१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भरुवा बन्दुकसहित तीनजना पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले तीन थान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । गोली लागेर एकजना घाइते भएको घटनापछि उनीहरु समातिएका हुन् । 

भरुवा बन्दुकसहित तीनजना पक्राउ

आइतबार बिहान चितवन जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएपी) दुर्गाराज रेग्मीले पक्राउ परेका मध्ये घाइते एकजनाको काठमाडौंमा उपचार भइरहेको जानकारी दिए ।


भरतपुर महानगरपालिका–२९ मा पर्ने जुगेडीको इन्द्रेणी सामुदायिक वनभिक्र डल्ले आहाले क्षेत्रमा शुत्रबार मध्यान्ह ११ बजे गोली लागेर एकजना घाइते भएका थिए । जुगेडीका २९ वर्षीय सुकबहादुर चेपाङको दाहिने खुट्टाको घुँडामा गोली लागेर भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउन आएको जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


‘सामुदायिक वनमा बँदेल लगायतका जनावरको सिकार गर्न बन्दुक बोकेर गएका सुकबहादुर लडेपछि उनले बोकेको भरुवा बन्दुक पड्केको र घुँडामा बन्दुकको छर्रा लागेर उनी घाइते भएको पत्ता लागेको थियो’ डिएसपी रेग्मीले भने ।


अनुसन्धानका क्रममा सुकबहादुरको समूहका अन्य दुईजना पनि रहेको खुलेपछि प्रहरीले खोजतलास गर्दा जुगेडीका ३५ वर्षीय सोमबहादुर गुरुङ र भार्लाङका ३४ वर्षीय सुर्यबहादुर चेपाङ पनि समातिएका हुन् ।


उनीहरु समातिएपछि शनिबार सामुदायिक वनभित्रै झाडीमा माटोमुनी लुकाएर राखेको घरमा बनाएको तीन थान भरुवा बन्दुक फेला परेको डिएसपी रेग्मीले बताए ।


घाइते सुकबहादुरको काठमाडौं शिक्षण अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनीहरु विरुद्ध हातहतियार तथा खरखजना मुद्दा दायर हुने छ । अभियोग प्रमाणित भए १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने डिएसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?