कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गरिबको ज्यान लिँदै नसर्ने रोग

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लामा नसर्ने रोगका कारण ८० प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । विशेष गरी न्यून आय भएका मानिसको मृत्यको कारण महुमेह, रक्तचाप, मृगौलासम्बन्धी रोगहरू बनेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको हो । 

नसर्ने रोग रोकथामको अभियान जिल्लामा नहुँदा समस्या देखिएको छ । संघीय सरकारले केही जिल्लामा नसर्ने रोग रोकथाम कार्यक्रम लागू गरे पनि काभ्रेमा त्यो लागू छैन । ‘अभियानकै रूपमा हुने हो भने अझ प्रभावकारी हुन्थ्यो,’ स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नन्दलाल अवस्थीले भने, ‘वडा तहसम्म कार्यक्रम लाग्न सकियो भने यसको रोकथाम पनि हुने र यसकै लागि धेरै खर्च हुने स्थिति नियन्त्रण गर्न सकिन्थ्यो ।’


अभियान लागू भएका जिल्लामा मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोगजस्ता नसर्ने रोगको परिक्षण, औषधि वितरण र अभियान सञ्चालन भइरहेको छ । ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने नारासहित सञ्चालन भइरहेको मेरो वर्ष अभियान’ मा नसर्ने रोगका बारेमा जनचेतना जगाए पनि त्यो पर्याप्त छैन,’ अवस्थीले भने, ‘रोकथाम कार्यक्रम नै लागू हुने हो भने ठूलो जनसंख्या लाभान्वित हुने गरेका छन् ।’


स्वास्थ्य कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ५ सय ३७ जनालाई गम्भीर प्रकृतिका रोग रोगको औषधि उपचारको लागि ५ करोड ३७ लाख रुपैयाँ खर्च उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गरेको थियो । सरकारले आर्थिक रूपले विपन्न नागरिकलाई मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागि नेपाल वा विदेशमा गई उपचार गराउँदा बढीमा एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च प्रदान गर्दै आएको छ ।


स्वास्थ्य कार्यालय प्रमुख अवस्थीले अभियान लागू हुने हो भने पैसासमेत बचत हुने दाबी गरे । ‘अभियान चलाएर सुरुमा नै रोग पत्ता लगाउन सकियो भने समयमा नै उपचार थाल्दा निको हुन सक्छ,’ अवस्थीले भने, ‘त्यसबाट व्यक्तिको र राज्यको खर्च पनि बच्छ ।’


सरकारले जिल्ला अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउने ७०, प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ र स्वास्थ्य चौकीमार्फत उपलब्ध गराउन ३५ प्रकारका औषधिमा ती रोगका औषधि पर्दैन । प्राथमिक स्वास्थ्य चौकीमा मात्रै प्रयोगशाला हुने भएकाले स्वास्थ्य संस्थामा पनि नसर्ने रोगको निदान हुने अवस्था हुँदैन ।


नसर्ने रोग पछिल्लो समय मृत्युको प्रमुख कारण बनिरहेको छ । अस्वथ्यकर जीवनशैली, खानपान आदि नसर्ने रोगका प्रमुख कारण हुन् । उच्च रक्तचाप, मधुमेह मृत्युको कारण बनिरहेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?