१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुहान विवादले खानेपानी पाइप काटियो

नुवाकोट — विदुरनगरपालिका-१३ कल्याणपुरमा मुहान विवादले खानेपानीको पाइप काटिएको छ । घट्टेखोला मुहान गरी आमथाङको बाँझोगाउँमा पानी ल्याउन लागिएको थियो । उक्त पानीको मुहान विवाद थियो । खानेपानी योजनाको पाइपलाइन विभिन्न ठाउँमा पाइप टुक्राएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले बताए । 

खानेपानी विस्तार भएकै दिन क्षति उक्त क्षति पुर्‍याइएको हो । विदुरनगरपालिकाले एक लाख एक हजार रुपैयाँ लागतमा सोमबार ३२ एमएमको ९ सय मिटर पाइप बिच्छ्याइएको थियो । उक्त पाइप सोमबार राति नै २५ भन्दा बढी टुक्रा बनाएर क्षति पुर्‍याएको वडा कार्यालयले जनाएको छ । खानेपानी योजनाका लागि मुहानका केही स्थानीयले असहमति जनाएका थिए । योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


त्यसैगरी, विदुरनगरपालिका(१२ स्थित मुलाबारी र खानीगाउँ बीचमा खानेपानीकै लागि सोमबार साँझ झगडा भएको थियो । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच झगडा नगर्ने गरी मिलापत्र गरेका छन् । भट्टखोला मुहान गरी ल्याएको पानीमा मुलाबारीकाले नदिएको भन्दै खानीगाउँका स्थानीय कुटपिटमा उत्रेका थिए । केही स्थानीय सामान्य घाइते भएका थिए ।


उक्त ठाउँमा पानीका मुहान सुक्दै गएकाले पानीको कमी भएपछि दुई गाउँ बीच पानीको निहुँमा झगडा परेको वडाध्यक्ष सीताराम अर्यालले बताए । खानेपानीको व्यवस्थापन गरेर दुवै पक्षलाई मिलाउने गरी सहमति भएको उनले बताए ।


प्रकाशित : जेष्ठ १, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?