अस्तव्यस्त

रमेशकुमार पौडेल

चितवन — फराकिलो सडक र चौडा फुटपाथ भएको नारायणगढ बजार पूर्वाधारअनुसार चिटिक्क बन्न सकेको छैन  । भरतपुर महानगरपालिकाले अघिल्लो वर्ष फुटपाथमा पसल गर्नेहरूलाई हटाएको थियो  ।

नारायणगढ अझै अस्तव्यस्त

मुख्य राजमार्गमा तीनपांग्रे गाडी चल्न रोकेको थियो । तर बजार व्यवस्थापनका लागि यत्ति काम पर्याप्त नभएको बजारवासी बताउँछन् । फराकिलो सडकमा यात्रु कुर्दै गाडी बसेका हुन्छन् । फुटपाथ पार्किङ स्थलमा परिणत भएको छ ।


सडकमा गुड्ने गाडी र पैदल हिँड्नेको चाप बढदो छ । तर बजार क्षेत्रमा अहिलेसम्म एउटा पनि आकाशे पुल बनेको छैन । सडकमा ट्राफिक बक्ती छैन । जेब्रा त्रसिङ कतै स्पष्ट छ कतै मधुरो छ । जेब्रा क्रसिङबाट सडक पार गर्ने चलन विस्तारै बस्दै छ । तर हुइँकिँदै आउने गाडीले जेब्रा क्रसिङमा मान्छे देख्दा पनि रफ्तार कम गर्दैनन्, बरु बाटो छाड्नका लागि हर्न बजाउने गर्छन् ।


देशको मध्य भागमा पर्ने भएका कारण नारायणगढका बारेमा धेरै नेपाली परिचित छन् । जिल्ला सदरमुकाम भरतपुरसँगै जोडिएको नारायणगढ व्यापारिक क्षेत्र हो । ‘तर यहाँ देखिएका समस्या र अस्तव्यस्तताले कतै बजार नै विस्थापित हुने पो हो कि भन्ने खतरा बढेको छ,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले भने ।

‘बजार क्षेत्रलाई व्यवस्थित गर्न अघिल्लो वर्ष हामीले फुटपाथका पसलहरू अन्यत्र सार्‍यौं । दुर्घटना रोक्न मुख्य राजमार्गमा तीनपांग्रे गाडी चलाउन रोक लगायौं । यसले गर्दा धेरै हदसम्म बजार व्यवस्थित नभएको हैन । तर अन्य धेरै काम गर्न बाँकी भने छ । हामी गर्ने योजनामा नै छौं,’ भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भने ।


संघका अध्यक्ष प्रधान नारायणगढ क्षेत्रमा मात्रै पाँच हजारको हाराहारीमा विभिन्न खाले पसल र व्यावसायिक प्रतिष्ठानहरू भएको बताउँछन् । ६० को हाराहारीमा बैंकहरू छन् । तर पार्किङ क्षेत्र छैन । पसल र प्रतिष्ठान अगाडि फुटपाथमा नै गाडी र मोटरसाइकल पार्किङ गर्नुपर्ने बाध्यता छ । पुलचोक क्षेत्रमा लामो दूरीका यात्रु बसले काठमाडौं वा पूर्व पश्चिम जाने यात्रुहरू कुरेर बसेका हुन्छन् ।
भरतपुरमा केन्द्रीय बसपार्क छ । त्यसैगरी नारायणगढ आँपटारी नजिक पोखरा, लमजुङ, गोर्खा जाने गाडीहरू चढ्ने अर्को बसपार्क छ ।

‘तर यात्रुहरू गाडी चढ्न भनेपछि पुल्चोक नै बस्छन् । २४ सै घण्टा गाडी भेटिने ठाउँ पुलचोक भएका कारणले यात्रुलाई एक खालको छाप परेको छ । गाडी त्यहाँ धेरै बेर रोकिँदैनन् । तर गाडी नै धेरै छन् थोरै बेर रोकिए पनि भीड हुन्छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले भने । बसपार्क अलि अपायक ठाउँमा भएको उनको भनाइ छ ।
होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश–३ का प्रथम उपाध्यक्ष रहेका पुलचोकका व्यवसायी दुर्गाप्रसाद गौतम पैदल हिँड्दा नारायणगढ बजारको अस्तव्यस्त अनुभव हुने बताउँछन् ।

‘पार्किङले फुटपाथ भरिएको छ । खाल्डा खुल्डी पनि छन् । नाला फुटेका हुन्छन् । गन्ध आउँछ । यस्तो ठाउँमा किनमेलका लागि कसरी ग्राहक आउने । पर्यटक त झनै आउने वातावरण नै छैन’ गौतमले भने ।


बाटो काट्न र आफु चढेर आएको बाहान राख्न समस्या भएपछि किनमेल र अन्य प्रयोजनका लागि बजार आउनेहरू घट्न थालेको व्यवसायीहरूको अनुभव छ । नारायणगढ क्षेत्रको सबैभन्दा ठूलो व्यावसायिक प्रतिष्ठान नारायणगढमा रहेको केएल मल हो ।

त्यसको आफ्नै पार्किङ नभएको हैन । तर पार्किङ शुल्क लिने गरेका कारण ग्राहकले फुटपाथमै मोटरसाइकल राख्ने गरेको देखिन्छ ।
‘पुरानो घर र मार्केटको के कुरा नयाँ मार्केटमा पनि पार्किङ राख्ने चलन सुरु भएको छैन,’ व्यवसायी दिनेशकुमार चुकेले भने । चुकेले भाडामा उपलब्ध गराएको जग्गामा महानगरले सशुल्क पार्किङ सञ्चालन गरेको छ । तर मुस्किलले सयवटा गाडीबाहेक अरू अटाउँदैनन् । उद्योग वाणिज्य संघका अध्यक्ष प्रधान पूर्वाधारका साथै सार्वजनिक शौचालय र तिर्खा लाग्दा पानी पिउने ठाउँको समेत अभाव भएको बताउँछन् । बजारबाटै पूर्व–पश्चिम राजमार्ग र काठमाडौं जाने सडक गएको छ । यसले गर्दा गाडीको चाप छ । पार्किङ पनि छैन ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?