१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिजुली गए फोन ठप्प 

धादिङ — धादिङ जिल्लाको विद्युत् सेवा र नेपाल टेलिकमको नेटवर्कको लुकामारीले सेवाग्राही सास्ती खेप्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध हुनेबित्तिकै सदरमुकामलगायत जिल्लाभरकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरेको छ । 

दिनमै दजनौं पटक बिजुली आउने जाने गर्दा व्यवसायमा असर परेको मोबाइल पसले प्रेम रेग्मीले बताए । ‘आफ्नो व्यवसाय नै विद्युत्सँग जोडिएको छ,’ उनले भने, ‘दिनहुँ पटकपटक बिजुली काटिँदा गरिखानै गाह्रो परेको छ ।’


विद्युत् वितरण सेवामा बारम्बार अवरोध आइरहँदा फर्निचर र ग्रिल लगायतका व्यवसायी बढी समस्यामा छन् । नीलकण्ठ–३ पुछारबजारका ग्रिल व्यवसायी रामबहादुर श्रेष्ठले भने, ‘घण्टा घण्टामा बिजुली काटिन्छ । अर्डर लिएको सामानसमेत समयमा बुझाउन पाइएको छैन ।’


हावाहुरी चल्ने मौसम भएकाले लगातार विद्युत् अवरुद्ध भइरहेको विद्युत् प्राधिकरणको धादिङ वितरण शाखाका प्रमुख ध्रुव कार्कीले बताए । ‘देवीघाटबाट धादिङबेंसी ल्याएको प्रसारण लाइन नै लामो छ । सामान्य समस्या आइरहेको हुन्छ,’ उनले भने, ‘हावाहुरीले क्षति पुग्ने भएपछि विद्युत् अवरुद्ध भएको हो ।’ मर्मतको समयमा सूचना दिएरै विद्युत् सेवा बन्द गर्ने गरिएको भए पनि पटकपटक अवरुद्ध हुने समस्या भने प्रसारण लाइनमै आउने ‘फल्ट’ ले हुने दाबी उनले गरे ।


विद्युत् आपूर्ति अवरुद्ध हुनेबित्तिकै गाउँगाउँका टावरले काम नगर्दा सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?