कर्मचारी अभाव टार्न स्वयंसेवक

हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मावि शिक्षक, नर्स, अनमी, खेलकुद प्रशिक्षक, बाल विवाहमुक्त प्रदेश अभियान सहजकर्ता लगायत जिम्मेवारीका लागि खटाइयो
सुवास विडारी

मकवानपुर — प्रदेश ३ अन्तर्गतका जिल्लाहरूमा रहेको कर्मचारी अभाव हटाउन प्रदेश सरकारले स्वयंसेवक परिचालन गरेको छ ।

प्रदेश ३ सरकारले कर्मचारी अभाव रहेको स्थानमा खटाइएका स्वयंसेवक नियुक्तिपत्र बुझेर कार्यक्षेत्रतर्फ जानुअघि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : सुवास/कान्तिपुर

प्रदेश ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले १३ वटा जिल्लामा आवश्यकता अनुसार विभिन्न ११ वटा क्षेत्रका एक सय १५ जनालाई प्रदेश विकास स्वयंसेवकको रूपमा खटाएको हो । जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरी प्रदेश सरकारले विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका युवालाई स्वयंसेवकको रूपमा कार्यक्षेत्रमा पठाएको हो ।

सामाजिक विकास मन्त्रालयले हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मावि शिक्षक, नर्स, अनमी, खेलकुद प्रशिक्षक तथा प्रास/नाप्रास कृषि तथा पशु, बाल विवाहमुक्त प्रदेश अभियान सहजकर्ता तथा सहयोगापेक्षी सडक मानवमुक्त अभियान सहजकर्ताहरूलाई सोमबारबाट कार्यक्षेत्रमा पठाएको हो ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमको रूपमा यस कार्यक्रम रहेको थियो । ‘युवाको गौरव, जवानीमा पौरख, प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ उनीहरूलाई दुई वर्षका लागि कार्यक्षेत्रमा खटाइएको मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार उनीहरूलाई सेवासुविधाको व्यवस्था भने छैन । ‘प्रदेश सरकारले निर्वाह भत्ताबापत् केही रकम भने उपलब्ध गराउनेछ ।’ सुवेदीका अनुसार उक्त भत्ता भौगोलिक तथा कार्यक्षेत्रका आधारमा तय गरिएको छ ।

स्वयंसेवकलाई कार्यक्षेत्रमा बिदाइ गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पहिलो चरणमा कर्मचारीको अभाव रहेको स्थानमा स्वयंसेवक खटाइएको जानकारी दिए । उनका अनुसार अझै विभिन्न क्षेत्रबाट दोस्रो चरणमा करिब ९० जना छनोट गरी स्वयंसेवकहरूलाई कार्यक्षेत्रमा खटाउने तयारी भइरहेको छ ।

‘प्रदेशको विकासमा स्वयंसेवकबाट टेवा पुग्ने विश्वास लिइएको छ । विकास, जनसेवा र सामाजिक सेवाको काममा हामीले स्वयंसेवक परिचालन गरेका हौं,’ उनलेभने, ‘यसलाई जागिरको भन्दा पनि सेवाका रूपमा लिन जरुरी रहेको छ ।’

उनले प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने अभियानमा जुटेको र आवश्यक गृहकार्य गरिरहेका कारण तथ्यांक संकलन र आवश्यक समन्वयका लागि सहजकर्तालाई स्वयंसेवकको रूपमा खटाइएको बताए ।

मन्त्री दुलालले सामाजिक विकास मन्त्रालयले यसै आर्थिक वर्षबाट सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यत्रम प्रभावकारी रूपमा अगाडि बढेको स्मरण गराउँदै स्वयंसेवक परिचालन कार्यक्रम पनि सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरका एक गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र बसोबास गर्ने सिमान्तकृत चेपाङ समुदायको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

जिल्लाको पूर्व सदरमुकाम भीमफेदी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका चेपाङ समुदायको चालु आवदेखि नै निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको हो ।

