२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रत्ननगरबाट हट्दै खरका छाना

चितवन — रत्ननगर नगरपालिकाले खरको छानोको घर भएका विपन्न परिवारलाई जस्तापाता सहयोग गर्ने भएको छ  । आगामी वर्षभित्र नगरका सबै घरहरू खरको छानोमुक्त हुने नगरप्रमुख नारायण वनले बताए  ।

रत्ननगरबाट हट्दै खरका छाना

चितवन – रत्ननगर नगरपालिकाले खरको छानोको घर भएका विपन्न परिवारलाई जस्तापाता सहयोग गर्ने भएको छ । आगामी वर्षभित्र नगरका सबै घरहरू खरको छानोमुक्त हुने नगरप्रमुख नारायण वनले बताए । उनका अनुसार नगरपालिकाभित्र खरको छानो भएका घरहरू २ सय ७५ वटा छन् । चालू वर्ष १ सय ४७ घरधुरीलाई जस्तापाता दिने कार्यक्रम छ । यसपटक नपाउनेले आगामी वर्षको बजेटबाट जस्तापाता पाउने छन् ।
रत्ननगर–१४ लौरीघोल टोलकी एकल महिला सरिता सुनार छानो मक्किए पनि खर नपाएर हैरान थिइन् । उनले मंगलबार नगरपालिकाबाट दुई बण्डल जस्तापाता पाइन् । नगरप्रमुख वन जस्तापाता हस्तान्तरण गर्न उनको छाप्रामै पुगे । ‘अचेल पानी परेपछि सुत्न, पकाउन नमिल्ने भएको थियो । छानो फेर्न गाह्रो थियो । दिन दिनै ज्याला मजदुरी गर्न सकिँदैन,’ सुनारले भनिन्, ‘कहिलेकाहीँ दिनको ६ सय रुपैयाँ ज्यालामा काम गरेर खान मात्र बल्लबल्ल पुग्छ । मैले जस्तापाता किन्न सक्ने अवस्थै थिएन ।’ गत मंसिरमा रत्ननगर–१६ खैरेटीका बुद्धबहादुर कुमालको घरमा पनि नगरप्रमुख वन पुगेका थिए । उक्त वडा बालश्रममुक्त घोषणा हुँदै थियो । तर, बुद्धबहादुरकी एउटी छोरी श्रम गर्न पोखरा गएकी थिइन् । छोरीलाई घरमा ल्याएर राख्ने र बुद्धबहादुरको परिवारलाई आयआर्जन गर्न बाख्राको माउपाठा दिने कार्यक्रम आयोजना भएको थियो । त्यही कार्यक्रममा गएका वनले बुद्धबहादुरको जीर्ण भएको खरको छानो देखेका थिए ।
‘त्यही घरको छानो देखेपछि मेरो मनमा खरको छानोमुक्त घर बनाउने योजना बनेको थियो,’ नगरप्रमुख वनले भने, ‘पछि नगरपालिकामा निर्णय भएर हामीले यो काम अगाडि बढाएका हौं ।’ घरको छानो रहरले राख्नेहरू पनि छन् । पर्यटकीय क्षेत्रमा खरकै छानोका कटेजहरू छन् । तर, आर्थिक अभावले खरको छानो राख्न बाध्य नगरवासीलाई सहयोग गर्न नगरपालिकाले योजना बनाएको वनले बताए । ‘नगरपालिकाले धेरै क्षेत्रमा कामहरू गरेको छ । एकदमै विपन्नका लागि पनि केही गर्नुपर्छ,’ उनले भने, ‘जस्तापाता सहयोग गर्ने कार्यक्रम त्यही भएर ल्याएका हौं ।’ नगरपालिकाले दिएको दुई बण्डल जस्तापाताको मूल्य १६ हजार ४ सय पर्छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?