२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कर्मचारी अभाव टार्न स्वयंसेवक

हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मावि शिक्षक, नर्स, अनमी, खेलकुद प्रशिक्षक, बाल विवाहमुक्त प्रदेश अभियान सहजकर्ता लगायत जिम्मेवारीका लागि खटाइयो
सुवास विडारी

मकवानपुर — प्रदेश ३ अन्तर्गतका जिल्लाहरूमा रहेको कर्मचारी अभाव हटाउन प्रदेश सरकारले स्वयंसेवक परिचालन गरेको छ ।

कर्मचारी अभाव टार्न स्वयंसेवक

प्रदेश ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले १३ वटा जिल्लामा आवश्यकता अनुसार विभिन्न ११ वटा क्षेत्रका एक सय १५ जनालाई प्रदेश विकास स्वयंसेवकको रूपमा खटाएको हो । जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरी प्रदेश सरकारले विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका युवालाई स्वयंसेवकको रूपमा कार्यक्षेत्रमा पठाएको हो ।


सामाजिक विकास मन्त्रालयले हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मावि शिक्षक, नर्स, अनमी, खेलकुद प्रशिक्षक तथा प्रास/नाप्रास कृषि तथा पशु, बाल विवाहमुक्त प्रदेश अभियान सहजकर्ता तथा सहयोगापेक्षी सडक मानवमुक्त अभियान सहजकर्ताहरूलाई सोमबारबाट कार्यक्षेत्रमा पठाएको हो ।


प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमको रूपमा यस कार्यक्रम रहेको थियो । ‘युवाको गौरव, जवानीमा पौरख, प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ उनीहरूलाई दुई वर्षका लागि कार्यक्षेत्रमा खटाइएको मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।


उनका अनुसार उनीहरूलाई सेवासुविधाको व्यवस्था भने छैन । ‘प्रदेश सरकारले निर्वाह भत्ताबापत् केही रकम भने उपलब्ध गराउनेछ ।’ सुवेदीका अनुसार उक्त भत्ता भौगोलिक तथा कार्यक्षेत्रका आधारमा तय गरिएको छ ।


स्वयंसेवकलाई कार्यक्षेत्रमा बिदाइ गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पहिलो चरणमा कर्मचारीको अभाव रहेको स्थानमा स्वयंसेवक खटाइएको जानकारी दिए । उनका अनुसार अझै विभिन्न क्षेत्रबाट दोस्रो चरणमा करिब ९० जना छनोट गरी स्वयंसेवकहरूलाई कार्यक्षेत्रमा खटाउने तयारी भइरहेको छ ।


‘प्रदेशको विकासमा स्वयंसेवकबाट टेवा पुग्ने विश्वास लिइएको छ । विकास, जनसेवा र सामाजिक सेवाको काममा हामीले स्वयंसेवक परिचालन गरेका हौं,’ उनले भने, ‘यसलाई जागिरको भन्दा पनि सेवाका रूपमा लिन जरुरी रहेको छ ।’


उनले प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने अभियानमा जुटेको र आवश्यक गृहकार्य गरिरहेका कारण तथ्यांक संकलन र आवश्यक समन्वयका लागि सहजकर्तालाई स्वयंसेवकको रूपमा खटाइएको बताए ।


मन्त्री दुलालले सामाजिक विकास मन्त्रालयले यसै आर्थिक वर्षबाट सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यत्रम प्रभावकारी रूपमा अगाडि बढेको स्मरण गराउँदै स्वयंसेवक परिचालन कार्यक्रम पनि सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?