चौंरीलाई तयारी दाना

चरन क्षेत्रमा घाँस घटेर हैरान चौंरीपालकलाई सडक सञ्जाल विस्तारसागै दाना गाडीले गाउामै ल्याइदिएको छ
टीकाप्रसाद भट्ट

रामेछाप — चरन क्षेत्रमा घाँस घट्दै गएपछि शैलुङमा रहेका चौंरी दानामा भर पर्न थालेका छन् । शैलुङ आसपास १७ वटा चौंरीगोठ छन् । एकातिर चरन क्षेत्रमा घाँस पर्याप्त छैन, अर्कातिर चौंरीपालककले परम्परागत तरिकाले दाना बनाउन छाडेका छन् ।

रामेछापको शैलुङमा चरन क्षेत्र घटेपछि चौंरीलाई तयारी दानाको भर छ । तस्बिर : कान्तिपुर

सडक सञ्जाल बिस्तारसँगै बजारबाट गाडीले सजिलै ल्याइदिने भएपछि पछिल्लो समय चौंरीपालकले तयारी दाना उपयोग बढाएका छन् ।

‘घाँस पलाउन धेरै कम भयो, जंगल विनाश उत्तिकै छ । अब चौंरी जंगल लगेको भरमा बाँच्दैनन्,’ चौंरीपालक शम्भु तामाङले भने, ‘त्यसैले दाना खुवाउन थालेका हौं । अघिपछि जंगली घाँसको भरमा परे पनि चौंरी ब्याउँदादेखि दूध दिँदासम्म दाना खुवाउनुपर्ने भएको छ ।’ केही वर्षअघिसम्म चौंरीलाई तयारी दाना खुवाउनु पर्दैनथ्यो । घाँसले नै प्रशस्तै पुग्थ्यो ।

चौंरी फागुनतिर ब्याउँछन् । त्यसपछि कात्तिकसम्म दाना दिनुपर्छ । गाउँघरमा दाना पाइँदैन । बजारमा किनेको दाना शैलुङको गोठमा भित्रिन्छ । एउटा गोठले वार्षिक सरदर २ लाखको दाना किन्नुपरेको तामाङले बताए । सडक पुगेकाले दाना ढुवानीमा सहज भएको छ ।

अन्यत्रजस्तै शैलुङ क्षेत्रमा पनि जलवायु परिवर्तनले वनजंगलमा असर परेको छ । पहिले पहिलेका तुलनामा वर्षा कम हुँदा जंगलमा घाँस पलाउन ढिला हुने गरेको छ । केही वर्षअघिसम्म शैलुङ क्षेत्रमा भेडीगोठहरू पनि थिए । भेडाको बथान चराउन जंगलमा लाँदा तिनका मलमूत्र भुइँघाँसका लागि मलको काम गर्थ्यो । ‘पानी पर्दा त्यही भेडामा बड्कुला मल हुन्थ्यो र पो राम्रो घाँस सप्रन्थ्यो,’ तामाङले भने, ‘मल नभएको पाखोमा अलिअलि पलाएको घाँसले चौंरीलाई छोपै लाग्दैन ।’

शैलुङ क्षेत्रमा चारवटा सामुदायिक वन छन् । सामुदायिक वनमा चौंरी चरन गर्दा प्रतिचौंरी वार्षिक सय रुपैयाँ दस्तुर लाग्छ । दोलखातर्फको सामुदायिक वनमा केही राम्रो चरन क्षेत्र छ । तर, पानी र गोठका लागि राम्रो जमिन छैन । गोठ र पानीका लागि रामेछापतर्फको खोलाखर्कतिरै राम्रो भएकाले धेरैजसो चौंरी त्यतै भेटिन्छन् । पहिलेको जस्तो खोलाखर्कमा पनि पानी छैन । जंगल दुवैतर्फको मासिँदै छ ।

‘पहिले ठूलो असिनापानी पर्दा चौंरी ओत लाग्ने ठुल्ठूला रूखहरू थिए, अहिले ओत नै छैन,’ स्थानीय दावाशंवु शेर्पा भन्छन्, ‘पानी र असिना पर्‍यो भने जंगलको बीचमा चुटिनुको विकल्प छैन ।’ लगानीअनुसारको प्रतिफल कम हुन थालेपछि केहीले चौंरीपालन छाडेको उनले बताए । ५ वर्षअघिसम्म शैलुङमा २५चौंरीगोठ थिए । एउटा गोठमा २० देखि ४० वटासम्म चौंरी हुन्छन् । एउटा चौंरीको ५० देखि ६० हजार रुपैयाँ पर्छ । पाल्नका लागि सोलु जिल्ला पुगेर चौंरी किनेर ल्याउनुपर्छ । नजिकै चौंरी किन्न पाइँदैन ।

