कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुठी विधेयकको विरोध

प्रदेशसभा बैठक
सुवास बिडारी

मकवानपुर — प्रदेश ३ को प्रदेशसभा बैठकमा गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ को विरोध भएको छ । संघीय सरकारले राष्ट्रियसभामा पेस गरेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएको भन्दै प्रदेशसभा सदस्यले विरोध जनाएका हुन् । 

गुठी विधेयकको विरोध

१५ दिनपश्चात् शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसद्ले विधेयक संघीय सरकारले हतारमा ल्याएको भन्दै तत्काल फिर्ता लिएर सरोकारवाला गुठियारसँग छलफल गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।


प्रदेशसभाको बैठकमा विशेष समय लिएर सत्तापक्ष नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्ष दल राप्रपा, विवकेशील साझाका सांसद्ले गुठी विधेयकले नेवार समुदायको धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्ने भन्दै आपत्ति जनाएका थिए । प्रदेशसभा सदस्य नरोत्तम वैद्यले गुठी विधेयक संविधान र संघीयताविरोधी भएको आरोप लगाए ।


उनले गुठी व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारसँग मात्र रहेको दाबी गर्दै कार्यक्षेत्र संघीय सरकारले मिचेको आरोप लगाए । उनले गुठी विधेयकका धारा २२ देखि २५ सम्म धेरै गलत प्रावधान रहेकाले तत्काल फिर्ता लिएर सरोकारवाल पक्षसँग छलफल गर्न संघीय सरकारलाई अनुरोध गरे । ‘प्रदेश सरकारको अधिकार क्षेत्र संघीय सरकारले मिच्दासमेत प्रदेश सरकार किन मौन बसेको ?’ प्रश्न गर्दै प्रदेशसभा सदस्य वैद्यले उपत्यकामा आन्दोलन बढेको खण्डमा हिंसा भड्कने बताए ।


सत्तापक्ष सांसद् सांसद राजकाजी महर्जनले गुठी विधेयकले परम्परा र संस्कृतिमाथिको प्रहार भएको आरोप लगाए । ‘संस्कृतिमाथि हस्तक्षेप गर्ने गरी गुठी विधेयक आएकोमा हामी सशंकित छौं,’ उनले भने, ‘गुठीहरूले जोगाएको परम्परा कुनै व्यक्ति वा कम्पनीलाई जिम्मा दिँदा जोगिन सक्दैन । कम्पनीमा लैजाने र ठेक्कामा दिने विषय आपत्तिजनक छ । यसर परम्परामाथि प्रहार गरेको छ ।’ उनले विधेयकमा भएको त्रुटि सच्याउन माग गरे ।


प्रदेशसभा सदस्य शोभा शाक्यले गुठी विधेयकलाई संस्कृतिविरोधीको संज्ञा दिइन् । ‘संघीय राजधानीमा दैनिकजसो गुठी विधेयकलाई लिएर आन्दोलन हुन थालेका छन् । तत्काल विधेयकमाथि सबैको असहमति भएका कारण फिर्ता लिएर अगाडि बढ्न जरुरी रहेको छ ।’ उनले उपत्यकाका नेवार समुदाय आन्दोलनमा होमिएको खण्डमा हिंसा भड्कन सक्ने बताइन् ।


राप्रपाकी सांसद रिता माझीले गुठी विधेयक सनातन धर्ममाथि प्रहार गर्ने गरी संघीय सरकारले ल्याएको आरोप लगाइन् । प्रदेशसभा बैठकमा राजेश शाक्य, वसन्त मानन्धर, पुकार महर्जन, सरेश नेपाल, सन्तबहादुर प्रजा, रमेश पौडेल, रामेश्वर फुँयालले र ओमबहादुर ग्लानले विधेयकमा रहेको अस्पष्ट बुँदालाई परिमार्जन र परिष्कृत गर्दै अगाडि बढ्न जरुरी रहेको औंल्याए ।


बैठकमा प्रदेश मामिला समिति सभापति माधव पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति रमा आलेले २०७५ को प्रतिवेदन पेस गरेका थिए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?