१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश नामकरण बहस सुरु

काठमाडौँ — प्रदेश ३ को स्थानीय राजधानी तोक्ने विषय पेचिलो बनिरहेको समयमा नामकरणको चर्चासमेत सुरु भएको छ ।हालसम्म प्रदेशको स्थायी राजधानी कहाँ भन्ने टुंगो नलागेको अवस्थामा प्रदेशसभा सदस्यहरू भने नामाकरणको विषयलाई अगाडि सारेर अन्तर्क्रिया तथा छलफल समेत गरिरहेका छन् ।

प्रदेशसभामा तीनवटा नामको विषयमा प्रस्ताव दर्ता भएका छन् । यसले गर्दा प्रदेशको स्थायी राजधानी कायम गर्ने विषय र नामकरणको विषय थप पेचिलो बन्ने संकेत गरेको छ । प्रदेशसभा गठन भएको करिब डेढ वर्षको अवधिमा राजधानीको विषय पटकपटक उठे पनि नामकरणको विषयले चर्चा पाएको थिएन । वैशाख ३१ गते संसद्मा राजधानी टुंगो लगाउने कार्यविधि पेस भएपछि नामकरणको विषयले पनि चर्चा पाएको हो ।


राजधानीको विषयमा औपचारिक रूपमा प्रदेशसभामा छलफल सुरु भए पनि नामकरण पनि सँगै छलफल हुनुपर्ने सांसदहरूको माग रहेको छ । प्रदेश ३ को नाम गौरीशंकर, नेवा–ताम्सालिङ र नेपाल मण्डल राख्नुपर्ने भन्दै प्रदेशसभामा छुट्टाछुट्टै प्रस्ताव दर्ता भइसकेका छन् । दोलखाका सांसद विशाल खड्काले वैशाख ३१ गते प्रदेश तीनको नाम गौरीशंकर राख्नुपर्ने प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा जेठ १८ गते प्रदेशको नाम नेपाल मण्डल राख्न सांसदद्वाय अजयक्रान्ति शाक्य र वसन्त मानन्धरले संयुक्त रूपमा नामको विषयमा प्रस्ताव दर्ता गराएका छन् । यसैगरी जेठ ९ गते प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभा सदस्य ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेशसभा सदस्यहरू प्रेमबहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।


प्रदेशसभामा पेस भएको स्थायी राजधानी कायम गर्ने कार्यविधिमा नामकरणको वषयमा केही पनि उल्लेख छैन । यस विषयमा प्रदेश सरकारसमेत हालसम्म मौन छ । राजधानीको विषय सदनमा पेस गरिएपछि नामकरण पनि सँगै छलफलमा ल्याइनुपर्ने माग उठेको थियो ।


तर, सरकारले यो विषयमा आधिकारिक जवाफ दिएको छैन । कार्यविधि पास भए पनि राजधानीको टुंगो लगाउने मिति नै अनिश्चित छ । सांसदहरूले बजेटअघि नै राजधानी टुंगो लगाउनुपर्ने माग गरेका छन् । राजधानीसँगै नामकरण पनि टुंगो लगाउनुपर्ने उनीहरूको माग छ ।


हालसम्म विभिन्न सांसदहरूले पशुपति, वाग्मती, राजधानी, गोसाईंकुण्ड तथा मध्यप्रदेश नाम राख्नुपर्ने बताउँदै आएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न सार्वजनिक मञ्च तथा कार्यक्रममा स्थान टुंगो लगाएपछि नामकरण सजिलै टुंगिने दाबी गर्दै आइरहेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?