शैलुङमा धेरै उच्च भूभाग छैन । जाडो र गर्मी प्रायः सधैं एकै स्थानमा चौंरी भेटिन्छन् । समुद्री सतहबाट ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ डाँडाभन्दा माथि चौंरी जाँदैन । डाँडामा हिउँ थुपि्रँदा एक/दुई सय मिटर तल झर्ने चौरीहरू गर्मी बढ्न थालेपछि फेरि माथि पुग्छन् । रामेछापको गुम्देल र चुचुरेमा पालिएको चौंरी भने ४ हजार मिटरसम्मको उचाइमा पुग्छन् ।

चौंरीपालनका लागि घाँसको संकट भइरहेको बेला बजार भने सहज बनेकाले किसानको रुचि घटिसकेको छैन । पहिले हातले छुर्पी बनाउने किसान अहिले आधुनिक मेसिनले बनाउँछन् । केही वर्षअघिसम्म सडक नहुँदा शैलुङमा बनाएको छुर्पी बेच्न सजिलो थिएन । सडक सुविधा पुगेपछि बजारसम्म लैजानका लागि अब सहज छ ।

तर, किसानहरू घाँस जोहो गर्ने र आफैं दाना बनाउने गर्न छाडेका छन् । त्यसैले चौंरी अब सहरिया दानाको भरमा पाल्ने क्रम बढेको छ । चौंरीपालक किसानलाई चालू वर्ष प्रदेश सरकारले साढे १० लाख रुपैयाँ दिएको छ । शैलुङको चरन क्षेत्र व्यवस्थापन र पानीपोखरी निर्माणका लागि उक्त रकम खर्च हुने तामाङले बताए । दुई महिनाअघि शैलुङमा चौंरी चिनाउने महोत्सव पनि गरिएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

कीर्तिपुरमा केबलकारको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् । तीमध्ये कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय भएको छैन ।

नगरपालिका उपप्रमुख सरस्वती खड्काले कार्यपालिकाको आगामी बैठकमा मापदण्ड बनाएर कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय लिइने बताइन् ।

‘अहिले ६ वटा संस्थाले अध्ययन गर्न रुचि लिएका छन् । यिनमा एउटालाई अध्ययन गर्न दिइन्छ र अर्कोलाई वैकल्पिकमा छानिन्छ,’ उनले भनिन् । नगरपालिकाले जेठ सुरुवातसँगै १५ दिनको समय दिई नगरमा केबलकार सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययनका लागि प्राविधिक प्रस्ताव आहृवान गरेको थियो । नगरपालिकाको ४ नम्बर वडास्थित पुष्पलाल पार्कदेखि चम्पादेवी डाँडासम्म केबलकार सञ्चालनका लागि अध्ययन आहृवान गरिएको हो ।

कार्यपालिका बैठकमा विभिन्न मापदण्ड निर्धारण गरी सम्भाव्यता अध्ययनका लागि स्वीकृति दिइने उपप्रमुख खड्काले बताइन् । पुष्पलाल पार्कदेखि चम्पादेवी डाँडा वा भस्मासुर डाँडासम्म केबलकार अध्ययनका लागि स्वीकृति दिने तयारी छ ।

‘त्यहाँबाट उपत्यकाको राम्रो दृश्य देखिन्छ,’ खड्काले भनिन्, ‘दक्षिणकाली नगरपालिकाका साथै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका पनि जोडिए राम्रो ।’ उक्त वडामा बन्दै गरेको जातीय संग्रहालयका लागि छुट्याइएको जग्गा नपर्नेगरी र सामुदायिक वनलाई पनि बढी असर नपर्ने गरी निर्माण गरिने उनको भनाइ छ ।

‘नगरपालिकाले त्यो निर्माण गर्न सक्दैन । त्यसैले त्यसको स्वामित्व ४ नम्बर वडा वा नगरवासीको हुने गरी सेयर राख्ने सोच छ,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT