कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृद्ध दाजुभाइको घर बनाउने धोको

सिन्धुपाल्चोक — बुढ्यौली ज्यानमा थोत्रा र च्यातिएका लुगा । चार वर्षको घाम पानीले टहराको जस्तापाता जताततै प्वाल परिसकेका छन् । बिहानबेलुकीको छाक टार्न मुस्किल छ । आँखा र शरीर सुन्निँदा हिँडडुल गर्न पनि हम्मेहम्मे परेको छ । इन्द्रावती गाउँपालिका— १० का बडहरेका ८६ र ८२ वर्षका दाजुभाइ तुलसीदास र बलराम श्रेष्ठको अवस्था हेर्दा जोकोहीलाई नरमाइलो लाग्छ ।

वृद्ध दाजुभाइको घर बनाउने धोको

‘छाकको जोहो गर्नमै दिन जान्छ । टहराबाट कहिले लघारिनुपर्ने हो थाहा छैन, के गर्नु यस्तै लेखेको रहेछ,’ तुलसीदासले स्वाँस्वाँ गर्दै भने, ‘अरूको जग्गामा टहरो छ ।’


अर्काको जग्गामा बसाइ भए पनि दुवैको धोको आफ्नै घर बनाउने छ । २०६२ सालसम्म वरपरको जग्गामा तुलसीदासका पाँच दाजुभाइ खेतीपाती गरेर गुजारा चलाउँथे । जेठा र माइलाले तराई पुगेर बिहेवारी चलाए । यता बुबाआमा र आफैंलाई विभिन्न समस्या पर्दा लिएको ऋण थुप्रियो । भूकम्पले पुर्ख्यौली घर ढलाएपछि झनै नराम्रो दिन सुरु भयो । घरवरिपरिको जग्गा बेच्दै ऋण तिर्दै जाँदा सम्पत्ति सकियो ।


‘धेरैको वचन सहन नसकेपछि सबै बेचेर ऋण तिरिदियौँ तर आफू बस्नुपर्ने जग्गाको बारेमा सोचेनौँ, अहिले दिक्क लाग्छ,’ बलरामले भने । जेठा र माइला उतै बितेको र केही समयअघि साइला भाइको मृत्यु भएको उनले सुनाए । दयनीय अवस्थामा बाँचिरहेका दाजुभाइ कसैले केही जग्गा सहयोग गरिदिए घर बनाउने धोको राख्छन् ।


‘दिनरात यो बूढो शरीर घोटाएर भए पनि घर बनाएर छाड्थ्यौं,’ उनले भने, ‘जग्गा किन्ने हैसियत छैन । सानो घरको सपना मात्रै देखेर मरिन्छजस्तो छ ।’ अविवाहित दाजुभाइ वृद्धावस्थामा एक्लै परेका छन् । कुखुरा र बाख्रा पालेर घर बनाउने जोहो गर्दै रहेका उनीहरू अझै ज्याला मजदुरी गर्न खोज्छन् । ‘बुढेसकालमा किन चाहियो घर ?’ भनेर केहीले गिज्याइरहे पनि आफ्नो सुर नछाडेको दुवैको भनाइ छ । मर्नुअघि सुरक्षित घरमा बस्ने इच्छा उनीहरूको छ ।


दुवै वृद्ध र बिरामी भएकाले स्थानीयले आवश्यक सहयोग गर्दै आएका छन् । समस्या बुझेपछि दुवैलाई वृद्धाश्रममा लैजान खोजेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए । ‘उहाँहरूको त्यही घर बनाउने इच्छा देखिएको छ, त्यसको लागि पहल गर्दै छौँ,’ उनले भने । आवास अनुदान उपलब्ध भए पनि घर बनाउने जग्गा नभएका कारण दुवै अन्योलमा परेको उनले प्रस्ट्याए ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?