२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुनकोसीमा पानीको हाहाकार

सन्धुलीमाढी — सिन्धुलीको सुनकोसी गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार भएको छ । पालिकाको सदरमुकाम रहेको वडा नम्बर ५ रामटार, साइटार र वडा नम्बर ३ बोहोरेटारमा खानेपानीको हाहाकार भएको हो । लामो समयको खडेरी पछि पानीको मुहान सुक्दा स्थानीयहरू समस्यामा परेका छन् ।

एक हप्तादेखि धारमा पानी आउन छोडेपछि स्थानीयहरू समस्यामा परेका हुन् । पानी नहुँदा आफूहरूको दैनिकी निकै नै कष्टकर बनेको रामटारका स्थानीय पवन श्रेष्ठले बताए । पानीको मुहान सुकेपछि ३ किलोमिटर टाढा सुनकोसीको किनारमा रहेको कुवाबाट पानी ल्याउन बाध्य छौं,’ उनले भने । धारामा पानी आउन छोडेसँगै आधा घण्टा लगाएर कुवामा पानी लिन जानुपर्ने अवस्था रहेको छ ।


सुनकोसी क्षेत्रमा चैत्र, वैशाख र जेठ ३ महिना खडेरी नै पर्ने गरेको छ । पहिलेदेखि नै कम पानी पर्ने सुनकोसी क्षेत्रमा भूकम्पपछि भने पानी पर्न छाडेको उनले बताए । ‘असारमा पनि फाट्टफुट्ट मात्र पानी पर्छ । अरुतिर ३/४ दिनदेखि झरी परिरहेको समाचार सुनिन्छ, त्यो बेला त हाम्रोतिर पानी नै परिरहेको हुँदैन,’ उनले भने । पानी पर्न छाडेदेखि पानीको मुहान सुक्न थालेको हो ।


स्थानीय नीलकुमार श्रेष्ठ पनि धारामा पानी आउन छोडेपछि धेरै नै समस्या परेको बताउँछन् ।


पेसाले होटल व्यवसायी उनलाई भने व्यवसाय सञ्चालनमा समेत मुस्किल परेको छ । होटल व्यवसायमा अत्यधिक मात्रामा पानी आवश्यक पर्ने भए पनि पानीको मुहान नै सुक्दा निकै नै समस्या परेको उनी सुनाउँछन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?