कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनिलिभरविरुद्ध उद्योगी र मजदुर आन्दोलित

बन्द हुँदै सहायक उद्योग 
मजदुर र उद्योगीले पाएनन् क्षतिपूर्ति 
युनिलिभरको मूल गेटमा धर्ना 
प्रताप विष्ट

हेटौंडा — आफू आबद्ध सहायक उद्योगका सञ्चालक र तिनमा कार्यरत मजदुरहरूलाई क्षतिपूर्ति नदिई बहुराष्ट्रिय कम्पनी युनिलिभरले धमाधम उद्योग बन्द गर्न थालेको छ । युनिलिभरको यस्तो कदमले स्थानीय उद्योगी र मजदुर आक्रोशित छन् । विरोधमा ट्रेड युनियन समन्वय केन्द्रले युनिलिभरको मुख्य प्रवेशद्वारमा तीन सूत्रीय माग राखेर धर्ना दिने भएको छ ।

समन्वय केन्द्रमा तत्कालीन एमाले, माओवादी केन्द्र र कांग्रेस निकट मजदुर संगठनका प्रतिनिधि आबद्ध छन् । समन्वय केन्द्रले हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै बन्द गरिएका सहायक उद्योग पुनःसञ्चालन गर्नुपर्ने, उद्योग बन्द गरेर अवकाश दिइएका मजदुरहरूलाई युनिलिभरमा रोजगारी दिनुपर्ने र एकतर्फी ढंगले उद्योग बन्द गरेकाले मजदुरहरूलाई उचित क्ष्ातिपूर्तिको माग दोहोर्‍याएको छ । केन्द्रले जेठ १३ गतेदेखि धर्ना तय गरेको संयोजक गंगाप्रसाद भट्टराईले बताए ।


'पटकपटक वार्ता गर्न खोज्दा पनि युनिलिभरका व्यवस्थापक उपस्थित नभएकाले बाध्य भएर धर्नामा उत्रनुपरेको हो,' भट्टराईले भने । पत्रकार सम्मेलनमा युनिलिभरले बन्द गरेका सहायक उद्योगका सञ्चालक पनि उपस्थित थिए । उद्योग सञ्चालक इन्द्रबहादुर बानियाँले वहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपाली उद्योग धराशायी बनाई मजदुरहरूलाई रोजगारविहीन बनाउन खोजेको आरोप लगाए । उनले हेटौंडा औद्योगिक क्षेत्रमा युनिलिभरको सहायक उद्योग गंगा सोप इन्डस्ट्रिज सञ्चालन गर्दै आएका थिए । उक्त उद्योगलाई युनिलिभरले एक महिनाअघि एकतर्फी ढंगले बन्द गरेको थियो । उद्योग र मजदुरहरूले क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।


युनिलिभरका हेटौंडामा तीनवटा सहायक उद्योग छन् । तीमध्ये २ वटा उद्योग बन्द गरिसकेको छ । उद्योगी र मजदुरहरूलाई क्षतिपूर्तिलगायत दिनुपर्ने रकम उपलब्ध गराएको छैन । हेटौंडा औद्योगिक क्षेत्रमै रहेको युनिलिभरको अर्को सहायक उद्योग युनिक सोप एन्ड केमिलक इन्डस्टि्रज ८ महिनाअघि नै बन्द भइसकेको छ ।


त्यहाँ कार्यरत मजदुरहरूले पनि क्षतिपूर्ति नपाएको गुनासो गरे । उद्योगी नवराज अर्यालका अनुसार पनि उद्योगले पाउनुपर्ने रकम पाएका छैनन् । त्यहाँ १११ जना कामदार कार्यरत थिए । उनीहरू रित्तो हात घर फर्किन बाध्य भए । युनिक सोपले ५ प्रकारका सर्फहरू उत्पादन गरेर युनिलिभरलाई दिँदै आएको थियो ।


गंगा सोप एन्ड केमिकल इन्डस्टि्रजका सञ्चालक बानियाँले युनिलिभरबाट पाउनुपर्ने २ करोड रकम भुक्तानी नपाएको बताए । 'युनिलिभरका व्यवस्थापकहरूसँग पटकपटक वार्ता गर्दा उनीहरूले मजदुरहरूलाई क्षतिपूर्ति र उद्योगले पाउनुपर्ने रकम उपलब्ध गराउन मानेका छैनन्,' बानियाँले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?