दासढुंगादेखि गोलाघाटसम्म एकीकृत विकास

रमेशकुमार पौडेल

चितवन — तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूली नदीमा खसेर ज्यान गुमाएको ठाउँ दासढुंगादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइने भएको छ । 

मदन भण्डारी फाउन्डेसनको सक्रियतामा प्रदेश-३ को नीति तथा योजना आयोगले गुरुयोजना निर्माणको काम सुरु गरेको छ । २६ वर्षअघि जेठ ३ मा जिप खस्दा आश्रितको शव घटनास्थलमै भेटिएको थियो । भण्डारीको शव घटनास्थलदेखि लगभग २५ किमि पश्चिम नारायणी नदीको गाँजीपुरमा फेला परेको थियो । दासढुंगादेखि गोलाघाटको बीचमा गाँजीपुर पनि पर्दछ । दासढुंगा र गाँजीपुरमा दुई नेताको स्मृति जोडिएको स्मारक बनाउने काम आउँदो आर्थिक वर्षबाटै सुरु हुने मदन भण्डारी फाउन्डेसनका चितवन अध्यक्ष तिलचन्द्र भट्टराईले बताए ।

‘राजनेताहरूको स्मृतिमा स्मारकहरू बनाउने चलन विश्वभर नै छ । भण्डारी र आश्रित पनि नेपालका ठूला नेताहरू हुनुहुन्थ्यो,’ भट्टराईले भने, ‘उहाँहरूको स्मृतिलाई चिरस्थायी राख्न दासढुंगा र गाँजीपुरमा तत्कालै केही काम हुन्छ । यी दुई क्षेत्रसँग जोडिएका अन्य ठाउँको पनि विकास गर्ने योजना छ ।’ फाउन्डेसनले नदी किनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमहरू अगाडि सारेको छ ।

दासढुंगादेखि तल नदी किनारमा देवघाट, दियालोबंगला क्षेत्र, नारायणगढको नदी तट, नगरवन, ज्ञानेश्वर सामुदायिक वन क्षेत्र र गोलाघाट पर्छन् । गोलाघाट सूर्यास्तको दृश्य हेर्न पाइने ठाउँ हो । नवलपुर क्षेत्रमा पनि धार्मिक र पर्यटकीय क्षेत्र छन् । यी सबै क्षेत्रको विकासका लागि फाउन्डेसनले अगाडि सारेको अवधारणाअनुसार प्रदेश सरकारले विज्ञ टोलीलाई सम्मिलत गराएर गुरुयोजना बनाउन सुरु गरेको हो ।

दासढुंगा क्षेत्रमा मदन र आश्रितको अर्धकदको सालिक र जिप खसेको ठाउँमा रेलिङ राखिएको छ । त्यो क्षेत्र अलपत्रजस्तै रहेको भरतपुर महानगरपालिका-२९ का वडाध्यक्ष मनबहादुर मगरले बताए । दासढुंगा भरतपुर-२९ मा पर्छ ।

त्यसैगरी, भरतपुर-१७ मा पर्ने गाँजीपुरमा पनि सामान्य कामबाहेक ठोस केही हुन सकेको छैन । नारायणगढ-मुग्लिन सडकमै पर्ने भए पनि धेरैले दासढुंगा कहाँ छ भन्ने भेउ पाउँदैनन् । ‘दुर्घटनास्थलदेखि पारी देवघाटको पहाडी थुम्कोमा दुई नेताको मूर्ति राख्ने जुन सडकमा यात्रा गर्नेहरूले पनि देख्नेछन् । दासढुंगा क्षेत्रमा संग्रहालयदेखि नीतिका विषयमा अनुसन्धान र तालिम कार्यक्रमहरू सञ्चालन गर्ने ठाउँ बनाउने योजना छ,’ गुरुयोजना निर्माण समितिका रहेका सहरी योजनाकार, आर्किटेक्चर बाबुराम भट्टराईले भने । नदी रवन क्षेत्रका आडमा भएका कारण अनुसन्धान र तालिमका लागि उपयुक्त भएकोउनले बताए ।

