कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालय सहयोगीले पढाउँदै

सुजता लामा

सिन्धुलीमाढी — सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ स्थित कुभिन्डे प्रावि, वितिजोरमा शिक्षक अभावले विद्यालय सहयोगीले पढाउने गरेका छन् । उक्त विद्यालयमा एक जना मात्र शिक्षक भएकाले विद्यालय सहयोगीले पनि पढाउने गरेका हुन् ।

विद्यालयमा एक राहत शिक्षक जुनु श्रेष्ठ मात्रै छिन् । विद्यालयका प्रअ र एक अस्थायी शिक्षक शिक्षक सेवा आयोगको परीक्षामा असफल भएपछि विद्यालयमा शिक्षकको अभाव भएको हो ।


बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता तृष्णा कुँवर छिन् । उनको ड्युटी १ बजेसम्म मात्रै छ । उनी १ बजेपछि घर जान्छिन् । विद्यालय सहयोगी यादव ठकुरीले नियमित ढंगले पढाउँदै आएका छन् । ‘विद्यालय सहयोगीले पनि पढाउने गरेका छन्,’ शिक्षक श्रेष्ठ भन्छिन्, ‘विद्यालयमा शिक्षकको अभाव भएपछि विद्यालय व्यवस्थापन समितिले नै विद्यालय सहयोगी यादवलाई पढाउन दिने निर्णय गरेको हो ।’


विद्यालय सहयोगी यादवले ८ कक्षा पढेका छन् । विद्यालयको पठनपाठन नै ठप्प हुने भएपछि विद्यालय सहयोगीलाई विद्यालयको आन्तरिक स्रोतबाट ३ हजार रुपैयाँ थप दिएर पढाउन लगाएको शिक्षक श्रेष्ठले बताइन् । शिक्षक आफूमात्र रहेकाले १,२ र ३ कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेको उनले बताइन् । ४ र ५ कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पढाउने गरेकी छन् । ‘कहिलेकाहीँ त ५/७ दिन नै शिक्षकका लागि तालिम हुन्छ । कहिले कार्यक्रम पर्छ । जानु परिहाल्यो,’ शिक्षक श्रेष्ठले भनिन्, ‘त्यति बेला त विद्यालय सहयोगीकै भरमा विद्यालय चल्ने हो ।’


आफू र सहयोगी बिरामी तथा घरायसी काम परेको बेला सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता भएको उनले सुनाइन् । ‘कहिले कार्यालय सहयोगी बिरामी पर्छन् त कहिले घरायसी काम परेर आउँदैनन् । त्यस्तो बेला त सबैलाई एकै ठाउँमा राखेर पढाउनुपर्छ,’ उनले भनिन्, ‘एकै ठाउँमा राखेर पढाउँदा समस्या हुन्छ तर के गर्नु अरू शिक्षक छैनन् ।’


विद्यार्थीको पनि उस्तै गुनासो छ । सबै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा आफूहरूलाई डिस्टब हुने उनीहरू बताउँछन् । कक्षा ५ मा अध्यनरत मेख तामाङ भन्छन्, ‘सबैलाई एकै ठाउँमा राख्दा धेरै नै समस्या भएको छ । एक, दुई कक्षामा पढ्ने भाइ बहिनीहरू भने चल्ने, झगडा गर्ने, एकले अर्कोलाई पिट्यो, जिस्कायो भनेर रुने, कराउने गर्छन् । हाम्रो पढाइमा डिस्टब हुन्छ ।’


प्रावि वितिजोर कुपिण्डेमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी अध्यनरत छन् । ‘आर्थिक अवस्था राम्रो भएकाहरूले सदरमुकाम सिन्धुलीमाढीमा राखेर छोराछोरीलाई पढाउने गरेका छन् । सदरमुकाममा राखेर पढाउन नसक्नेले मात्र यस विद्यालयमा पढाएका छन् । कुपिण्डेमा प्रावि वितिजोर मात्रै छ ।


आफ्ना छोराछोरीलाई अन्त पढ्न पढाउन पनि टाढा पर्छ । त्यहाँबाट झन्डै डेढ घण्टा टाढा पञ्चकन्या निमावि छ । प्रावि वितिजोर कुभिन्डेमा ४२ जना विद्यार्थी छन् ।


गाउँपालिकाले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमपछि विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । शिक्षकको अभावले गर्दा गुणस्तरीय पठनपाठन हुन नसकेको शिक्षक श्रेष्ठ बताउँछिन् । ‘शिक्षकको पद रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिलाई आफूले पटकपटक भनेको तर सुनुवाइ भएको छैन,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?