एएफयूले कृषि प्रदर्शनी गर्ने

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले कृषि प्रदर्शनी तथा कृषक मेला गर्ने भएको छ । विश्वविद्यालय स्थापना भएको १० वर्ष पुगेको अवसरमा मेला गर्न लागेको रजिस्ट्रार तथा मूल आयोजक समितिका अध्यक्ष मनराज कोलाक्षपतिले बताए । 

रामपुरमा रहेको विश्वविद्यालय परिसरमा जेठ ३२ ेदेखि असार ३ सम्म मेला सञ्चालन हुनेछ । प्रदर्शनीमा कृषि यन्त्र, कृषिमा सूचना प्रविधिको प्रयोगसम्बन्धी जानकारी, बाली बिमाका सूचना दिने ५० स्टल रहने कोलाक्षपतिको भनाइ छ । एएफयुका उपकुलपति ईश्वरीप्रसाद ढकाल किसानलाई सहभागि गराएर कृषि क्षेत्रमा भएका प्राज्ञिक र अनुशन्धानका कुरा राख्न खोजेको बताए ।


प्रदर्शनीमा किसान, वैज्ञानिक, विज्ञ र कृषि व्यवसायीको जमघट हुने उनले बताए । त्रिविको आंगिक क्याम्पसको रूपमा रहेको रामपुरको केन्द्रीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान नै विश्वविद्यालयमा परिणत भएको हो । २०४५ सालसम्म प्रत्येक वर्ष रामपुरमा कृषि मेला र प्रदर्शनी हुने गर्थ्यो । एएफयू स्थापना भएपछि पनि सुरु नभएको ऊक्त कार्यत्रम अहिलेबाट सञ्चालनमा आउन लागेको रजिस्ट्रार कोलाक्षपतिले बताए ।


१० वर्षमा १० अनुसन्धान

कृषि विश्वविद्यालय स्थापना भएको १० वर्षमा कृषिसँग सम्बन्धित १० अनुसन्धान पूरा भएका छन् । माछाको एक प्रजाति टिलापियाको उपयुक्त प्रजनन् विधि, आहार व्यवस्थापनमा सफल अनुसन्धान भएको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक नवराज देवकोटाले बताए ।


त्यसैगरी पशु आहार, धान उत्पादनमा पोषण तत्त्वको व्यवस्थापन र सुन्तला उत्पादन प्रविधिमा पनि सफल अनुसन्धान भएको उनले बताए । विश्वविद्यालयले भैंसी प्रजननको विषयमा पनि महत्त्वपूर्ण अनुसन्धान गरेको उनले जानकारी दिए । भैंसीमा प्रजनन् नहुने, बाँझोपन बढ्नेजस्ता समस्याको निराकरणका लागि विश्वविद्यालयको समूहले अनुसन्धान गरेर उत्साहजनक नतिजा ल्याएको देवकोटाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?