२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हेलम्बुमा नमुना बस्ती तयार

अनिश तिवारी

हेलम्बु, सिन्धुपाल्चोक — हरियो छानोसँगै चिटिक्क मिलेका घर । हृयोल्मो संस्कृतिका ‘मर्चेगुम्बा’ शैलीको घर पाएपछि हेलम्बु गाउँपालिका याम्बालामाकी ६५ वर्षीया चेंगा लामा औधि खुसी छिन् ।

हेलम्बुमा नमुना बस्ती तयार

देवीदेवताको स्तुति झल्कने कलात्मक झ्याल देखाउँदै उनले भनिन्, ‘अब भूतप्रेत आउँदैन, यो हृयोल्मो देवीदेवताले रक्षा गर्छन् । सबैतिर शान्ति फैलन्छ ।’ भूकम्पको चार वर्षपछि घर तयार भएर उनी खुसी हुन पाएकी हुन् । घरका लागि उनले पुर्ख्यौली थलोबाट जोगाएको काष्ठकलाले सिँगारिएको ढोका थियो । त्यो नयाँ घरको कोठामा सजाएको उनले बताइन् ।


नादाङबाट भागभाग गरेर आएका स्याङ्बो हृयोल्मो लामाले चाँडै बस्तीमा सर्ने तयारीमा जुटेका भेटिए । पहिले नै हृयोल्मो वास्तुकलाको आँगनमा बौद्ध परम्पराअनुसारका मन्त्र लेखिएको ध्वजा ‘दर्जो’ झन्डा फहराइसकेका छन् । उनले झ्याललाई रंगीन बनाउन भ्याएको बताए । ‘बल्ल ढुक्क महसुस गरेँ, बासको ठेगान भयो,’ उनले भने, ‘हेलम्बु गाउँपालिका र सहयोगी संस्थालाई धन्यवाद छ ।’


हृयोल्मो भूमिको रूपमा चिनिएको हेलम्बु गाउँपालिकाको तेम्बाथाङ पुग्दा जोकोहीलाई लाग्छ, कुनै प्राचीन समृद्ध परम्पराले भरिएको धार्मिक नगर हो । भूकम्पले अधिकांश घर भत्काएको थियो । जनहित ग्रामीण सेवा समितिले अक्सफामको साझेदारीमा तेम्बाथाङमा ४० घरको एकीकृत बस्ती बनाएको हो । एकै आकारप्रकार र रंगका घर सुन्दर देखिएका छन् ।


भूकम्प र पराकम्पले हेलम्बुको याम्बालामा, नादाङ, सेतीघ्याङ, थिपाल, फादुङ, मेन्दुङ र टसीथाङको बस्तीमा क्षति पुर्‍याएको थियो । जमिन धाँजा फाटेपछि ४० परिवार सुरक्षित स्थानको खोजीमा खुबै भौंतारिए । टहरा हालेर बसिरहेका परिवारले घर ठडिएलगत्तै बौद्ध धर्मका महागुरु रेन्पोछे, मिलारेपा, आर्य अवलोकेश्वर र बुद्धको पूजा गर्दै सबै देवीदेवतालाई पुकारे ।


एकीकृत बस्तीको अभियानमा जुटेकी निमाज्याङ्बु लामा हृयोल्मोका अनुसार ७ परिवारले सामग्री लिएर पूजापछि नयाँ घरमा बस्न थालिसकेका छन् । ‘अरू परिवार एकीकृत बस्ती औपचारिक हस्तान्तरणको पर्खाइमा छन् । सबैको सपना बल्ल पूरा भएको छ,’ उनले भनिन् ।


जनहितका अध्यक्ष राजेन्द्र शर्माले एकीकृत बस्तीमा सबै हृयोल्मो डिजाइन भएकाले होमस्टेसँग जोड्न सहज हुने बताए । ‘हेलम्बु गाउँपालिकाले सघाएपछि बल्ल एकीकृत बस्तीको डिजाइनले साकार रूप लिएको छ,’ उनले भने, ‘गाउँको पहिचान छुट्टै रूपमा उभ्याएको छ ।’


विभिन्न पर्यटकीय पदमार्ग तेम्बाथाङ र घ्यागुल भएर जाने कारणले एकीकृत बस्तीसहितका हृयोल्मो गाउँमा होमस्टे सञ्चालन गर्ने योजना बनाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । निर्माणाधीन ६० किलोमिटर लम्बाइको हेलम्बु ग्रेट ट्रेललाई विभिन्न धार्मिकस्थलसँगै यस्ता बस्तीसँग जोड्ने लक्ष्य राखिएको उनले प्रस्ट्याए । ‘त्यहाँको सबै भौतिक पूर्वाधारलाई पूरा गरेर यहाँजस्तै हेलम्बुभरका आकर्षक गाउँमा ‘हिमाली सहर’ को अवधारणा ल्याएका छौँ,’ उनले भने ।


बस्तीवरिपरि हृयोल्मो जातिको परम्परागत संस्कृति चिनाउने बाघबगैँचा र ढुंगेबाटोजस्ता विभिन्न भौतिक संरचनाले सिगार्ने योजना छ । पर्यटकीय आकर्षणका लागि पुराना मन्दिर, गुम्बा र गुफाको कलाकौशल झल्कने धार्मिक संरचना बनाउने योजनामा छ । सामुदायिक भवनको वरिपरि बौद्ध धर्मका संज्ञा बोधी, महागुरु रिन्पोछे महायोगी मिलारेपा, आर्य अवलोकेश्वरलगायतका दर्जनौं धार्मिक महत्त्व बोकेका देवमूर्ति स्थापना गरिने स्थानीय बताउँछन् । ‘स्थानीय स्तरमा लागेर भए पनि यो नमुना काम गर्छौँ,’ लामाले भने ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?