त्यस्तै, गाँजीपुरमा मदन भण्डारीको शव त्यो बेला जेजसरी देखिएको थियो, त्यही अवस्था झल्कने गरेर प्रतिमूर्ति राख्ने योजना बनाएको उनले जानकारी दिए । ‘शव नदी किनारदेखि केही पर भेटिएको रहेछ । त्यहाँ त्यो बेला जुन अवस्थामा शव देखिएको थियो, त्यसैको झल्को दिने गरेर संरचनाहरू बनाउन सकिन्छ,’ भट्टराईले भने । जलयात्रा र अन्य गतिविधि राखेर पर्यटन विकासमा पनि योगदान दिन सकिने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

परिणाममुखी काम गर्न सकेनौं : नगर प्रमुख

टीकाप्रसाद भट्ट

रामेछाप — कतिपय स्थानीय सरकारका प्रमुखले पहिलो नभएका काम गर्‍यौं भन्ने फेहरिस्त सुनाइरहेका बेला रामेछापको मन्थली नगरपालिकाका प्रमुखले काम गर्न नसकेको स्वीकार गरेका छन् । ‘हामीले निर्वाचित भएको २ वर्षभित्र परिणाममुखी काम गर्न सकेनौं,’ नगर प्रमुख रमेशकुमार बस्नेतले भने ‘खुल्ला रूपमा भन्नुपर्छ, हामीले थुप्रै काम गर्‍यौं तर देखिने काम गर्न सकेनौं ।’

उनले बितेका २ वर्ष अनुभव, कानुन र कर्मचारी अभावलगायतको कारण परिणाम देखिने काम नभएको बताए । ‘धेरै सुधारका काम भए, तर नागरिकले के गरिस् त भनेर सोध्दा केही देखाउने काम गर्न सकेनौं,’ बस्नेतले भने ।

नगरको काम हुन नसक्नुमा विधि र विधान बमोजिम चल्न सकक्नुलाई उनले लिएका छन् । ‘शासन विधि र विधान बमोजिम हुनुपर्छ ’ वस्नेत भन्छन ‘तर मन्थली नगरपालिकामा विधि र विधान मिच्न खोज्ने काम हुन्छ । नगरप्रमुख भएदेखि आजसम्म मैले यसैको लागि संषर्ष गर्नुपरेको छ ।’

निर्वाचित भएको २ वर्ष पुगेको अवसरमा सोमबार नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा बस्नेतले भने ‘विधि एकातिर, बलमिच्याइ अर्कोतिर भएकाले काम गर्न असाध्यै गाह्रो र पीडा खेप्नुपरेको छ ।’ सबै आलोचना खेपेर पनि विधिमा नगरलाई हिँडाउनका लागि प्रयासरत रहेको उनले बताए ।

जिल्ला सदरमुकामको नगरपालिका भएकाले देशका अन्य भागबाट आउने जनप्रतिनिधिको अघि लज्जाबोध हुनुपरेको बस्नेतले अनुभव सुनाए । ‘नगर धुलाम्मे छ, अन्तबाट आएका साथीले भेटा तिम्रो नगरपालिकामा त कति धूलो रहेछ है, भन्दा मैले लज्जाबोध गर्नुपरेको छ,’ बस्नेतले भने । उनले सडक चौडा पार्ने काम र खोलाको उचित व्यवस्थापन हुन नसक्दा नगर धुलाम्मे हुन पुगेको र केही समयपछि त्यसलाई व्यवस्थापन गर्ने योजना सुनाए ।

नगरपालिकाले आवधिक योजना निर्माण नगरेकोले ठूला योजनामा रकम विनियोजन गर्न कठिनाइ भएको छ । नगरपालिकाको भावी योजना सुनाउँदै उनले ‘हामी नगरका केही ठूला र प्रभाव पार्ने खालका योजनामा लगानी केन्द्रित गर्ने गरी काम अघि बढाउँदै छौं,’ उनले भने । उनले रणनीतिक योजना निर्माणको चरणमा रहेको बताए ।

साना सिँचाइ, खानेपानी, वातावरणको संरक्षण, पशुपालन, पर्यटनको विकास, धूलो नियन्त्रण, पार्क निर्माण, खेलकुद मैदान र कवर्डहलको निर्माण, चिस्यान केन्द्रको निर्माणजस्ता कार्यक्रम अघि सारिएको बताए । उनले नगरपालिकाको बाहिरी चक्रपथको कालोपत्रे हुन थालेको जनाए । मन्थली नगरपालिकाको चालु आर्थिक वर्षमा करिब ८७ करोड बराबरको बजेट परिचालन हुने लक्ष्य छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT