२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बाल संगठनको जग्गामा अरूकै रजाइँ

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाल बाल संगठन रामेछापको नाममा करोडौं मूल्य पर्ने जग्गा छ  । तर उक्त जग्गाको बारेमा संगठनका पदाधिकारीलाई जानकारी छैन  ।

भाडामै दिने हो भने पनि मासिक लाखौं आउने जग्गा कौडीसमेत नदिएर वर्षौंदेखि अर्कैले रजाइँ गर्दै आएको छ ।

रामेछाप बजारनजिकै संगठनको नाममा दर्ता रहेको साविक भंगेरी पञ्चायत वडा नम्बर ९ झ ५१७, ५२१, ५१९, ५२६, ५२९, ५३६, ५३४, २६१, ५३१ र ५३४ गरी १० कित्ताको कुल १४ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । उक्त जग्गा हाल गौरीशंकर क्याम्पस र बालमन्दिर आधारभूत विद्यालयले निःशुल्क रूपमा मनमौजी प्रयोग गर्दै आएका छन् ।

उक्त जग्गामा २ वटा साना भवन बनाएर सञ्चालन हुँदै आएको बालमन्दिर आधारभूत विद्यालय नेपाल सरकारको पूर्ण अनुदानमा अन्य सामुदायिक विद्यालय सरह हो । त्यसमा बाल संगठनको कुनै सहयोग छैन, गर्दैन । बाल संगठनको नाममा रहेको जग्गामा सञ्चालन गरिएकोले विद्यालयको नाम बालमन्दिर राखिएको हो । नाम बालमन्दिर राखेर केही व्यक्तिले त्यही नै आफूले चलाएको विद्यालय हो भनेर बाल संगठनलाई विवरण दिने गरेको आरोप पनि लाग्दै आएको छ ।


नेपाल बाल संगठनका पूर्व अध्यक्ष एवं समाजसेवी गोविन्दबहादुर श्रेष्ठले आफ्नो कार्यकालमा उक्त जग्गा खरिद गरेका हुन् । रोपनीको ४ हजार ५ सय रुपैयाँका दरले खरिद गरेको उक्त जग्गा रामेछाप बजारकै नामी जग्गामा पर्छ । ‘रामेछाप बजार क्षेत्रमै त्यो जतिको राम्रो जमिन अरू छैन,’ श्रेष्ठले भने, ‘कत्रो योजनाका साथ जग्गा किनियो ।

रामेछापबाट २०४५ सालमा जिल्ला सदरमुकाम मन्थली झरेको थियो । राम्रो जग्गा भए’नि उपलब्धि भएन ।’ जिल्ला सदरमुकाम झरेपछि बालसंगठनको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गौरीशंकर माविलाई उक्त जग्गा भोगचलन गर्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला पञ्चायतका सभापतिसमेतको उपस्थितिमा भएको बैठकले जग्गाको भोगचलन गरेबापत् कुनै शुल्क नतोकेको पूर्वअध्यक्ष कृष्णराम श्रेष्ठले बताए । ‘चाहिएको बेलामा विद्यालयले छोड्ने गरी त्यो निर्णय भएको हो,’ उनले भने, ‘निर्णयमा छाड्ने मिति तोकिएको छैन र विद्यालयसँग कुनै सम्झौता पनि भएको छैन ।’

बाल संगठनको नाममा विद्यालयको आन्तरिक स्रोत परिचालन गरेर ४ वटा र नेपाल सरकारले उपलब्ध गराएको ३ समेत ७ वटा भवन निर्माण भएको छ । गौरीशंकर माविका प्रअ नीरबहादुर कार्कीले भने, ‘उक्त जग्गाको विषयमा भएको निर्णय आफूलाई जानकारी छैन ।’


बाल संगठनले छोड भन्दा छोड्नुपर्ने जग्गा भन्ने जानकारी हुँदाहुँदै त्यति धेरै लगानी गर्नुहुन्थ्यो कि हुँदैनथ्यो ? बहसको विषय बनेको छ । संगठनले आफ्नो जग्गाबारे अहिलेसम्म खोजबिन नगरेको विद्यालय प्रशासनले जनाएको छ । बाल संगठन आफ्नो जग्गा खोजबिन गर्न नआएका कारण विद्यालयले आफ्नो योजनाबमोजिम जग्गाको उपयोग गर्दै आएको स्थानीयको बुझाइ छ ।

स्थानीय भीमबहादुर कार्की उक्त जग्गामा बाल संगठनको आयआर्जनका लागि हाटबजार सञ्चालन गर्नुपर्ने बताउँछन् । रामेछापमा सदियौंदेखि साप्ताहिक हाट लाग्दै आएको जमिनमा नगरपालिकालगायतका भवन निर्माण भएकाले हाटेचौर साँघुरिएको बेला उक्त स्थानलाई हाटघर बनाउनुपर्ने धारणा उनको छ । आफ्नो नाममा रहेको जग्गा जमिन संरक्षण गर्न नसक्ने बाल संगठनको कार्यसमिति कागजमा सीमित छ ।

कार्यसमितिको अध्यक्ष खाँडादेवी गाउँपालिकाका नारायण कार्की चुनिएका छन् । उनको पालामा एउटा बैठकसमेत भएको छैन । गाउँमा करोडौंको निजी विद्यालय सञ्चालन गरेका उनले बाल संगठनलाई समय दिन सकेका छैनन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?