१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

४ करोडको खेलाडी होस्टल

सुवास बिडारी

मकवानपुर — खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा भनिएको हेटौंडा ६ स्थित गौरीटारमा केन्द्रीय खेलकुद प्रतिष्ठानमा बस्ने खेलाडीका लागि भवन तयार भएको छ । ४ करोड लागतमा बनाइएको ३६ कोठे  भवन ५ वर्षपछि पूरा भएको हो । पुरुष होस्टलमा ३६ कोठे छ ।

राष्ट्रिय खेलकुद परिषद्ले बनाएको उक्त होस्टलमा ६० जना क्षमताको छ । 'होस्टल तयार भयो, अब खेलाडीलाई दैनिक प्रशिक्षण गर्ने कभर्ड र डाइनिङ हल पनि छिट्टै पूरा हुँदै छ,' जिल्ला खेलकुद विकास समिति सचिव राजन दाहाल 'खुशराज' ले भने । उनका अनुसार कभर्ड निर्माणको काम पनि तीव्रसाथ भइरहेको छ । 'कभर्ड करिबकरिब सकिन लाग्यो,' उनले भने, 'आगामी आर्थिक वर्षबाट यो सञ्चालनमै आउँछ ।'


उनले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि ५ करोड रुपैयाँ बराबरको टेन्डर आहृवान गरिसकेको छ । यहाँ एथ्लेटिक्स ट्रयाकसहितको खेलमैदान तयार हुने उनले बताए । 'धेरै वर्षसम्म बजेट नपरे पनि पछिल्लो समय प्रदेश र संघीय सरकारको चासोमा रंगशाला परेको हो । आगामी आवमा अझै बढी बजेट गौरीटारलाई पर्ने बताइएको छ ।'


जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले नेपाली खेलकुदको सबैभन्दा महत्त्वाकांक्षी योजनाको रूपमा रहेको गौरीटार रंगशालाको राष्ट्रिय खेलकुद परिषद्ले शिलान्यास भएको नौ वर्षमा ६ करोड रुपैयाँ मात्र लगानी गरेको बताए ।


हालसम्म राष्ट्रिय खेलकुद परिषद्को नाममा रहेको २३ बिघा जग्गामा कम्पाउन्ड घेर्ने र रंग लगाउने कार्यमा दुई करोड रुपैयाँ र पुरुष होस्टल निर्माणमा चार करोड रुपैयाँ गरी कुल ६ करोड रुपैयाँ बराबरको भौतिक संरचना तयार भएको छ ।


गतआर्थिक वर्ष र चालु आर्थिक वर्षमा सरकारले बजेट नछुट्याएपछि यस आवमा निर्माण गर्ने भनिएको महिला होस्टल र कभर्डहलको काम अगाडि बढ्न सकेको छैन । निर्माण हुँदै गरेको केन्द्रीय प्रतिष्ठानमा स्पोर्टस् युनिभर्सिटीका रूपमा अगाडि बढाउने प्रस्तावसमेत सरकारले अगाडि सारेको थियो ।


खेलकुद क्षेत्रलाई सरकारले बेवास्ता गरेको गुनासो सरोकारवालाले उठाइरहेका बेला शिलान्यास गरिएको एकेडेमी देशको सबैभन्दा बढी लगानी रहेको खेलकुद योजना हो । निर्माण सम्पन्न भएपछि खेलाडीमा भएको खेलकला पहिचान गरेर तिखार्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सरकारको छ ।


हेटौंडा प्रदेश ३ को मुकाम भएको कारण पछिल्लो समय स्तरीय खेलमैदानको टड्कारो आवश्यकता महसुस गर्न थालिएको छ । हेटौंडा-११ स्थित थानाभर्‍याङमा स्थानीय तह, व्यवसायी एवं ब्याडमिन्टन खेलाडीले आर्थिक संकलन गरी कभर्ड हलसमेत निर्माण गरेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?