कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

योजना आयोग चलायमान

सुवास बिडारी

मकवानपुर — प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोग स्थापना भएको एक वर्षमा संस्थागत स्वरूप हासिल गर्न सफल भएको छ  । गत वर्ष जेठ २९ गते स्थापना भएको आयोगले दीर्घकालीन योजना, अनुगमन तथा मूल्यांकन, तहगत समन्वय तथा अध्ययन तथा अन्वेषणका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गर्दै एक वर्षभित्र संस्थागत स्वरूप हासिल गरेको हो  ।

प्रदेश ३ अन्तर्गतका मन्त्रालय, विभाग तथा अन्य एकाई कार्यालयहरू स्थापना तथा सञ्चालनमा पूर्णता नपाइरहेको समयमा प्रदेश सरकार सञ्चालनलाई सहयोगी भूमिका निर्वाह गर्ने आयोगले आफूलाई वित्तीय अनुशासन र सुशासन कायम गर्दै संस्थागत रूपमा अगाडि बढिरहेको आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले बताए ।

‘एकजना कर्मचारी र एकजना उपाध्यक्ष तथा एकजना सदस्यसहित तीनजनाले काम सुरु गरेको आयोग अहिले प्रदेश सरकारलाई नीति निर्माण, योजना छनोट र कार्यान्वयन, अनुगमन र मूल्यांकन तथा स्थानीय तहसँगको समन्वयका लागि आवश्यक सहयोग गर्ने तहमा पुगेको छ,’ उनले भने, ‘अब एकजना कर्मचारी वा आयोगको पदाधिकारी नहुँदा केही फरक पर्दैन ।
अब आयोगले संस्थागत रूप धारण गरिसकेको छ ।’

आयोगले वर्ष दिनमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र, मागमा आधारित योजना छनोट कार्यविधि, प्रदेश सरकारका नीतिहरूको संक्षिप्त विवरण, उपभोक्ता समिति गठन सञ्चालन र व्यवस्थापन निर्देशिका, परियोजना बैंक तथा योजना छनोट, प्राथमिकता र मापदण्ड तयार गरेको उनले बताए ।

आयोगले अनुगमन तथा मूल्यांकन निर्देशिका तयार गरेको र नियमित अनुगमनको व्यवस्था गरेको बताउँदै देवकोटाले जिल्ला समन्वय समितिसँग सहकार्य गरेर १३ वटा जिल्लामा ६६ निर्वाचन क्षेत्रमा प्रदेशस्तरीय योजना छनोट प्रभावकारी रूपमा सञ्चालन गरेको बताए । ‘योजना छनोटलाई तल्लो तहबाटै गर्नुपर्छ भन्ने मान्यताअनुसार हामीले प्रदेश सरकारले आगामी वर्षका लागि ल्याउन लागेको बजेटमा तल्लो तहको योजना समेटन गाउँगाउँमा पुगेर काम गरेका छौं,’ उनले भने ।


प्रकाशित : जेष्ठ २९, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?