कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वर्षे भेल नथेग्ने कल्भर्ट 

कृष्ण थापा

कागुने, नुवाकोट — सामरी खोलाको भेल नथेग्ने गरी कल्भर्ट निर्माण थालिएपछि कागुने र रिपगाउँका बासिन्दाले विरोध गरेका छन् । सानो हृयुमपाइप राखिएकाले वर्षाको पानीले पूरै निकास नपाउँदा कल्भर्टकै कारण बस्तीतर्फ भेल सोझिने जोखिम भएको भन्दै गाउँलेले विरोध गरेका हुन् । 

वर्षे भेल नथेग्ने कल्भर्ट 

आफूहरूसँग छलफल नै नगरी कागुनेबजार र खडकाटार जोड्ने सडकमा बनाउन सुरु गरिएको कल्भर्ट अनुपयुक्त रहेको दाबी गाउँलेको छ । स्थानीयले निर्माण समितिलाई ठूलो हृयुमपाइप राख्नुपर्ने माग गरेका छन् । कागुने र रिपगाउँ विदुर नगरपालिका–१३ मा पर्छन् । यो क्षेत्र म्यागङ र तारकेश्वर गाउँपालिकासँग पनि जोडिएको छ । ‘वर्षामा खोलाको भेल घरै बगाउलाझैं गरी आउँछ,’ स्थानीय शोभा श्रेष्ठले भनिन्, ‘कल्भर्टमा हालिएको ह्युमपाइप सानो छ । भल बस्तीभित्र छिर्ने डर भयो ।’


उपभोक्ता समितिले १ सय २० सेमीको पाइप हाल्नुपर्नेमा ९० सेमीको पाइप हालेको स्थानीयले बताएका छन् । खोलासँग जोडिएको रिपगाउँतर्फ खेत पर्छ । अहिले खेतमा बर्खे धान छ । कागुनेपट्टि खेत र बस्ती पर्छ । ‘कर्ल्भटले गर्दा घरखेतै जाने भो,’ अर्की स्थानीय गीता श्रेष्ठले भनिन्, ‘खोला दबिएर नगएकाले बर्खामा उर्लेर आउँदा बस्तीमा छिर्छ । भएको खेत र भर्खर बनाएको घर जाने भो ।’


कागुनेपट्टि ६० घरधुरी छन् । खेत ८० रोपनीभन्दा बढी छ । यता रिपपट्टि ८० रोपनी खेत छ । नजिकै सुन्दरादेवी मन्दिर छ । म्यागङ गाउँपालिका–५ सामरीभन्ज्याङदेखि सामरी खोला बग्दै त्रिशूलीमा मिसिन्छ । सामरीमुनि २०२८ सालमा दुईवटा ठूला पहिरो आए । तलका बस्ती जोखिममा परे । ‘पहिरो बर्सेनि आउँछ,’ अर्का स्थानीय मानबहादुर खडकाले भने, ‘कल्भर्टले बर्खे भेल छेकिएपछि बस्ती जोखिममा पर्ने भो । वारि र पारिका खेत पनि रहने भएनन् । अहिले बनाइएको कल्भर्टमा पाइपको मुख सानो छ । ढुंगा थुप्रेपछि खोलो उर्लेर बस्ती पस्छ भनेर विरोध गरेका हौं ।’ उपभोक्ता समितिले स्थानीयवासीसँग सरसल्लाह गरेर काम गरेको भए विरोध नआउने उनले बताए ।


उपभोक्ता समिति अध्यक्ष राजुराम खडकाले कल्भर्टमा माथिबाट खोला जाने भएकाले पाइप साना राखिएको बताए । उपभोक्ता समितिमा कर्मचारी बस्न नपाइने नियम छ । समितिले उक्त नियम मिचेर दुईजना कर्मचारी सदस्यमा राखेको पनि स्थानीयको आरोप छ ।


समितिले वडासँग समन्वय नै नगरी काम गरेको १३ नम्बरका वडाध्यक्ष दलबहादुर तामाङले बताए । ‘काम गर्दा सिफारिस नचाहिने,’ वडाध्यक्ष तामाङले भने, ‘स्थानीयको विरोधबीच एक्कासि भुक्तानीका लागि सिफारिस पाऊँ भन्ने आएका छन् । कसरी दिऊँ ?’

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?