कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनुदानमा जडीबुटीका बिरुवा

काभ्रे — प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटबाट डिभिजन वन कार्यालयले जिल्लामा ६६ हजार बिरुवा वितरण गर्ने भएको छ । सतुवा, चिराइतो, अर्गेली, टिम्बुर, रुद्राक्षका बिरुवाका लागि ५५ लाख रुपैयाँ रकम विनियोजन भएको थियो । 

धसिङगरेको प्राकृतिक व्यवस्थापन, अल्लो, अर्गेली, लोत्ताको प्राकृतिक वृक्षरोपण (पकेट क्षेत्र), वृक्षरोपण प्रवर्द्धन कार्यक्रम, वन नर्सरी प्रवर्द्धन लगायतका शीर्षकमा कार्यक्रम प्राप्त भएका छन् । सतुवाका ४ हजार, रुद्राक्षका ४ हजार, चिराइतोका ३० हजार, अर्गेलीका २० हजार र टिम्बुरका ८ हजार बिरुवामा अनुदान दिइने डिभिजन प्रमुख बद्रीकुमार कार्कीले जानकारी दिए ।


विकासे कलमी अमला, बेल र बयर, जामनु–फडिर, इमाली, ओखर, पिकानट, मेकाडामिया, ड्र्यागनफ्रुट, जापानिज कटुसलगायतका बिरुवा खरिद गरी कृषकको आयआर्जनका लागि वितरण गर्न प्रदेश सरकारले १२ लाख रकम उपलब्ध गराएको सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिए ।


वन कार्यालयले संघीय सरकारबाट प्राप्त अनुदानबाट जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रका लागि लाप्चे कबुलियती वन अन्तरसमूह खानीखोलालाई सोलार ड्रायर खरिदका लागि ४ लाख अनुदान उपलब्ध गराएको छ । इलेक्ट्रिक ड्रायरका पनौती नगरपालिका ८ खरिबोटमा रहेको हरेकृष्ण हर्बल सप्लायर्सलाई ४ लाख उपलब्ध गराइएको छ ।


चण्डेश्वरी जडीबुटी उद्योग बनेपा ३ लाई कच्चा पदार्थ राख्ने ट्रस्ट निर्माणका लागि २ लाख उपलब्ध गराएको छ । जडीबुटी खेती विस्तार र भण्डारणका लागि बुडोल जडीबुटी उद्योग बनेपा ६ लाई ७ लाख, कोरोना मेडिकल एन्ड हेल्थ रिसर्च पनौती ३ ले ३ लाख प्राप्त गरेको छ ।


सहकारीमार्फत जडीबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि चमत्कार सहकारी खानीखोला ७ लाई १५ लाख र सप्तऋषि बहुउद्देश्यीय सहकारी महाभारत ५ बुढाखानीलाई ५ लाख दिने निर्णय भएको डिभिजन वन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए ।


आर्थिक वर्ष अन्त्यतिर बजेट प्राप्त भएकाले प्रभावकारी बनाउन वन कार्यालयले सामुदायिक वन उपभोक्ता महासंघअर्न्तगतका समूहका अध्यक्ष, कृषक, जडीबुटी व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरेको सहायक वन अधिकृत श्रेष्ठले बताए ।


प्रकाशित : जेष्ठ २२, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?