चेपाङहरूको निःशुल्क स्वास्थ्य बिमा गर्न लागि गाउँपालिकाले बिमाकर्ता र सरोकारवाला स्वास्थ्य प्रमुखहरूबीच आइतबार अन्तरक्रिया गरिएको थियो । ‘गाउँपालिकाले बिमा गर्ने अभिकर्ताहरूलाई चेपाङ बसोबास गर्ने वडा र बस्तीमा सोमबारदेखि खटाएको’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । ‘९ जना अभिकर्ता खटाएका छौं । जेठ १५ गतेभित्र उनीहरूको स्वास्थ्य बिमा गरिसक्छौं, जेठमा गरेको स्वास्थ्य बिमाबाट उनीहरूलेभदौबाट उक्त सुविधा पाउनेछन्,’ लामाले भने ।

भीमफेदी गाउँपालिकाको १,२,३,४,६ र ७ नम्बर वडामा चेपाङ समुदायको बसोबास रहेको छ । गाउँपालिकाको अनुसार भीमफेदी गापामा १ सय ११ घरधुरीमा ४ सय ९५ जना चेपाङको जनसंख्या रहेको छ ।

निःशुल्क स्वास्थ्य विमामा ५ जनासम्म भएका परिवारको ३ हजार ५ सय रुपैयाँ थप प्रतिव्यक्ति सात रुपैयाँ स्वास्थ्य बिमा शुल्क लाग्ने भीमफेदी गापाका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले बताए । गाउँपालिकाले चेपाङ समुदायको स्वाथ्य बिमाको निम्ति करिब चार लाख रुपैयाँ लगानी गर्न लागेको हो । गरिबीको कारणले निःशुल्क स्वास्थ्य बिमाले चेपाङ समुदायलाई छुन सकेको छैन ।

‘गरिबीको कारणले चेपाङ जातिको एक परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा गर्न नसकेकाले’ गाउँपालिकाले गरिदिन लागेको गापा अध्यक्ष लामाले जनाए । ‘गाउँपालिकाले यो समुदायका निम्ति बर्सेनि स्वास्थ्य बिमा गर्ने नीति नै बनाउनेछौं,’ उनले भने ।

निःशुल्क स्वास्थ्य बिमा गरेपछि एक लाख रुपैयाँसम्मको निःशुल्क रूपमा उपचार पाइने व्यवस्था छ । सामान्य औषधोपचार गर्न नसकेर अकालमा ज्यान गुमाउने गरेका चेपाङ समुदायलाई उक्त कार्यले राहत पुर्‍याउने गाउँपालिकाको ठम्याइ छ ।
उक्त गाउँपालिकामा बसोबास गर्ने अधिकांश चेपाङ समुदायको आफ्नो स्वामित्वमा जग्गाजमिन छैन । यस गापामा सबैभन्दा बढी वडा नं ६ को उर्लाघारीमा चेपाङको बसोबास छ । सदियौंदेखि उनीहरू त्यही बसोबास गर्दै आएका छन् ।

बसेको छाप्रो र रगतपसिनाले सिँचेको जमिन उनीहरूको स्वामित्वमा छैन । बिहान बेलुका हातमुख जोर्न धौधौ पर्ने यो समुदायले रोगको उपचार गर्न स्वास्थ्य चौकी र अस्पताल पुग्ने सम्भावना नै थिएन ।

‘गाउँपालिकाले यो समुदायको निम्ति निःशुल्क स्वास्थ्य बिमा गरिदिएकाले अब उनीहरू स्वास्थ्य चौकी र अस्पतालमा उपचारका निम्ति आउने आशा गर्न सकिन्छ,’ स्थानीय समाजसेवी सुरेन्द्र थिकेले भने । उनीहरूको उपचारको एक मात्र विधि धामीझाँक्री नै हो ।

धामीझाँक्रीको कारण यो समुदायका बासिन्दाको ज्यान अकालमा जाने गरेको छ । ‘बिमाले यस क्षेत्रका चेपाङ समुदायको धामीझाँक्रीप्रति रहेका अन्धविश्वास क्रमशः टुट्दै जाने र उपचारको निम्ति स्वास्थ्य संस्थामा आउने क्रम बढ्नेछ,’ गापा अध्यक्ष लामाले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT