कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

योग्यता अनमीको, काम मिडवाइफको

फातिमा बानु

काठमाडौँ — नेपालमा मिडवाइफ जनशक्तिको दरबन्दी नहुँदा अनमीको भरमा प्रसूति सेवा चलिरहेको छ । मिडवाइफ नहुँदा महिला सम्मानजनक प्रसूति सेवा पाउनबाट वञ्चित छन् ।

योग्यता अनमीको, काम मिडवाइफको

गर्भवती हुँदादेखि सुत्केरी भएर घर पुगेसम्म उपचार र स्याहारसुसार गर्नका लागि चाहिने जनशक्ति मिडवाइफ हुन् ।


विकसित मुलुकमा तीन सय वर्षअघि भित्रिएको यस्तो सेवा नेपालमा दक्ष जनशक्ति नभएकै कारण अनमीले चलाइरहेका छन् । अनमी १८ महिने तालिम लिएका स्वास्थ्य जनशक्ति हुन् । उनीहरूको भरमा प्रसूति सेवा गुणस्तरीय नहुने नर्सिङ विशेषज्ञ बताउँछन् ।


त्रिवि शिक्षण क्याम्पसकी मिडवाइफ विषयक प्राध्यापक किरण बज्राचार्यका अनुसार अनमीको पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । उनी भन्छिन्, ‘अनमी त मिडवाइफलाई सघाउने व्यक्ति मात्रै हुन् । उनीहरूको भरमा पूरै सेवा छोड्नु जोखिमपूर्ण छ ।’ सरकारले मिडवाइफ जनशक्ति उत्पादन गरेर केन्द्रदेखि जिल्ला अस्पतालसम्म गुणस्तरीय प्रसूति सेवाको थालनी गर्नुपर्ने उनको सुझाव छ ।


मिडवाइफको सहयोगमा महिलाले सजिलै बच्चा जन्माउन सक्छन् किनभने यस्ता जनशक्ति सुत्केरी गराउनका लागि कानुनी र प्राविधक रूपमै योग्य बनाइएका हुन्छन् । सुत्केरी गराउँदा उनीहरूको सहभागिता भएमा शल्यक्रिया गरी सुत्केरी गराइने अभ्यास घटाउन सकिने मिडवाइफ्री सोसाइटीकी अध्यक्ष लक्ष्मी तामाङ बताउँछिन् ।


उनी भन्छिन्, ‘सुत्केरीसम्बन्धी अधिकांश समस्या मिडवाइफले हल गर्न सक्छन् । सुत्केरी अवस्थामा आउने १५ प्रतिशत जटिलताका लागि मात्रै चिकित्सक चाहिन्छन् । अहिलेसम्म सबै समस्या चिकित्सकले नै हेर्नुपर्ने बाध्यता छ, नेपालमा ।’ चिकित्सक नपुगेका ठाउँमा यस्ता जनशक्ति पठाएर प्रसूतिसम्बन्धी जटिलता कम गर्न सकिने उनले उनले बताइन् ।


उच्च मातृशिशु मृत्युदर घटाउनका लागि सरकारबाट धेरै कार्यक्रम सञ्चालनमा छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई भौगोलिकअनुसार खर्च, निःशुल्क प्रसूति सेवा, निःशुल्क फोलिक एसिड औषधि वितरण, निःशुल्क गर्भपतन सेवा यसका केही उदाहरण हुन् ।


यति कार्यक्रमका बीच पनि सुरक्षित प्रसूति सेवा सुरक्षित नहुँदा मातृशिशु मृत्युदर घट्न सकेको छैन । दुर्गमका महिलाले स्थानीय सुढेनीबाट सुत्केरी सेवा पाइरहेका छन् । मेडिकल शैक्षिक योग्यता नभएका व्यक्तिबाट सुत्केरीजस्तो संवेदनशील सेवा लिँदा जोखिम उत्तिकै हुन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार नेपालमा अझै ४८ प्रतिशत असुरक्षित सुत्केरी भइरहेको तथ्यांकमा उल्लेख छ ।


राष्ट्रिय दक्ष प्रसूति नीति २००६ ले सुरक्षित मातृत्वका लागि मिडवाइफ जनशक्ति उत्पादन गर्ने रणनीति लिएको छ । यसै रणनीतिअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा मिडवाइफ कक्षा सञ्चालनमा छ । न्याम्सबाट १६ विद्यार्थीले यो विषय पढिरहेका छन् ।


काठमाडौं विश्वविद्यालय र पीसीएल नर्सिङ पास गरेकाले मिडवाइफ पढ्न पाउने व्यवस्था छ । सरकारी सेवामा दरबन्दी नहुँदा पढ्दै गरेका विद्यार्थी रोजगार नपाइला भन्ने चिन्तामा छन् । मिडवाइफको दरबन्दी राख्न सके मातृशिशु मृत्युदर दुई तिहाइसम्म घटाउन सकिने नर्सिङ विशेषज्ञ बताउँछन् ।


सर्वेक्षणअनुसार नेपालमा मातृशिशु मृत्यु दर प्रतिलाख २ सय ३९ छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा प्रतिलाख ७० मातृ मृत्यु दर र प्रति हजारमा एक नवजात शिशु मृत्युदर घटाउने लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि मिडवाइफ जनशक्ति उत्पादन र परिचालन गर्नुपर्ने बज्राचार्य बताउँछिन् ।


उनी भन्छिन्, ‘नेपालजस्तै विकासोन्मुख मुलुकमा मिडवाइफ जनशक्ति उत्पादन गरेरै मातृशिशु मृत्यु दर घटेको हो । थाइल्यान्ड, मलेसिया यसका उदाहरण हुन् ।’ उनका अनुसार दुईमहिने तालिम लिएका नर्सबाट सुत्केरी गराइने गरिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?